वायु सेवा निगमको बेथिति अन्त्यका लागि प्रधानमन्त्रीको निर्देशन
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगमका करारका कर्मचारीलाई हटाउन निर्देशन दिइन्।
- उनले निगमभित्रको नातावाद, कृपावाद र विभेद अन्त्य गर्न र बेथिति हटाउन निर्देशन दिइन्।
- निगम १७ अर्ब रुपैयाँभन्दा बढीको नोक्सानीमा रहेको विवरण प्रस्तुत गरिएको थियो।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा पहुँचका आधारमा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिएकी छन् ।
पर्यटनमन्त्रीका हैसियतमा प्रधानमन्त्री कार्कीले आज निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएर यस्तो निर्देशन दिएकी हुन् ।
उनले भनिन्, ‘जेनजीहरूले यत्रो रगत बगाएको केका लागि हो? यस्तै नातावाद, कृपावाद, विभेद अन्त्यका लागि होइन? यता यत्रो आन्दोलन भइरहेको छ, उता भटाभट आफ्ना मान्छे भर्ती गरेको छ। अवकाश पाएर घर जान लाग्दा पनि मनपरी गर्न छाडिएको छैन। कतिसम्मको बेथिति हो यो?’
कुनै समय गौरव गर्नलायक बनेको संस्था अहिले दर्दनाक अवस्थामा पुगेको भन्दै निगमभित्रका बेथिति हटाउन कसैको मुख नहेरी कठोर रूपमा लाग्न पनि उनले निर्देश गरिन् ।
यस्तै अहिलेसम्म निगम सुधारका लागि बनेका प्रतिवेदनहरूसुझाव कार्यान्वयन गर्न योजनासाथ अघि बढ्नुपर्ने उनको निर्देशन छ।
कार्यक्रममा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले १७ अर्ब रुपैयाँभन्दा बढीको सञ्चित नोक्सानीमा रहेको विवरण प्रस्तुत गरेका थिए।
प्रधानमन्त्री कार्कीले निगमको अहिलेको अवस्था धनाढ्यको बिग्रेको घरसँग तुलना गर्दै भनिन्, ‘हेर्दाखेरि सबैथोक छ तर भित्र दर्दनाक अवस्था छ। नाफा वा घाटा केही नभएर चलेको मात्र भए पनि रोजगारी दिएको छ भनेर चित्त बुझाउन हुन्थ्यो। त्यो पनि छैन।’
प्रधानमन्त्री कार्कीले कतैबाट आउने अनुचित र गैरकानुनी दबाब नसुन्न पनि सुझाव दिइन् ।
कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनाल, मुख्यसचिव एकनारायण अर्याल लगायत अधिकारीको उपस्थिति थियो।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण