शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीतिक दल

पार्टीभित्र चौतर्फी दबाब हुँदा पनि निकास निकाल्दैन कांग्रेस नेतृत्व

सोमबार, १७ कात्तिक २०८२, १९ : ००
सोमबार, १७ कात्तिक २०८२

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको दुई दिनको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरियो । एक दिनको बैठक महामन्त्री गगन थापाले बहिष्कार गरे । गत बिहीबारको केन्द्रीय कार्यसमिति बैठक पार्टीको १५ औँ महाधिवेशनका लागि आफूले तयार पारेको कार्यतालिका पेस गर्न नपाउने अवस्था भएपछि महामन्त्री थापाले बैठक बहिष्कार गरे । थापाले असोज २९ गते सचिवालयमार्फत आगामी मंसिर २७ देखि २९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेका थिए । 

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले ‘अन्य साथीहरूसँग सल्लाह गर्नुपर्ने’ भन्दै थापालाई महाधिवेशनको कार्यतालिका पेस गर्न नदिएको जानकार नेताहरू बताउँछन् । बिहीबार महामन्त्री थापाबिनै बैठक बसेपछि कार्यवाहक सभापति खड्काले शुक्रबार बिहान महामन्त्री थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग छलफल गरेका थिए । त्यसपछि पदाधिकारी बैठक बसे पनि महाधिवेशनको कार्यतलिकाको विषयमा कुरा मिलेन । 

थापाले कार्यतालिका पेस गर्न नपाए बैठक बहिष्कार गर्ने चेतावनी दिएपछि शुक्रबारको बैठक आइतबार दिउँसो १ बजे बस्नेगरी स्थगित गरियो । शनिबार र आइतबार बसेका कार्यसम्पादन समिति बैठकमा पनि कुरा मिलेन । त्यसपछि मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । तर सोमबार यो समाचार तयार पार्ने बेलासम्म विवाद समाधानको कुनै सूत्र फेला परेको छैन । 

ललितपुरको धोबीघाटस्थित सिद्धार्थ ब्याङ्क्वेटमा बसिरहेको कार्यसम्पादन समितिमा रहेका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले महाधिवेशनको सन्दर्भमा रहेको विवाद मिलाउने प्रयास जारी रहेको जानकारी दिए । ‘विवाद मिलाउने प्रयास अनौपचारिक कार्यसम्पादन समितिको बैठकमा जारी बैठकमा भइरहेको छ । टुंगो लागिसकेको छैन,’ विश्वकर्माले रातोपाटीसँग भने । 

कांग्रेसमा दुई हजार ४८८ महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गरेर असोज २९ गते कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाएका छन् । त्यो हस्ताक्षर प्राप्त भएकोबारे खड्काले केन्द्रीय कार्यसमिति बैठकमा जानकारी गराइसकेका छन् । हस्ताक्षरकर्ताहरूले आफूहरूको पत्रलाई केन्द्रीय कार्यसमितिको एजेण्डा बनाउनुपर्ने माग राख्दै दबाब दिइरहेका छन् । 

कार्यवाहक सभापति खड्का, इतर समूहका नेता डा. शेखर कोइराला, महामन्त्रीद्वय थापा र शर्मासहितका नेतालाई भेटेका उनीहरूले मंगलबार काठमाडौँमा हस्ताक्षरकर्ताहरूको भेला बोलाएका छन् । अर्कोतर्फ मंसिरमा नियमित महाधिवेशन हुनुपर्ने माग राख्दै युवाहरूले आइतबार केन्द्रीय कार्यालयको मूल गेटमा तालाबन्दी गरेका छन् । 

उनीहरूले १५ औँ महाधिवेशनको कार्यतालिका तत्काल सार्वजनिक गर्न, ४० वर्षमुनिका युवाहरूको पार्टीका हरेक निकायमा ४० प्रतिशत हिस्सा सुनिश्चित गर्न, क्रियाशील सदस्यता वितरण एवं नवीकरणको प्रगति विवरण सार्वजनिक गरी वेबसाइटमा राख्न माग राखेका छन् । 

संस्थापन पक्षका कार्यसम्पादन समितिमा नभएका केन्द्रीय सदस्यहरूले नै छुट्टै भेला गरेर ‘पार्टी दुई-चार नेताको बन्धक भएको’ भन्दै केन्द्रीय समितिबाट तत्काल निकास निकाल्न दबाब दिने बताइरहेका छन् । भेलामा पूर्वमन्त्री समेत भएका शंकर भण्डारी,  वीरबहादुर बलायर, सीता गुरुङ, मीन विश्वकर्मासहितका केन्द्रीय सदस्यहरू देवेन्द्रराज कँडेल, किरण पौडेल, नागिना यादव, महिन्द्रा लिम्बू, गुरु बराल, नैनसिंह महर सहितका नेताहरू भए । विश्वकर्मा त पार्टीको प्रचार विभाग प्रमुख समेत हुन् । 

कांग्रेसमा मुख्यगरी महाधिवेशन नियमित गर्ने कि विशेष गर्ने भन्नेमा विवाद छ । नियमित महाधिवेशन गरे पनि कहिले गर्ने भन्नेमा अर्को विवाद छ । संस्थापन पक्षीय नेताहरूले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनपछि नियमित महाधिवेशन गर्नुपर्ने बताइरहेका छन् । 

संस्थापन पक्षीय सहमहामन्त्री महेन्द्र यादवले रातोपाटीसँगको अन्तर्वार्तामा भनेका छन्, ‘नेपाली कांग्रेसमा अहिलेसम्म जति महाधिवेशनहरू भएका छन्, नियमित चारवर्षे कार्यकालमा एक वर्ष थपेर भएका छन् । विषम परिस्थितिमा केन्द्रीय कार्यसमितिको बहुमतले एक वर्ष कार्यकाल थप्न पाउने विधानमै व्यवस्था छ । नेपालमा अहिले विषम परिस्थिति चलिरहेको कारण एक वर्ष त थप्न सकिन्छ, तर हामीले एक वर्ष होइन, ६ महिना केन्द्रीय कार्यसमितिको म्याद चालु केन्द्रीय समिति बैठकबाट थप्ने निर्णय गर्ने र फागुनमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि वैशाखमा पार्टीको १५ औँ महाधिवेशन गराएर जानुपर्छ भन्ने धेरै केन्द्रीय सदस्य साथीहरूको धारणा छ ।’

डा. शेखर कोइराला नेतृत्वको इतर समूहले मंसिरभित्र नियमित महाधिवेशन गर्नुपर्ने बताइरहेको छ । विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्न उकासेका महामन्त्री थापा र शर्माले पनि मंसिरमा नियमित महाधिवेशन हुनुपर्ने धारणा राखेका छन् । मंसिरमा नियमित महाधिवेशन नभए विशेष महाधिवेशन गर्नुपर्ने उनीहरूको भनाइ छ । 

महामन्त्री थापा पक्षीय केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले रातोपाटीसँगको अन्तर्वार्तामा भनेका छन्, ‘हाम्रो वैधानिक कार्यकाल मंसिरको महिनाको अन्त्यमा समाप्त हुनेछ । यो समयभित्र भयो भने नियमित महाधिवेशन भए पनि हुन्छ भन्ने महामन्त्रीको अहिलेको प्रस्ताव हो ।‘

‘नियमित महाधिवेशनभित्र भयो भने विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने साथीहरूको मुद्दालाई पनि सम्बोधन हुने, पार्टीले पनि निकास पाउने, मुलुकले पनि निकास पाउने हाम्रो धारणा हो । तर पार्टीभित्रको एउटा पक्षले महाधिवेशन निर्वाचन पछाडि गरौँ भनिरहेको छ,’ उनले भनेका छन्, ‘एज इट इज अवस्थाबाट अगाडि बढाऔं भनेपछि पार्टीभित्र समस्या भइरहेको छ ।’

आइतबार बिहान मात्रै महामन्त्री शर्माले मध्यमार्गी प्रस्तावका रूपमा आगामी पुस १६ देखि १९ गतेसम्म नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका छन् । 

अहिलेसम्म कुनै पनि प्रस्तावमा सहमति जुट्न सकेको छैन । तर लामो समयसम्म अन्योलमा राख्दा राष्ट्रिय राजनीतिबारे छलफल गर्न नसकिने भन्दै नेताहरूले पुसमा सुरु गर्ने र नभ्याइएमा निर्वाचन पछाडि सार्ने गरी सहमतिको प्रयास भइरहेको बताएका छन् । तथापि औपचारिक रूपमा उनीहरू यो बताउन चाहँदैनन् । 

कार्यसमिति सम्पादन समिति सदस्य बलबहादुर केसीले बैठक जारी रहेको र मिलाउने प्रयास भइरहेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मधुसुधन भट्टराई
मधुसुधन भट्टराई

रातोपाटीका खोज तथा समाज ब्यूरो प्रमुख भट्टराईले राजनीति, संसद् र प्रशासनमा कलम चलाउँछन् ।

लेखकबाट थप