सिंगापुरबाट देउवाको निर्देशन– विशेष महाधिवेशन नगर्नू
सारांश
- शेरबहादुर देउवाले विशेष महाधिवेशन नगर्न निर्देशन दिएका छन्, र नियमित महाधिवेशनको वातावरण बनाउन आग्रह गरेका छन्।
- देउवाले सिंगापुरबाटै कार्यवाहक सभापति र अन्य नेताहरूलाई नियमित महाधिवेशनमा सहमति खोज्न निर्देशन दिएका हुन्।
- नेपाली कांग्रेसमा महाधिवेशनको मिति र तरिकाबारे विवाद जारी छ, जसमा दुई समूहबीच फरक-फरक धारणा रहेका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापनका नेताहरूलाई विशेष महाधिवेशन नगर्न निर्देशन दिएका छन् । विशेष महाधिवेशन माग गर्दै दुई हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षरसहितको पत्र बुझाएका थिए । तर, त्यो पत्रको कार्यान्वयन नगरी नियमित महाधिवेशन गर्ने वातावरण निर्माण गर्न संस्थापनका नेताहरूलाई देउवाले भनेका हुन् ।
गत आइतबारको केन्द्रीय कार्यसमिति नियमित महाधिवेशन कहिले गर्ने भन्नेमा विवाद भएपछि स्थगित भएको थियो । त्यसपछि बसेको संस्थापन पक्षीय नेताहरूको अनौपचारिक बैठकमा सभापति देउवाले विशेष महाधिवेशन नगरी नियमित महाधिवेशनको वातावरण बनाउन आफूलाई निर्देशन दिएको जानकारी कार्यवाहक सभापति खड्काले दिएका हुन् । त्यो बैठकमा सहभागी भएका एक नेताले भने, ‘कार्यवाहक सभापति पूर्णबहादुर खड्काले देउवाले विशेष महाधिवेशन नगर्न सभापतिज्यूको निर्देशन छ । नियमित महाधिवेशनमा सहमतिको प्रयास गरौँ भन्ने धारणा राख्नुभयो ।’ देउवा हाल उपचारका क्रममा सिंगापुरमा छन् । सिंगापुरबाटै देउवाले खड्कालाई यस्तो निर्देशन दिएका हुन् ।
ती नेताका अनुसार कार्यवाहक सभापति खड्कामात्रै होइन सहमहामन्त्री किशोरसिंह राठोरले पनि आफूलाई सिंगापुरबाट देउवाले टेलिफोन गरेर विशेष महाधिवेशन नगर्ने वातावरण निर्माण गर्न भनेको बताएका थिए । देउवाले आफू निकटका अरू पदाधिकारीलाई विशेष महाधिवेशनले पार्टीलाई राम्रो नगर्ने भन्दै त्यसतर्फ पार्टीलाई नलैजान भनेको उनको दाबी छ ।
सभापति देउवा श्रीमती डा.आरजु राणा देउवासँग कात्तिक १० गते सिंगापुर गएका थिए । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते बुढानीलकण्ठस्थित आफ्नै निवासमा मरणासन्न हुनेगरी कुटिएका दम्पतीले करिब एक महिना छाउनीस्थित सैनिक अस्पतालमा उपचार गराएका थिए ।
कुटिएपछि पहिलो पटक असोज २८ गते सानेपास्थित पार्टी कार्यालयको केन्द्रीय समिति बैठकमा सार्वजनिक रूपमा देखिएका देउवाले बैठकमा लिखित मन्तव्य दिँदै उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएका थिए ।
त्यसपछि जारी केन्द्रीय समिति बैठक खड्काको सभापतित्वमा बसिरहेको छ । बैठकमा केन्द्रीय महाधिवेशन कहिले गर्ने र नियमित गर्ने कि विशेष महाधिवेशन गर्ने भन्नेमा विवाद छ । यही परिस्थितिमा नेताहरू अनिर्णीत बनिरहेको बेलामा सभापति देउवाले विशेष महाधिवेशन नगर्न र नियमित महाधिवेशनको मितिमा सहमति गर्न नेताहरूलाई निर्देशन दिएका हुन् ।
नियमित महाधिवेशन पनि कहिले गर्ने भन्नेमा विवाद छ । संस्थापन पक्षले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनपछि वैशाखमा नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेको छ ।
सोमबार राजधानीमा बसेको संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको बैठकले त वैशाख २५ देखि २८ गतेसम्म १५ औँ महाधिवेशन गर्नुपर्ने निर्णय नै गरेको छ । अर्कोतर्फ डा. शेखर कोइराला नेतृत्वको इतर समूह र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मंसिरभित्र नियमित महाधिवेशन गर्नुपर्ने बताइरहेका छन् ।
दुई पक्षको कुरा नमिल्ने संकेत देखिएपछि महामन्त्री शर्माले पुस १६ गतेदेखि १९ गतेसम्म नियमित महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका छन् । त्यो प्रस्तावमा पनि कुरा मिल्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण