बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रस्ताव

नयाँ कांग्रेस, नयाँ नेपाल : महामन्त्री गगन थापाको महाधिवेशन प्रस्ताव

मूल्यमा निरन्तरता, अभ्यासमा परिवर्तन, नेपाली कांग्रेसको पुनर्जन्मको मार्गचित्र
मङ्गलबार, १८ कात्तिक २०८२, १७ : ०४
मङ्गलबार, १८ कात्तिक २०८२

सारांश

  • नेपाली कांग्रेसको महामन्त्री गगन थापाले पार्टीको आगामी महाधिवेशन र समसामयिक राजनीतिक विषयमा धारणा राखे।
  • उनले पार्टीभित्रको आन्तरिक सुधार, युवा पुस्ताको सहभागिता, र निर्वाचनको तयारीबारे जोड दिए।
  • थापाले पार्टीलाई नयाँ बनाउन र देशलाई नेतृत्व दिन महाधिवेशन आवश्यक रहेको बताए।

आदरणीय कार्यवाहक सभापतिज्यू र केन्द्रीय कार्यसमितिका प्रिय साथीहरू, 

२०८० फागुन ७ देखि १० गतेसम्म गोदावरीमा सम्पन्न महासमिति बैठकमा सांगठनिक प्रस्ताव प्रस्तुत गर्दा नै “विधानत आगामी १५औं महाधिवेशन २०८२ मंसिर मसान्तभित्र सम्पन्न गर्ने गरी विस्तृत कार्यतालिका पेश गरेको थिंए। त्यसपश्चात वसेको केन्द्रीय कार्यसमितिले विस्तृत कार्यतालिका पछि केन्द्रीय कार्यसमितिले तय गर्ने गरी विधान बमोजिम नियमित समयमा पार्टीको १५ औं महाधिवेशन सम्पन्न गर्ने प्रतिवद्धता जनाएको स्मरण गराउन चाहान्छु ।

पार्टीको विधानले सामान्य अबस्थामा १ वर्ष म्याद थप गर्न सक्ने सुविधि दिएको र अघिल्ला महाधिवेशनमा त्यसको अभ्यास हुँदै समेत आएको अबस्थामा पार्टी सभापतिज्यूको चाहना अनुसार २०८३ मंसिरमा १५औं महाधिवेशन गर्न सकिन्छ भन्ने छलफल भएकै हो। तर, सदस्यता नवीकरण कार्य भने नियमित रुपमा महासमिति वैठक पछि नै निरन्तर भैरहेको पनि अवगत गराउन चाहान्छु ।

महासमिति बैठक पछिको विकसित राजनीतिक घटनाक्रममा ७ बुँदै सहमिति र सरकार सञ्चालनका सन्दर्भमा मेरो भुमिका, अडान र विमतिहरूबारेमा पछिल्लोपटक गत भाद्र ८ गते संसदमा विशेष समयमा सम्बोधन गर्दा र २२ र २३ गते सार्वजनिक रुपमा सिङ्गो देशको सामुमा आफ्नो धारणा राखेको थिएँ। यसको वारेमा अन्य उपयुक्त समय र स्थानमा विस्तृत चर्चा गरौंला । भाद्र २३-२४ मा परिस्थितिमा हठात बदलाव नआएको भए सदस्यता वितरण लगायत महाधिवेशनको तीव्र तयारी गर्ने, अधिवेशन जति सक्दो छिटो गर्ने र त्यो अगावै भातृ संस्थाहरूको अधिवेशन सम्पन्न गर्ने योजनामा हामी थियौं । तर भाद्र २३ र २४ गतेको उथलपुथल र उलटफेरले आज संसद छैन, जुन संसदमा हामी सवैभन्दा ठुलो दल थियौं। जेनजी आन्दोलनको उत्कर्षमा उत्पन्न सरकार विहिनताको परिस्थितिमा अन्तरिम सरकार गठन, संसद विघटन र फागुन २१ २०८२ को लागि आम निर्वाचनको मिति घोषणा भइसकेको छ। 

जेनजी युवाको आब्ह्वानमा २०८२ भाद्र २३ र २४ गते भएको आन्दोलन पश्चात नेपाली राजनीति एउटा विशिष्ट र चुनौतीपूर्ण मोडमा आइपुगेको छ। के भाद्र २३ अगाडि र पछाडिको परिस्थिति एउटै हो? के हामीले त्यो अगाडि जुन सुविधा र आरामका साथ सोचेका थियौं त्यसरी नै सोच्ने सुविधा पार्टी जीवन र राष्ट्रिय राजनीतिमा हामीलाई प्राप्त छ ? पार्टी सदस्य, शुभेच्छुक, मतदाता, नागरिक सबैको हाम्रातर्फ लक्षित भएका प्रश्नै प्रश्न छन्।

नेपाली कांग्रेस पार्टीले ऐतिहासिक रुपमा पहिलोपटक एउटा सशक्त आन्दोलनको नेतृत्वबाट विमुख त भयो नै त्यसको अलावा त्यो आन्दोलन हाम्रै विरुद्धको आन्दोलन समेत थियो। किनकि हामी त्यस आन्दोलनले विघटित गरेको संसदको पहिलो दल थियौं, अपदस्थ सरकारको मुख्य हिस्सेदार थियौं। 

हामीले यस्तो अवस्थामा सामान्य समयमा हुने निर्वाचनजस्तो त्यसको तयारी मात्र गरौं भनेर पुग्छ त ? के मतदाताको विशाल पंक्ति हाम्रो पक्षमा भोट हाल्न आतुर भएर बसिरहेको अवस्था हो? तत्कालिन सरकारको मुख्य हिस्सेदारका हैसियतले भाद्र २३ मा के भएको थियो भनेर उनीहरुले प्रश्न गरे, हामीले दिने जवाफ के हुन्छ? एकपटक निर्मम आत्मसमीक्षा नगरिकन हामी एक डेग पनि अगाडि बढ्न सक्दैनौं। पार्टीका साथीहरू र सदस्यहरूसँग गरिने सघन संवादले मात्र हामीले बाटो पहिल्याउन सक्छौं। महाधिवेशनले मात्र हामीलाई त्यो अवसर दिन्छ। 

हामीले संवाद, समीक्षा, संकल्प र तयारी विना आम निर्वाचनमा अग्रसर हुँदै गर्दा भाद्र २३ अगाडिकै संरचना लिएर जाने, बदलिएको र सचिएको केही पनि आभास नदिने हो भने नागरिकले को हौ तिमी, भाद्र २२ अघि र अहिलेमा के फरक छौं, हामीले तिमीलाई फेरी भोट किन दिनुपर्ने ? भनेर प्रश्न गर्दा हामीसंग के उत्तर हुन्छ? यो प्रश्नको उत्तर दिनु कुनै प्राविधिक कुरा होइन, विशुद्ध राजनीतिक कुरा हो र राजनीतिक नैतिकता, इमान्दारी र सच्चाइको कुरा हो। एउटा जिम्मेवार राजनीतिक दलले पूरा गर्नुपर्ने युगधर्मको कुरा हो। 

एकातर्फ आन्दोलनका क्रममा भएका ध्वंसात्मक गतिविधिको छानबिन गर्ने र अवाञ्छित कार्य गर्नेलाई कानुनको दायरामा ल्याउनुपर्नेछ भने अर्कोतर्फ नेपाली जनताले विगत शताब्दीमा गरेका विभिन्न आन्दोलनका उपलब्धिलाई संस्थागत गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान को जगेर्ना गर्दै परिवर्तनका तर्फ मुखरित भएको युवा स्वरलाई संस्थागत गर्ने गुरुत्तर दायित्व हाम्रो काँधमा आइपुगेको छ । 

निश्चय पनि भाद्र २३ र २४ को परिस्थिति एकाएक उत्पन्न भएको होइन । आजको परिस्थिति आउनुमा नेपाली कांग्रेस पार्टी मात्र जिम्मेदार छैन तर पछिल्ला दुई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदमा नेपाली जनताको अपार माया र स्नेह सहित लगातार बर्चस्वशाली उपस्थिति भएकाले हामीले आफ्नो भागमा परेको कमजोरीबाट भाग्न पनि मिल्दैन। हामीले स्वीकार गर्नैपर्छ, सरकार र शासन सञ्चालनका क्रममा हामीबाट भएका कमजोरी र विफलताका कारण यी घटनाका लागि भावभूमि/परिपाक तयार भएको हो । सत्ता सञ्चालनमा सहभागी हुँदा राष्ट्रिय प्राथमिकता र जनताका

आकांक्षालाई सम्बोधन गर्ने दिशामा पार्टीको सिद्धान्त र सरकारका कार्यक्रम बीचको सन्तुलनमा हामी नराम्रोसँग चुकेकै हो। जनतासंगको सम्बन्धको तन्तु टुटेकै हो । हामीले नीति र कार्यक्रमलाई पर्याप्त ध्यान नदिइकन दैनदिन सत्ता सञ्चालनमा ज्यादा अलमलिएको कुरामा हामीले आत्मालोचना र आत्ममन्थन गर्नै आज नेपाली कांग्रेस आफ्नो गौरवशाली इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। 

हामी त्यो पार्टी हौं जसले नेपाललाई लोकतन्त्र दियो, सङ्घीय गणतन्त्रात्मक संविधान दियो र स्वतन्त्रता दियो र समुन्नतीको आशा जगायो । तर यथार्थ के हो भने 'आज हामी एकै पटक विश्वासको संकट र प्रासंगिकताको प्रश्नसँग जुधिरहेका छौं। हाम्रो नाम र इतिहास ठूलो त छ, तर हाम्रो फगत सन्देशले मात्र अब जनतामा पर्याप्त भरोसा जागृत गर्न सक्दैन । जनता 'विशेष गरी नवयुवा पुस्ताले” अहिले कांग्रेसलाई साहस होइन, सम्झौतासँग, आदर्श होइन, अवसरवादसँग; निष्ठा होइन, भ्रष्टाचारसँग जोड्न थालेका छन्। र यो अवस्था आउनाको जिम्मेवारी हामी सबैको हो। म पनि यो नेतृत्वकै हिस्सा हुँ, निर्णयका पनि भागीदार हुँ। त्यसैले जब जब म परिवर्तनको कुरा गर्छु, म अरूमाथि औँला उठाउँदै मात्र होइन, आफूले पनि जिम्मेवारी लिँदै आएको छु, लिन्छु । 

अतः नेपालको राजनीतिक परिदृश्यलाई सकारात्मक दिशामा बदल्नको लागि भएको यो अभूतपूर्व जागरणमा सहभागी भएर सहादत प्राप्त गर्नुभएकाहरू, घाइते हुनुभएका सबै सबैका प्रति सम्मान व्यक्त गर्दै आत्मसीक्षा र संकल्पसहित यो बैठकमा मेरा केही कुराहरू र प्रस्ताव राख्न चाहन्छु। 

१. आजको राष्ट्रिय प्रश्न र कांग्रेसको उत्तरदायित्व 

नेपालमा विगतमा भएको कुनै पनि आन्दोलन पश्चात यस्तो अवस्था सिर्जना भएको थिएन । सिङ्गो देश राजनीतिक, सामाजिक, आर्थिक ट्रमा ( आघात) बाट गुज्रिन पुगेको छ। त्यस मानेमा नेपाली समाज र राजनीति असामान्य चरणको सामना गर्दैछ। जेनजी आन्दोलन पश्चात् देशको अवस्था के छ ? आज नेपाली कांग्रेसको सामु आइपरेको ऐतिहासिक क्रान्तिकारी जिम्मेदारी के हो ? आजको नयाँ परिस्थितिमा कांग्रेस पार्टीको उत्तरदायित्व के छ? ऐतिहासिक घटनाक्रमलाई हृदयङ्गम गर्दै आफ्नो कामको सन्तुलित लेखाजोखा गरेर घनिभुत संवादमार्फत वर्तमान परिस्थितिमा अदा गर्नुपर्ने उत्तरदायित्वलाई हामीले राम्ररी ठम्याउनु पर्दछ।

२. राष्ट्रिय राजनीतिक परिदृश्य 

अहिलेको परिस्थितिमा तीनवटा परिदृश्य देखा परेका छन् । पहिलो, राजनीतिक शक्तिहरूबीच धुर्वीकरण बढ्ने र उनीहरूका बीच तीव्र द्वन्द र हिंसाका कारण अस्थिरता र अनिश्चिततातर्फ धकेलिने जसले गर्दा राष्ट्र र जनतालाई थप कमजोर बनाउँछ । 

दोश्रो • राष्ट्रिय राजनीतिलाई भाद्र २३ अगाडिकै परिस्थितिमा राख्न कोसिस गर्ने अर्थात् यथास्थितिको निरन्तरता। त्यसले दीर्घकालीन निकास दिन सक्दैन र आन्दोलनको मर्म माथि नै प्रहार गर्दछ। 

तेस्रो, जेनजी आन्दोलनको क्रममा परिवर्तनका लागि मुखरित भएका आवाजहरूलाई संस्थागत आकार र ढाँचा प्रदान गरेर अगाडि बढ्ने। विशेषगरी सुशासन र सेवा प्रवाहका बारेमा सबै सरोकारवाला पक्षहरू बसेर निर्वाचन अगाडि गर्न सक्ने प्रतिबद्धता र निर्वाचन पछाडि गर्ने कार्यहरूमा एउटा सहमति कायम गरेर अगाडि बढ्नुपर्छ । त्यसले मात्र निर्वाचनमा आम मानिसहरूको आकर्षण बढाउँछ। तेस्रो विकल्प अर्थात् रूपान्तरण सहित शान्ति, स्थिरता र समुन्नती सुनिश्चित गर्ने तर्फ अग्रसर हुनु आजको परिस्थितिमा अग्रगामी र प्रगतिशील आवश्यकता हो ।

३. कांग्रेसको विशिष्ट ऐतिहासिक परम्परा 

यस्तो राजनीतिक परिदृश्यमा नेपाली कांग्रेसको भूमिका के त ? भन्ने प्रश्न हाम्रा सामु खडा भएको छ । कुनै पनि गतिशील आधुनिक समाजले हमेशा नयाँ नयाँ परिस्थितिमा, नयाँ नयाँ समस्याको सामना गर्ने र तिनका नयाँ नयाँ समाधान खोज्ने इतिहास सिद्ध तथ्य हो। आधुनिक परिस्थितिमा राजनीतिक दलहरूले नै त्यो राष्ट्रिय अभिभारा पूरा गर्दै आएका छन् । नेपालको हकमा नेपाली कांग्रेस पार्टीले २००७, २०४६ वा ६२ / ६३ सालको आन्दोलन र २०७२ को संविधान निर्माणको परिवेशमा त्यो ऐतिहासिक अभिभारा पुरा गरेको छ । 

नेपाली कांग्रेस पार्टीको कुनै पनि राष्ट्रिय सङ्कटमा एउटा विशिष्ट राजनीतिक परम्परा रहिआएको छ। हाम्रा अग्रजहरूले कुनै पनि घटनाक्रमलाई आफ्ना व्यक्तिगत दृष्टिकोण, आफ्नो चाहना र बानी अनुसार राष्ट्रिय र पार्टीका समस्याको हल खोज्ने प्रवृत्ति देखाउनुभएन। व्यक्ति र पार्टीभन्दा माथि देश र जनताको हित हुने गरी कांग्रेसले पहलकदमी लिने गरेको गौरवपूर्ण इतिहास हाम्रा सामु छ। हामीले हमेशा पार्टीको दायराबाट माथि उठेर निर्णय लिएका छौं । आज पनि नेपाली कांग्रेसले राष्ट्रिय शक्ति भएका हिसाबले पार्टीलाई वा व्यक्ति विशेषलाई केन्द्रमा राखेर होइन देश, काल र परिस्थितिलाई मध्यनजर गर्दै नेतृत्वदायी बाटो देखाउनुपर्नेछ । 

नेपाली कांग्रेसको जन्मजात चरित्र नै राष्ट्रका सामु उत्पन्न विषम परिस्थितिमा त्यो परिस्थितिलाई सम्हालेर सबैका लागि मान्य हुने निकास दिनु रहेको छ। आजको दिनमा नेपाली कांग्रेसलाई न त आत्मसमर्पण गर्ने छुट छ न उत्तेजनाको राजनीति गर्ने नै छुट्छ । कांग्रेस प्रश्नबाट भागेर होइन परिस्थितिको डटेर सामना गर्नु गर्दछ। काङ्ग्रेसले नै दिशाविहीन र लडखडाएको देशलाई सम्हाल्छ र रूपान्तरणकारी नेतृत्व दिन्छ। 

नेपाली कांग्रेसले प्रथम जननिर्वाचित सरकारको नेतृत्व गरिरहेका बेला बीपी कोइरालाले नेपाली कांग्रेसको सातौं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि व्यक्त गरेका उद्गार यहाँ स्मरण गर्न चाहन्छु इतिहासले बारम्बार नेपाली काङ्ग्रेसलाई नयाँ नयाँ परिस्थितिमा नयाँ नयाँ अभिभारा बोकाइरहेको छ । हामीलाई विश्राम कहाँ ? इतिहासले हामीलाई फुर्सद कहाँ दिइरहेको छ! यदि हामीलाई इतिहासको हतियार बन्ने सौभाग्य प्राप्त भएकोमा गर्व छ भने यही तथ्यबाट उत्पन्न भएको जिम्मेदारीबाट हामी कसरी मुक्त हुन सक्छौ र ! त्यसो हुनाले साथीहरू हो, हामी नेपाली कांग्रेसका सिपाहीलाई जो आजको परिस्थितिमा इतिहासका सिपाही भएका छौं, कुनै किसिमको विश्रामको सुख प्राप्त छैन। पार्टीले इतिहासको क्रान्तिकारी लक्ष्यलाई पूरा गर्न सक्ने क्षमतालाई हामीले कार्यद्वारा प्रमाणित गर्न सकेनौं भने इतिहासले अर्को हतियार निर्मित गर्छ। त्यसो हुनाले हामी सबैले हाम्रो संस्थालाई इतिहासको हतियार सम्झेर यसलाई सफा र उज्ज्वल राखेर सही अर्थमा एउटा हतियार जस्तै प्रभावयुक्त बनाउनुपर्छ । 

नेपाली कांग्रेसले बीपी कोइरालाको भनाइलाई चरितार्थ गर्दै इतिहासको क्रान्तिकारी लक्ष्यलाई पूरा गर्न सक्ने क्षमतालाई बीपीको अनुपस्थितिमा समेत २०४६ र ६२/६३ मा कार्यद्वारा प्रमाणित गरिसकेको छ। जेनजी आन्दोलनपछि नेपाली इतिहासको हतियार नेपाली कांग्रेस पार्टीलाई फेरि एकपटक सफा र उज्ज्वल राख्दै प्रभावकारी हतियार बनाउनुपर्छ । त्यस दिशामा गम्भीर भएर चिन्तन मनन गर्नु यस केन्द्रीय कार्यसमितिको दायित्व भएको छ । 

वर्तमान गतिरोधबाट निकासका लागि हामीलाई प्राविधिक कुरा गरेर, संख्याका कुरा गरेर, यो वा त्यो कुरा गरेर अल्मलिने बहानाका लागि छुट पनि छैन र समय पनि छैन । इतिहासको लगाम बेगवान गतिमा अगाडि बढिरहेको छ। पार्टी भनेको यसको सभापति वा यसको केन्द्रीय कार्य समिति सदस्य वा यसको महाधिवेशन प्रतिनिधि वा यसका प्रारम्भिक तहका क्रियाशील सदस्यहरु मात्र होइन। पार्टी त त्योभन्दा पनि बृहत्तर कुरा हो । यसका शुभेच्छुक, समर्थक, मतदाता र आम रूपमा जनतासँग पार्टीको प्रत्यक्ष सरोकार हुन्छ। भाद्र २३ पछि हामीसँग संसदको पहिलो दलको हैसियत वा हामी सहभागी भएको सरकार यस्ता यावत कुरा छैनन् । संसद छैन् अर्थात् परिस्थितिले कायाकल्प गरेको छ। जनताको परिवर्तनको आवेगले सबै कुरा हठात् बदलिदिएको छ। त्यही भएर यस्तो परिस्थितिमा हामीलाई अल्मलिने र बहकिने सुविधा प्राप्त छैन  

नेपाली कांग्रेसलाई चुनावमा हुने जित वा हारसँग ज्यादा सरोकार छैन। तर पार्टीभित्र बृहत्तर एकता कायम गरेर देशभित्रका राष्ट्रिय शक्तिहरुलाई एक ढिक्का बनाएर, जेनजी, नागरिक समाज र अन्य पार्टीहरू लगायत सम्पूर्ण सरोकारवालाहरूसँग संवाद स्थापित गरेर आन्दोलनका उपलब्धिहरूलाई संस्थागत गर्दै निर्वाचनमा डोर्याउने दायित्व नेपाली कांग्रेसको हो। २०६४ सालमा सम्पन्न भएको पहिलो संविधानसभाको निर्वाचनमा कांग्रेसले त्यो कार्य सम्पन्न गरेको थियो। नागरिकहरूमा राजनीति र राजनीतिक प्रक्रियाप्रति देखा परेको भय, डर, संशय र अविश्वासबाट उनीहरूलाई बाहिर निकालेर कांग्रेसले सम्हाल्छ भन्ने सन्देश दिन सक्नुपर्छ। 

नेपाली कांग्रेसले यो अवस्थामा सरकारका प्रति, अरु दलकाप्रति वा जेन्जीका प्रति मुखापेक्षी भएर होइन आफै नेतृत्वदायी पहलकदमी लिएर अगाडि बढ्ने हो । सामाजिक सञ्जाल देखि सडक, खेत खलिहान देखि चोक चौतारा क्याफे, गाउँदेखि सहर, देश देखि विदेशसम्म जुन किसिमको परिवर्तनको लहर र भावना फैलिएको छ, त्यसलाई चित्त बुझ्दो गरी संस्थागत रूपमा सम्बोधन गर्न सकेनौं भने, हामीले इतिहासले सुम्पेको यो कार्यभार लिन सकेनौं भने इतिहास हामीलाई छोडेर अगाडि बढ्नेछ। यस्तो विषम परिस्थितिमा परिवर्तनको भावलाई समेट्दै पार्टीलाई समेत आमूल रूपान्तरित गर्दै अगाडि कसरी बढाउने भन्ने अहम प्रश्न हाम्रा सामु खडा भएको छ। 

त्यसैले हाम्रो पार्टीको ऐतिहासिक र विशिष्ट परम्परालाई समेत स्मरण गर्दै अहिलेको अबस्थामा आन्दोनलमा मुखरित भएको भावनाको संवोधन गर्न पार्टी स्पष्ट र एकतावद्ध भएर जेनजी लगायतको नव युवासंग संवाद, अन्य दलहरूसंग संवाद, नागरिकसंग संवाद गर्नुपर्छ । किनकी संवादबाटै आन्दोलनको भावनालाई संस्थागत आकार दिएर अहिलेको अलमल, डर भयबाट निकाल्दै मुलुकलाई निर्वाचनमा लैजाने हाम्रो गुरुत्तर जिम्मेवारी छ।

४ .पार्टी सदस्यसँग सोधौं / संवाद गरौं 

पार्टीको बृहत्तर र कार्यकारी निकायले मात्रै जनताको परिवर्तनको त्यो तीव्र मनोकांक्षालाई उचित रुपमा प्रतिबिम्बित गर्न सक्छ। 

एकातर्फ १४औं महाधिवेशनबाट निर्वाचित भएको पार्टी कार्यसमितिको पदावधि यही मङ्सिरमा सकिन लागेको छ भने अर्का तर्फ १५ औं महाधिवेशन सम्पन्न गर्नुपर्ने र आम निर्वाचनको लागि पार्टीलाई तयारी अवस्थामा राख्नुपर्ने जिम्मेवारी समेत हाम्रो सामु छ। यस्तो बेला पार्टी कसरी अगाडि बढ्ने, पार्टी नेता कार्यकर्ताले बृहत्तर रुपमा कहाँ छलफल गर्ने, त्यसका लागि हाल बहाल रहेको केन्द्रीय कार्यसमितिको साँघुरो दायराको निर्णय मात्र पर्याप्त हुँदैन । यो त नेपाली काङ्ग्रेस खुम्चिने होइन फैलने अवसर हो। राष्ट्रका सामु उत्पन्न विषम परिस्थितिमा राष्ट्रिय शक्तिले खुम्चिएर होइन फैलिएर नै देशलाई निकास दिन सक्छ। तसर्थ हामीले हाम्रो चिन्तनलाई फराकिलो, खुला र उदार बनाउनुपर्छ। 

भाद्र २३, २४ को घटना र नेपाली कांग्रेसको १५ औं महाधिवेशनलाई पृथक गरेर हेर्न सकिँदैन । राष्ट्रिय जीवनमा आइपरेका विशिष्ट परिस्थितिहरूमा सम्पन्न भएका नेपाली कांग्रेसका महाधिवेशनहरुले विशिष्ट मार्ग निर्देशन गरेका छन्। वर्तमानमा कांग्रेस पार्टीको नयाँ अधिवेशन वा महाधिवेशन भन्नुहोस् त्यो फगत नेतृत्व परिवर्तन मात्र हुनु हुँदैन । त्यसले त युवाहरुलाई सम्बोधन गर्न सक्नुपर्छ - हो, हामीले गर्जन र हुंकार सहित तपाईंहरूको आवाज सुनेका छौं भन्न सक्नु पर्दछ । हामीले त्यो आवाजलाई सम्बोधन गर्न त्यो आन्दोलनलाई सम्मान गर्दै एउटा घोषणा आह्वान गर्न सक्नुपर्छ की - कांग्रेस बदलिएको छ र नयाँ सुरुवात गर्न आतुर छ । जेन्जी आन्दोलनको म्यान्डेट अनुसार कार्य गर्न कांग्रेस तत्पर छ। 

त्यसका लागि हाम्रा राजनीतिक प्रक्रिया र उद्देश्यका प्रति बृहत्तर सार्वजनिक भरोसा जगाउनुपर्नेछ। आन्दोलनका क्रममा संविधान फेर्न हौसिएको र जुर्मुराएको आवाज नेपाली कांग्रेसको विधानमा के छ भनेर मात्र पर्खिएर बस्दैन। हामीलाई हाम्रो विधान जति पवित्र लाग्छ जनताको परिवर्तन प्रतिको आवाज र लगाव पनि त्यति नै पवित्र, सम्मान र अनुसरण योग्य हुनु पर्दछ । यी दुई बीचमा सन्तुलन कायम गरेर निकास खोज्नुपर्दछ । 

विकसित राजनीतिक परिस्थिति अनुरूप एकातर्फ पार्टी सभापतिले कार्यवाहक हस्तान्तरण गर्नुभएको छ भने अर्कोतर्फ देशभरका बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरुले विशेष अधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका छन्। पहिलो दिनको बैठकबाट पार्टी सभापतिले जिम्मेवारी हाम्रा काँधमा छाडेर जानुभएको छ। 

नेपाली कांग्रेसले आफ्नो नेतृत्व बदलेर नयाँ वैचारिकी र सैद्धान्तिकी मार्फत त्यो गुमेको भरोसा र विश्वास पुनर्प्राप्त गर्न सक्छ। त्यसका लागि आम निर्वाचन अगाबै अधिवेशन जरुरी छ। एक्काइसौं शताब्दीको लोकतान्त्रिक पार्टीले तिब्र गतिमा बदलिएको राष्ट्रिय राजनीतिक परिस्थितिलाई अन्देखा गरेर, अकर्मण्य भएर किमकर्तव्यविमुढ हुँदै कालक्षेपण गर्दै बस्न मिल्दैन। यो त परिस्थितिको तकाजा बुझेर राष्ट्रिय लक्ष्य भेदन गर्न युद्धस्तरमा कार्य गर्ने समय हो। 

राष्ट्रिय राजनीतिमा आएको उथुलपुथलकारी बदलाबपछि पनि पार्टीको नीति र नेतृत्वको संरचनागत परिवर्तन नगरी निर्वाचनमा जानु भनेको चरम आत्ममुग्धता वा मूढता हुनेछ । आज नेपाली कांग्रेसको स्वर्णिम इतिहासमा हामीले नयाँ मिसाल थप्ने, जग मजबुत गर्ने समय हो, सिङ्गो देशलाई आशा र भरोसा दिलाउने समय हो। त्यसैले देशभरका कार्यकर्तासँग एउटै थलोमा भेला भएर यथासक्य छिटो प्रत्यक्ष र दोहोरो संवाद गरेर मात्रै हामीले राष्ट्रिय संकटको निकास दिन सक्छौं । 

५. नागरिकसंग संवाद 

हामी केन्द्रीय कार्यसमितिको इको चेम्बर कार्यकर्ताहरूको इको च्याम्बरभन्दा बाहिर निस्केर नागरिकहरूसँग प्रत्यक्ष संवादमा उत्रिनुपर्छ । हामीले आत्ममूल्यांकन गर्नैपर्छ — हाम्रो संकट निर्वाचनको मात्र होइन, नैतिकताको हो । आज कांग्रेसलाई जनता शक्ति प्राप्तिको पार्टी भनेर हेर्छन्, सेवाको संस्था भनेर होइन। कांग्रेस पार्टी जनसेवाको संस्था भनेर चिनिनुपर्छ । 

भ्रष्टाचार र कुशासनका आरोपहरू हाम्रा तर्फ बारम्बार सोझिएका र तेर्सिएका छन् कि अब हाम्रो मौनता नै स्वीकृति जस्तो देखिन थालिएको छ । जनताले व्यक्ति र संस्थाको गल्ती वा भेद छुट्याउँदैनन् । उनका नजरमा त हामी नै प्रणाली हौं, र समग्र प्रणालीले उनीहरूलाई निराश पारेको छ। 

आशालाग्दो कुरा के छ भने हालैको युवा आन्दोलन ' Gen Z को आन्दोलन — लोकतन्त्रको अस्वीकार होइन, यसको सुधारको माग हो। उनीहरूले हामी राजनीतिक दल सँग पारदर्शिता, योग्यता, कार्यक्षमता र विश्वास मागेका छन्। यदि हामीले यो चेतावनीलाई सुनेनौं भने, हामी केवल चुनाव होइन, नैतिक अधिकार पनि गुमाउनेछौं । त्यसैले पहिलो कदम स्वरूप कांग्रेसले आफैंलाई शुद्ध पार्नैपर्छ, तब मात्र देशलाई सुधार्ने अधिकार पाउँछ।

पार्टीभित्रको फोहोर सफा गर्न, नागरिकहरूले भ्रष्टाचार कुशासनमा हामीलाई जिम्मेवार ठानेकोमा हामीले पुराना के के कार्य गर्दैनौं र नयाँ के के कार्य गर्छौं भन्ने ब्लुप्रिन्ट सहित अगाडि जानुपर्छ। नागरिकहरूले कांग्रेसलाई भरोसा गर्ने यथेष्ट आधार हामीले सुनिश्चित गर्नुपर्छ । 

६. महाधिवेशनः आत्मसमीक्षा र पुनर्जन्मको अवसर 

राष्ट्रिय राजनीतिमा आएको यस्तो उथलपुथल पछि हुन लागेको महाधिवेशनलाई साधारण अधिवेशन जस्तो अब केवल आन्तरिक प्रक्रिया ठान्न मिल्दैन । यो नै हाम्रो नैतिक पुनर्जन्मको अवसर हो। 

त्यही मञ्चबाट हामी देशलाई भन्न सक्छौं “हामीले गल्ती गरेका थियौं, हामीले जनआवाज सुनेका छौं, अब हामी सुधार गर्न तयार छौं ।” यो अधिवेशनमार्फत कांग्रेसले सन्देश दिन सक्छ। 

अब पार्टीभित्र भ्रष्टाचार र स्वार्थको कुनै स्थान छैन। 

पारदर्शिता र जवाफदेहिता अनिवार्य हुनेछ। 

नेतृत्वको हस्तान्तरण र पुस्तान्तरण नियमित र स्वाभाविक हुनेछ। 

हामीले जनतालाई भन्न सक्नुपर्छ कि; भोलिको कांग्रेस सरकार फरक हुनेछ ‘पहिले हामीले देखाउनैपर्छ कि कांग्रेस आज आफैं फरक भएको छ। 

हामीले संकल्प गर्नुपर्छ कि, हाम्रो गौरवशाली विगत तथा अग्रजहरूको बलिदान, अतुलनीय संघर्ष र त्यागबाट प्रेरणा लिँदै आजको समयको चेत बुझेर जन भावना र जेनजी लगायतका युवा पुस्ताबाट व्यक्त आकांक्षा बमोजिम आउँदो पुस्ताले विश्वास र भरोसा गर्न सक्ने लोकतान्त्रिक पार्टी बनाउने छौं। तर, यदि हामीले ढिला गर्यौ भने यदि हामीले महाधिवेशन चुनावपछि सायौं भने जनताले यही बुझ्नेछन् कांग्रेसले केही सिकेको छैन, उसलाई जनता र जनताको मुद्दाको होइन, केवल चुनाव र सत्ताको चिन्ता छ। त्यो सन्देश हाम्रो लागि घातक हुनेछ। हामीले फेरि पनि पुरानै राजनीति दोहोऱ्यायौं भने, जनताले कांग्रेसलाई इतिहासमा सीमित पार्नेछन्। 

हामीले देखाउनुपर्छ ‘कांग्रेस चुनाव जित्न मात्र होइन, जित्न योग्य भएर चुनाव लड्दैछ।

७. युवा र आम जनता ( मास ) सँग रि - कनेक्ट भएको पार्टी 

नवयुवाहरूको एउटा सिङ्गो पुस्ता जोसँग हिजोका दिनमा हामीले संवाद गर्न जरुरी ठानेका थिएनौं, त्यही छुटेको समुदायले हाम्रा सबै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक संरचनाहरू माथि धावा बोल्यो प्रश्न उठायो । पार्टीको आगामी नीति र कार्यक्रममा ती भावनाहरूलाई ती आवाजहरूलाई सम्बोधन गरेर अगाडि बढ्न नसक्ने हो भने एउटा राजनीतिक दलका रूपमा हाम्रो औचित्य र सान्दर्भिकता त्यही समाप्त हुन्छ । त्यसैले हाम्रो सामु विद्यमान प्रश्न संगठनको मात्र नभएर त्योभन्दा ज्यादा पार्टीकै जीवन मरणको सवाल हाम्रा सामु उपस्थित छ। आज सामान्य अवस्थाको संसदीय निर्वाचनको जसरी निर्वाचनको तयारी गरेर मात्र हाम्रो दायित्व पूरा हुँदैन । हामीले त जनता माझ गुमाएको विश्वास पुनस्थापित गर्नसक्नु पर्दछ। त्यसको लागि आत्म निरीक्षण, आत्ममन्थन र पुनर्जागरण जरुरी छ। हाम्रो कोसिस सशक्त र सबल कांग्रेसको आत्मा पक्रने तर्फ हुनुपर्छ । 

नवयुवाहरूको परिवर्तनका प्रतिको उत्कट आवाजलाई अपमानित गर्नु, दुत्कार्नु, उपेक्षा गर्नु भनेको हामी स्वयं उनीहरुबाट तिरस्कृत हुनु हो । सम्मान भनेको पारस्परिक वा दोहोरो हुन्छ, हामीले उनीहरूको भावनाको कदर गयौं भने मात्रै उनीहरूले हामीलाई विश्वास गर्छन्। पार्टीको ध्येय आजको मितिमा त्यो नयाँ पुस्ताको विश्वास आर्जन गर्ने पट्टि लक्षित हुनुपर्छ । 

जेनजी आन्दोलनले राष्ट्रिय मनोभावना बदलिएको स्पष्ट प्रमाणित गरेको छ । नेपाली कांग्रेस पार्टी स्थापनाकालदेखि नै मास बेस्ट पार्टी हो। मास बेस्ट पार्टीको मास अर्थात् जनतासँग सम्पर्क टुटेको छ। हामीले उनीहरूसँग दोहोरो र प्रत्यक्ष सम्पर्क स्थापित गर्न सक्नुपर्छ । त्यसका लागि हामीलाई धेरै भद्दा संरचनाहरू होइन स्मार्ट संरचनाहरू चाहिएको छ। हाम्रो आधार फेरिएको मात्र होइन कमजोर समेत भएको छ। हामीले हाम्रो छवि विश्वस्नीय ढंगले बदल्नुपर्नेछ। कांग्रेस पार्टीमा सामयिक सुधार र नयाँ सुरुवातबाट मात्रै त्यो सम्भव छ। अधिवेशनबाट पार्टी विधानमार्फत त्यो पुस्ताको पार्टीको निर्णायक तहहरूमा सहभागिता सुनिश्चित गर्ने र निर्वाचनहरू मार्फत प्रतिनिधिमूलक संस्थाहरूमा उनीहरूको यथेष्ट प्रतिनिधित्व गराउने ग्यारेन्टी हामीले गर्नुपर्छ। नयाँ पुस्तालाई राष्ट्रिय निर्णय प्रक्रियामा अनिवार्य रुपमा सहभागी गराउनुपर्छ । 

८. हामीले जोगाउनै पर्ने उत्तराधिकार 

आज हामीले परिवर्तनको कुरा गर्नु अघि, के कुरा कहिल्यै नबदलियोस् भन्ने स्मरण गर्नु अत्यावश्यक छ। नेपाली कांग्रेस केवल एउटा पार्टी होइन, यो विचारको आन्दोलन हो। यो स्वतन्त्रताको संघर्षबाट जन्मिएको र लोकतन्त्रमा अविछिन्न आस्थाले टिकाइएको संस्था हो । बी. पी. कोइराला देखि गणेशमान सिंह, शुवर्ण शमशेर, कृष्णप्रसाद भट्टराई देखि गिरिजाप्रसाद कोइराला 'हाम्रा नेताहरूले यो देशलाई व्यक्तिगत स्वतन्त्रता, कानूनी शासन, र अवसरको समानता सिकाएका हुन्। 

यी मूल्यहरू कालातीत छन् 'कुनै एक पुस्ताको सम्पत्ति होइनन्। 

हाम्रो जिम्मेवारी ती मूल्यलाई बदल्नु होइन, पुनर्जीवित गर्नु हो। 

नयाँ पुस्ताले यी आदर्शहरू अस्वीकार गरेको होइन; उनीहरूले केवल प्रश्न गरेका हुन् ‘किन कांग्रेसका व्यवहारमा ती आदर्शहरू देखिँदैनन्? त्यसैले हामीले खोजेको परिवर्तन हो ‘निरन्तरताभित्रको नवजीवन । यो सबै कार्य गर्नका लागि नेपाली कांग्रेसले तत्काल महाधिवेशन गर्नैपर्छ । हामीले महाधिवेशन नगर्नु भनेको परिवर्तनको पक्षमा मुखरित भएको आवाजलाई हेपेको ठहरिन पुग्छ। जहाँ इच्छा त्यहाँ उपाय भनेर भनिन्छ। त्यसो भए अबको २ महिनामा महाधिवेशन संभव छ त? संभव छ, गर्न सकिन्छ। विगतमा पनि २ महिनाभन्दा कम समयमा महाधिवेशन सम्पन्न भएका हाम्रै उदाहरण छन। यसपटक पनि सकिन्छ, गर्नुपर्छ । 

२४ घन्टामा देश नै उलटपुलट हुनेगरी हाम्रै आंखा अगाडि अकल्पनीय आन्दोलन गरेर नव पुस्ताले देखाइसके मात्र होइन संभव छ भनेर प्रमाणित गरिसके हामी ६४ दिनमा महाधिवेशन पनि गर्न सक्दैनौं 

भन्ने हो भने यो देश समाल्छौं भनेर ति जनताको आगनमा निर्वाचनमा मत माग्ने नैतिक धरातल हामीसंग रहला र? 

त्यसैले, पहिला पहिला जुन काम गर्न ६ महिना लगाउथ्यौं त्य काम २ महिनामा द्रुत गतिमा गरौं, गर्न सकिन्छ भनेको मात्र हो । 

तसर्थ, म तपाईंहरूलाई १५औं महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्न चाहन्छु । 

९. सदस्यता वितरण र नवीकरणका विषयमाः 

सामान्यतः अघिल्ला महाधिवेशनहरूमा सदस्यता वितरण र नवीकरण महाधिवेशनको वर्ष कार्यतालिका तोकिएपछि मात्र हुने अभ्यास थियो । यस पटक १४औं महाधिवेशन सकिए लगत्तै सदस्यता वितरण र नवीकरण विधान बमोजिम निरन्तर गर्ने निर्णय २०७८ चैत्रमा नै गरिएको थियो। २ वर्ष अगाडि २०८० सालमा नै सदस्यता नवीकरणका लागि ८ लाख ७० हजार ८८४ सदस्यता २०८० सालमा नै सवै जिल्लामा पठाइसकेको थियो । पटक पटक परिपत्र पश्चात २०८१ माघमा चैत्रसम्म नवीकरण कार्यतालिका नै बनाएर पठाइएको थियो। यस विचमा सदस्यता व्यबस्थापन केन्द्रीय समितिले ६ पटक ताकेता गरेको छ भने पछिल्लो पटक वसेको केन्द्रीय कार्यसमितिले अम्तिम पटक २०८२ असोज मसान्तसम्म नविकरणका लागि समय थप्ने निर्णय गरेको थियो। 

हालसम्म ६२ जिल्लामा वडा तहबाट नवीकरण सिफारिस भइ तहगत प्रक्रिया पुरा गरी विवरण पठाउने क्रममा रहेको छ। जसमाः 

१९ जिल्लामा १६३८०८ क्रियाशील सदस्य मध्ये ११८७९४ सदस्यता नवीकरण भई केन्द्रीय कार्यालयमा इमेलमार्फत विवरण प्राप्त भैसकेको छ । 

२७ जिल्लामा (केही वडाहरू बाहेक) तहगत नवीकरण भइ १९०४६० सदस्यता केन्द्रमा बुझाउने क्रममा छ । 

अर्थात ४६ जिल्लाबाट ३ लाख ९ हजार २ सय ५४ सदस्यता नवीकरणको विवरण प्राप्त भएको छ, सिष्टममा इन्ट्री गर्न बांकी छ। 

१६ वटा जिल्लामा (केही वडा बाहेक) वडामा नवीकरण भइ तहगत प्रक्रियामार्फत जिल्लामा संकलन हुने क्रममा छ । 

पर्सा, काभ्रे, मकवानपुर, कास्की, बांके, बर्दीय र कञ्चनपुर ६ वटा जिल्लामा आन्दोलन र आगजनिकाका कारण ढिलाई भएको छ, हाल वडाबाट विवरण संकलन भइरहेको छ । 

कैलाली(क्षेत्र नं. १,२ र ४), रुपन्देही (क्षेत्र न. ४) मुस्ताङ, बारा ( १ र २ ), सिरहा(क्षेत्र नं.३), सप्तरी, धनुषा(क्षेत्र नं. ३ र ४), कञ्चनपुर (क्षेत्र नं. ३), सिन्धुपाल्चोक, नुवाकोट, बांके(क्षेत्र नं. ३), सुर्खेत (क्षेत्र नं. २), डडेल्धुरा, खोटाङ (सभापति रिक्त भएको कारण) सर्लाही(सभापति रिक्त भएको कारण)लगायतका केही जिल्लामा विभिन्न कारणले नवीकरणमा समस्या उत्पन्न भएको छ। 

६७४३ वडामध्ये विभिन्न कारणले नवीकरण बांकी रहेका मात्र २६८ वडामध्ये हाल २२७ वटा वडामा नवीकरणको प्रक्रियामा रहेको छ । ३ वटा निर्वाचन क्षेत्र (वारा १ र २, रुपन्देही ४ मर्चवारी गापा वडा नं. ४ सहित) लगायत ४१ वटा वडामा नवीकरण शुरु हुन सकेको छैन।

महाधिवेशन समयमा हुँदैन भन्ने भाष्यका कारण नवीकरण विवरण बुझाउन भएको ढिलाई महाधिवेशनको कार्यतालिका टुङ्गिएको एक हप्तामा नै नविकरण सकिन्छ। 

नयाँ क्रियाशील सदस्यताको हकमा २ लाख १७ हजार ९०१ नयाँ फारम २०८० मा नै जिल्लामा पठाइसकेको छ । नयाँ सदस्यता वितरण खुल्ला र सहज बनाउने, नेपाली कांग्रेसको क्रियाशील सदस्य बन्न चाहाने मापदण्ड पुगेका नेपाली नागरिकलाई सहज ढङ्गले क्रियाशील सदस्यता प्रदान गर्ने ब्यबस्था गरौं। नयाँ क्रियाशील वितरणको लागि ६७४३ वटै वडाबाट फारम भर्ने र प्रतिनिधिसभा क्षेत्रबाट सदस्यता प्रदान गर्ने गरी पुनः कार्तिक २१ देखि मंसिर १० गतेसम्म समय प्रदान गर्न सकिन्छ। यसका लागि सवै वडा र क्षेत्रमा छुट्टै ID Password उपलब्ध गराउने गरी सिष्टम तयारी अबस्थामा छ। यसले जेनजी लगायत नयाँ पुस्ताका साथीहरूलाई सदस्यता प्रदान गर्न सहज बाटो खुल्छ । 

यो तथ्यले नै देखाउँछ सदस्यता नविकरण र वितरण प्रक्रियामा सन्दर्भमा हामी पहिलेको भन्दा अनुकुल अबस्था छौं । महाधिवेशनको कार्यतालिका टुङ्गियो र हामी एकबद्ध भएर अधिवेशन प्रक्रियामा होमियौं भने सदस्यताको काम २ हप्तामा गर्न सकिन्छ, सक्छौं । 

१०. १५औं महाधिवेशनको प्रस्तावित कार्यतालिका 

नेपाली कांग्रेसको विधानको धारा १७ उपधारा (१) र धारा ४३ को ब्यबस्था अनुसार २०७८ मंसिरमा सम्पन्न नेपाली कांग्रेसको चौधौं महाधिवेशनबाट निर्वाचित वर्तमान कार्यसमितिको ४ बर्षे कार्यकाल आगामी २०८२ पौषमा समाप्त हुने हुँदा विधानको धारा १७(१) बमोजिम देहायको मितिमा पार्टीको १५औं महाधिवेशन सम्पन्न गर्ने। 

महामन्त्रीको प्रस्ताव र कार्यतालिकाGK082.7.18_page-0013महामन्त्रीको प्रस्ताव र कार्यतालिकाGK082.7.18_page-0014महामन्त्रीको प्रस्ताव र कार्यतालिकाGK082.7.18_page-0015

नोटः 

१. केन्द्रीय निर्वाचन समितिले धारा ३५ (२) (च) अनुसार निर्वाचनको विस्तृत क्यालेण्डर बनाउने त्यसो गर्दा महाधिवेशन समयमा नै सम्पन्न गर्ने सहजताको लागि वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन, तथा प्रतिनिधिसभा क्षेत्रीय समिति र महाधिवेशन प्रतिनिधि चयन गरी सिधै केन्द्रीय महाधिवेशन हुनेगरी कार्यतालिका बनाउने। यी सम्बन्धित बाहेक अन्य तहगत कार्यसमितिको चयन केन्द्रीय महाधिवेशनपछि गर्न सकिन्छ। 

२. यदी वडा देखि केन्द्रसम्म सवै तहको कार्यसमितिको निर्वाचन गर्ने हो भने मंसिर अन्तिम साता गाउँनगरपालिका र पौष दोस्रो साता जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गर्नेगरी पौष १६मा केन्द्रीय महाधिवेशन सम्पन्न गर्नेगरी बैकल्पिक परिमार्जित कार्यतालिका समेत तयार छ। 

११. विधान संसोधनको विषय 

नयाँ परिस्थितमा पार्टीको आमूल सुधार गर्न, सदस्यता खुला र प्रक्रिया सहज बनाउदै नेतृत्व चयन र निर्णय प्रक्रियामा सदस्यको निर्णयक भुमिका स्थापित गर्न, तहगत प्रतिनिधि र नेतृत्व चयन प्रक्रियाको विधि र संरचना, उम्मेदवार चयनमा प्राइमरीको व्यवस्था, भ्रातृ तथा सुभेच्छुक संस्था संचालन, प्रदेश कार्यसमितिको अधिकार र जिम्मेवारी, पार्टी प्रवेश र जिम्मेवारी र शासकीय पदको अबधि, ल्याटरल इन्ट्री र जरैदेखी समावेशीता, पार्टीको संरचनागत परिवर्तन लगायतका दर्जनौं विषयमा सघन छलफल गरी विधानको संसोधन गर्नुपर्नेछ। तयारी गर्न विधान संसोधन मस्यौदा समिति बनाउने।तत्कालका लागि महाधिवेशनकै लागि देहायका विषय संवोधन गर्नुपर्दछ। यसको लागि केन्द्रीय कार्यसमितिले विधानको धारा २२(२) बमोजिम अन्य आवश्यक निर्णय गर्ने। 

पार्टीको सवै तहमा जेनजी लगायत नयाँ पुस्ताको सार्थक सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न, जरैदेखी समावेशी बनाउँदै निर्णय प्रक्रियामा पहुँच पुग्नेगरी पार्टी संरचनाको विकास गर्ने। विद्यमान संरचनालाई चुस्त र प्रभावकारी बनाउने। 

सवै तहको नेतृत्व अनिवार्य रुपमा तल्लो तहबाट निर्वाचित भएर आउनुपर्ने व्यवस्था गर्ने। 

वडादेखि नै ३० वर्ष मुनीको नव पुस्ता लगायत युवाको सार्थक सहभागिता र प्रतिनिधित्व, केन्द्रीय समितिमा निश्चित प्रतिशत नव युवाको प्रतिनिधित्व सुनिश्चित गर्ने 

ल्याटरल इन्ट्री-पार्टीको केन्द्रीय समितिदेखि विभिन्न तहमा हरेक क्षेत्रका विज्ञ, पेसा र विधागत प्रतिनिधित्व को लागि छुट्टै निश्चित संख्याको अनुपातमा कलस्टरको व्यवस्था गर्ने। 

प्राइमरीको ब्यबस्था : क्रियाशील सदस्यले स्थानीय तहको नेतृत्व र क्षेत्रीय प्रतिनिधि छनोट गर्दा नै आफ्नो क्षेत्रबाट कम्तिमा एक महिला, एक युवा सहित विभिन्न कलष्टरका व्यक्तिहरू मध्ये आफुले आगामी निर्वाचनमा उम्मेदवारको रुपमा छनोट गर्न चाहेका व्यक्तिलाई संभाव्य उम्मेदवारको रुपमा प्राथमिकीकरण गरेर सूचीकृत गर्ने। पार्टीको उम्मेदवार छनोट गर्ने निलकायले क्रियाशील सदस्यले प्राथमिकीकरण गरी सुचीकृत गरेको यो छनोटलाई नै आधार मान्ने। 

१२. विशेष केन्द्रीय महाधिवेशनको विषयः 

अहिले विशेष र असामान्य परिस्थिति भएको हुँदा महाधिवेशनको विकल्प नरहेकोले माथी प्रस्ताव गरेका सवै विकल्प र कार्यतालिकामा उल्लेखित समयभित्र विधानको धारा १७ (१) बमोजिम नियमित १५औं महाधिवेशन नगर्ने हो भने हाम्रा लागि विशेष केन्द्रीय महाधिवेशन निर्विकल्प बाटो हुन्छ। विशेष केन्द्रीय महाधिवेशनको माग गर्दै ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिले केन्द्रीय कार्यसमितिमा निवेदन दिइसकेको अबस्था समेत छ। यही केन्द्रीय कार्यसमितिको वैठकबाट विधानको धारा १७(२) मा भएको व्यबस्था अनुसार २०८२ मंसिर मसान्तभित्र विशेष केन्द्रीय महाधिवेशनको गर्ने निर्णय गर्नुपर्छ । 

विशेष केन्द्रीय महाधिवेशनबाट माथी उल्लेखित कार्यभार पुरा गरौं, विधान परिमार्जन गरौं, निर्वाचनमा जाऔं बाकी पार्टीका आन्तरिक विषय महाधिवेशनपछि गरौंला ।

अन्त्यमा 

साथीहरूलाई लागेको होला हाम्रो महत्वाकांक्षा सिद्ध गर्न मात्रै यो सबै कुरा बोलिरहेका छौं। हामी त पार्टी महामन्त्रीका रूपमा सुविधाजनक अवस्थामा नै छौं। तर हामीलाई हाम्रो पार्टीकाप्रतिको, नयाँ पुस्ताप्रति र देशका प्रतिको जिम्मेवारी र कर्तव्य बोधले बेचैन र अधीर बनाएको छ। म, देशका प्रतिको जिम्मेवारी पूरा गर्न पार्टीको कार्यकारी पद त्यागेर साधारण सदस्य मात्र भएर रहन पनि तयार छु। 

तपाईंहरू सबैलाई थाहा नै छ, विगतमा मैले पोखरामा नेविसंघको अधिवेशन नभएपछि चितवनमा त्यो अवस्था पुनरावृत नहोस् भनेर अध्यक्ष पदमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेको तथ्य र सत्य यहाँहरूका सामु छर्लङ्ग नै छ। म पार्टीलाई बीपी कोइरालाले भनेको जस्तो इतिहासको गतिशील औजार बनाउने कुरामा प्रतिबद्ध छु र त्यो प्रयोजनका लागि म सबै कुरा कुर्बान गर्न तयार छु । त्यसैले हामी पार्टीलाई नयाँ दिशा दिनको लागि नयाँ जीवन प्रदान गर्नको लागि संकल्प र आस्थाले प्रतिबद्ध भएर महाधिवेशन सम्पन्न गरौं। 

हामी दुई महामन्त्रीको बुझाइ हो - महाधिवेशन नगरी जाँदा पार्टीलाई प्रश्नै प्रश्नले घेर्छ, हामी उत्तर लिएर निर्वाचनमा जानैपर्छ, यसका लागि महाधिवेशन अपरिहार्य छ। यदी दुई महामन्त्री नलड्ने भन्दा तयार हो भने महाधिवेशन गरौं, तपाईहरू मध्ये कोही जिम्मेवारी लिएर जानुहोस्। हामी त तयार छौं, के तपाईंहरू तयार हो? 

तर, अब ढिलो गर्ने बेला होइन, निर्णय गर्ने बेला हो । 

यदि हामीले अहिले हिम्मत देखायौं, युगको आवाज सुन । यौं र निर्णय गर्यो भने कांग्रेस फेरी जनताको विश्वास जित्न सक्छ 'नयाँ रूप, नयाँ सोच, नयाँ लक्ष्यसहित ! 

यदि हामी डरायौं भने, इतिहासले हामीलाई दुत्कार्ने छ 'यो पुस्ता जसले महान पार्टीको उत्तराधिकार पायो, तर नयाँ युगको जिम्मेवारी पुरा गर्न सकेन। हामीलाई त्यो असफल पुस्ता बन्ने छूट र सुविधा छैन्। 

अब कांग्रेसले पुनः सिद्ध गर्नुपर्छ 'हामी चुनाव वा पदका लागि होइन, देशका लागि लड्छौं।हामी सत्ताका लागि होइन, सुधारका लागि उठ्छौं। यो हाम्रो यस्तो युगिन क्षण हो, देशलाई भन्नको लागि; 

“यो उही कांग्रेस होइन। यो नयाँ कांग्रेस हो -जिम्मेवार, सुधारमुखी र भविष्यप्रति प्रतिवद्ध ।”

नयाँ कांग्रेस, नयाँ नेपाल। 

मूल्यमा निरन्तरता 

-अभ्यासमा परिवर्तन । 

नेपाली राजनीतिको नयाँ अध्यायलाई नेपाली कांग्रेसले जन्मजात चारित्रिक गुणअनुसार ऐतिहासिक परम्परालाई निरन्तरता दिँदै नेतृत्व गर्नेछ । चालु केन्द्रीय कार्यसमितिको बैठकमार्फत राष्ट्रिय आवश्यकता अनुसार समय काल र परिस्थितिलाई बुझेर भावी कदम तय गर्नुमा नै हाम्रो सफलता र पार्टीको भविष्य सन्नीहित छ। 

सोही दिशामा, सामूहिक अनुष्ठानमा केन्द्रीय कार्यसमितिका साथीहरूसँग साथ र सहयोग अपेक्षा गरेको छु। भविष्य हाम्रो हो र नेपाली कांग्रेसले नै देशलाई नयाँ युगको नेतृत्व प्रदान गर्नेछ। 

तपाईं हामी सबैको सामूहिक यत्न र कोसिसबाट त्यो सबै सम्भव हुनेछ। हामी त्यो गराएर छाड्नेछौं। 

धन्यवाद, 

जय नेपाल ! 

तपाईंको साथी, 

गगन थापा 

महामन्त्री 

२०८२ कार्तिक १८

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गगन थापा
गगन थापा
लेखकबाट थप