शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रधानमन्त्रीसँग मुख्यमन्त्री

निर्वाचन वातावरण बनाउन तीनै तहको सहकार्य आवश्यक: प्रधानमन्त्री कार्की

आइतबार, १६ कात्तिक २०८२, २३ : १६
आइतबार, १६ कात्तिक २०८२

सारांश

  • प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताइन्।
  • उनले निर्वाचनको वातावरण बनाउन र सुरक्षा निकायका लागि आवश्यक सामग्री जुटाउन जोड दिइन्।
  • प्रधानमन्त्रीले जेनजी आन्दोलनबारे धारणा राख्दै उनीहरूलाई समयको संवेदनशीलता बुझ्न आग्रह गरिन्।

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले देशमा स्थायित्वका लागि निर्वाचन अनिवार्य भएको बताउँदै तीनै तहका सरकारबिच सहकार्य आवश्यक रहेको बताएकी छन्। आइतबार सातै प्रदेशका मुख्यमन्त्रीहरूसँगको बैठकमा उनले आगामी निर्वाचन सुनिश्चित गर्न सबै तहले आफ्नो जिम्मेवारी पुरा गर्नुपर्नेमा जोड दिइन्।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘निर्वाचनको वातावरण बनाउने हाम्रो मुख्य प्राथमिकता हो। प्रदेश र स्थानीय सरकार पनि हातेमालो गर्नुपर्छ। हामी तीनै तहका सरकारसँग समन्वय गरेर नै अघि बढ्छौँ।’

उनले सुरक्षा निकायका लागि बन्दोबस्तीका सामानहरू जुटाउने कार्य भइरहेको र प्रहरीका लागि आवश्यक गाडी खरिद प्रक्रिया अघि बढिसकेको जानकारी दिइन्। साथै छिमेकी मुलुक र अन्य मित्रराष्ट्रहरूले सवारी साधन र आर्थिक सहयोग उपलब्ध गराउने वाचा गरिसकेको पनि उनले बताइन्।

कार्कीले आन्दोलनमा क्षतिग्रस्त भएका प्रहरी संरचना स्थानीय जनताले पुनर्निर्माण गरेको भन्दै जनताको सहयोग प्रशंसनीय रहेको उल्लेख गरिन्। उनले भनिन्, ‘९० प्रतिशत संरचना स्थानीय जनताले नै बनाइदिएका छन्, जसले प्रहरी र जनताबिचको सम्बन्ध अझ बलियो बनाएको छ।’

प्रधानमन्त्रीले निर्वाचन आयोगले आवश्यक १२० प्रकारका सामग्रीमध्ये ९० प्रतिशतभन्दा बढी तयारी रहेको जानकारी दिँदै तोकिएको मितिमै निर्वाचन सम्भव हुने विश्वास व्यक्त गरिन्।

बैठकमा उनले जेनजी आन्दोलनबारे पनि धारणा राख्दै भनिन्, ‘जेनजीहरू हाम्रै छोराछोरी हुन्, सिक्दै छन्। कतिपयले निकै परिपक्व कुरा गर्छन्। तर, उनीहरूले पनि यो समयको संवेदनशीलता र अन्तरिम सरकारका सीमा बुझ्नुपर्छ।’

प्रधानमन्त्री कार्कीले संविधानको परिधिभित्र रहेर सहकार्यका साथ अघि बढ्ने प्रतिबद्धता जनाउँदै भनिन्, ‘मुलुक हाम्रो हो। हामीले सुधार्ने हो, बनाउने हो। हामीले नसुधारे कसैले सुधारिदिँदैन।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप