सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

मनास्लु क्षेत्रबाट अलपत्र पर्यटकको उद्धार

आइतबार, १६ कात्तिक २०८२, २२ : १७
आइतबार, १६ कात्तिक २०८२

सारांश

  • गोरखाको मनास्लु क्षेत्रमा खराब मौसमका कारण अलपत्र परेका ११० पर्यटकको उद्धार गरियो।
  • मौसम सफा भएपछि, केही पर्यटक लार्केपास गरी मनाङ झरे, भने केही आरुघाटतर्फ फर्के।
  • तातोपानीमा पहिरोका कारण अलपत्र परेका ३५ पर्यटकको नेपाली सेना र सशस्त्र प्रहरीले उद्धार गरे।

गोरखा । गोरखाको मनास्लु क्षेत्रबाट अलपत्र पर्यटकको उद्धार गरिएको छ । उक्त क्षेत्रबाट आज ११० पर्यटकको उद्धार गरिएको छ । घाइते, बिरामी तथा खराब मौसमका कारण गन्तव्यतर्फ जान नसकेका पर्यटकको उद्धार गरिएको हो । 

‘मौसम खुल्नासाथ उद्धार कार्य सुरु गरेका थियौँ’, निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले भने, ‘पाँच  हेलिकोप्टरमार्फत पर्यटकको उद्धार गरियो । जसमध्ये ८५ प्रतिशत विदेशी पर्यटक थिए ।’ 

मौसम सफा भएसँगै केही पर्यटक लार्केपास गरी मनाङ झरेका छन् । केही भने आरुघाटतर्फ फर्कंदै गरेका सहायक प्रजिअ बरालले जानकारी दिए । एकदुई दिनभित्रमा उद्धारकार्य सम्पन्न हुने उनको भनाइ छ ।

आज मौसम खुलेपछि गाउँपालिका, मनास्लु संरक्षण क्षेत्र आयोजना, होटल व्यवसायी उपसमिति, स्थानीय युवा मिलेर बाटो खोल्ने काम गरिरहेका चुमनुब्री गाउँपालिका–१ साम्दोका पर्यटन व्यवसायी निमा दोर्जे लामाले बताए । उनीहरु गत मङ्गलबारदेखि परेको हिमपातले ढाकिएका र पहिरोले पुरिएका बाटो सफा गर्न गएका उनले जानकारी दिए ।

‘आज कतिपय पैदलमार्फत आरुघाटतर्फ झरे । बिरामी, अशक्तलाई हेलिकोप्टरबाट उद्धार गरियो । तीन सय ८० जना भने साम्दोबाट लार्केपास गर्न धर्मशालातर्फ गएका छन् । उनीहरु लार्केपास गरेर मनाङ झर्छन्’, पर्यटन व्यवसायी लामाले भने । साम्दोमा पर्यटक आउने क्रम नरोकिएको उनको भनाइ छ । 

यो याममा (भदौ १६ देखि कात्तिक १५ सम्ममा) छ हजार ४१४ पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेका मनास्लु संरक्षण क्षेत्र आयोजनाको तथ्याङ्कमा उल्लेख छ । हाल उक्त क्षेत्रमा सयौँ पर्यटक रहेका छन् । 

तातोपानीबाट ३५ पर्यटकको उद्धार

गोरखाको तातोपानी क्षेत्रमा अलपत्र परेका ३५ स्वदेशी तथा विदेशी पर्यटकको उद्धार गरिएको छ । धार्चे गाउँपालिका–३ तातोपानीबाट नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले २० विदेशी र १५ नेपाली पर्यटकको सकुशल उद्धार गरेको सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

उनीहरु सामागाउँबाट माछीखोलातर्फ आउने क्रममा पहिरोका कारण तातोपानीमा अलपत्र परेका हुन् । पर्यटक अलपत्र परेको जानकारी प्राप्त हुनासाथ नेपाली सेना र सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस आरुघाटबाट खटिएको टोलीले उनीहरूको उद्धार गरी माछीखोलातर्फ पठाइएको थियो । उद्धार गरिएका पर्यटकको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप