शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
विकास निर्माण

सूर्यविनायक–धुलिखेल सडक : यात्रुले अझै धुलो र हिलोको सास्ती खेप्नुपर्ने

बिहीबार, २० कात्तिक २०८२, ०७ : २४
बिहीबार, २० कात्तिक २०८२

सारांश

  • भक्तपुरको सूर्यविनायक-धुलिखेल सडक विस्तारको काम सुस्त गतिमा अघि बढिरहेको छ, जसले गर्दा म्याद थपको तयारी गरिएको छ।
  • सडक विस्तारमा साइट क्लियरको काम समयमा नसकिएका कारण ढिलाइ भएको र निर्माण कम्पनीलाई कुनै हर्जना नलाग्ने आयोजना प्रमुखले बताए।
  • सूर्यविनायक-साँगा खण्डमा ४० प्रतिशत र साँगा-धुलिखेल खण्डमा ५५ प्रतिशत मात्र भौतिक प्रगति देखिएको छ।

काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक– धुलिखेल सडक विस्तार कार्यमा सुस्त प्रगति देखिएको छ । साइट क्लियरको काम समयमै नसकिँदा समग्र आयोजनाको निर्माण कार्य आधा पनि पुग्न सकेको छैन । आयोजनाले अब आउँदो २०८३ असार मसान्तसम्म काम सक्ने गरी म्याद थपको तयारी गरेको छ ।

सूर्यविनायक–धुलिखेल सडक आयोजनाका प्रमुख विजय कुमार महतोका अनुसार आयोजनाको पहिलो प्याकेजको म्याद मंसिर १८ र दोस्रोको पुस २४ मा सकिँदै छ । 

आयोजनाले दुवै ठेक्काको म्याद असार मसान्तसम्म थप्ने तयारी गरेको छ । ‘म्याद थप्नेबारे छलफल भइरहेको छ,’ महतोले भने, ‘हामी एसेसमेन्ट गर्दै छौँ । एसेसमेन्ट गरेपछि उसको कति थप्नुपर्न आवश्यक छ, कति उसले थप्दाखेरी पुग्छ र कति मर्का पर्‍या छ त्योअनुसार थप्छौँ । कति दिन उसले काम गर्न पाएन, यी विषयहरू निकालेर त्योअनुसार म्याद थप पाउँछौँ । हामीले ठेकेदार कम्पनीहरूलाई असारभन्दा उता काम नलैजान दबाब दिएका छौँ ।’

आयोजनाकै कारण निर्माणमा ढिलाइ भएको, आयोजनाले समयमा साइट क्लियरका काम नगरेकाले निर्माणमा ढिलाइको दोष ठेकेदारलाई दिन नमिल्ने उनको भनाइ छ । यही कारणले म्याद थप गर्दा निर्माण कम्पनीलाई कुनै हर्जना लाग्ने छैन । 

उनले स्पष्ट पारे, ‘हाम्रै कारण ढिलो भएको छ, समयमा बिजुलीका पोल सारिदिएनौँ, घरटहराहरू समयमा हटाइदिएनौँ । लामो समयदेखि सार्वजनिक जग्गा अतिक्रमण गरेर बसोबास गरेका मानिसहरू हत्तपत्त मान्दैनन् । घर टहरामा मुआब्जा वितरण नगरी हटाउनुपर्ने चुनौती थियो । अब अर्को विद्युत् प्राधिकरणसँग इन्टर एजेन्सी कोअर्डिनेसनको कमी भयो । हामीले भन्नबित्तिकै उसले हटाइदिएन । यस कारणले यो सडक विस्तारमा ढिलाइ भयो ।’

सडक सीमाभित्र सार्वजनिक जग्गामा बनेको हुनाले सरकारले यी घरटहराका लागि मुआब्जा नदिने निर्णय गरेसँगै बिनामुआब्जा हटाएको हो ।

यी विविध समस्या आयोजनाले समाधान गर्न नसक्दा सडक विस्तारमा ढिलाइ भएको र निर्माण कम्पनीको कुनै दोष नभएको उनको भनाइ छ । 

सडक खण्डलाई मुख्य सडक र सर्भिस लेन गरी ६ लेनम विस्तार गर्न भक्तपुरको सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा विभाजन गरिएको छ । यो सडक खण्ड विस्तार भएपछि काठमाडौँ उपत्यकाबाट पूर्वी पहाडी र तराई जिल्ला र चीनसँगको तातोपानी नाकासम्मको यात्रा सहज हुने अपेक्षा गरिएको छ । तर निर्माणको सुस्त गतिले यात्रुहरूले अझै केही समय धुलो र हिलोको सास्ती खेप्नुपर्ने देखिएको छ ।

सूर्यविनायक–साँगा खण्ड ४० प्रतिशत काम 

यो सडकको कुल लम्बाइ १५.८ किलोमिटर छ, जसलाई दुई खण्डमा विभाजन गरेर काम भइरहेको छ, जसमध्ये एउटा खण्ड हो– सूर्यविनायक–साँगा । यो खण्डको दूरी ७.५ किमि छ । उक्त खण्ड स्तरोन्नतिका लागि आशिष–कुमार श्रेष्ठ–बन्धन भगवती जेभीले २०७९ पुस २४ गते जिम्मा लिएको हो । जसको ठेक्का रकम ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ छ । यस खण्डको प्रगति ३७ प्रतिशत र म्याद २०८२ पुस २७ सम्म मात्र छ । हालसम्म यसको भौतिक प्रगति ४० प्रतिशत पुगेको आयोजनाले जनाएको छ । 

साँगा–धुलिखेल खण्डमा ५५ प्रतिशत 

दोस्रो खण्ड साँगा–धुलिखेलमा ५५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । दोस्रो प्याकेजअन्तर्गत बनेपा–धुलिखेल क्षेत्रमा करिब चार किलोमिटर सडक कालोपत्रे भए पनि अधिकांश काम बाँकी छ ।

साँगा–धुलिखेल  खण्डको दूरी ८.३ किमि छ । लामा कन्स्ट्रक्सनले २०७९ मंसिर १८ मा ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा उक्त खण्डको ठेक्का लिएको हो । निर्माण प्रगति ४८ प्रतिशत रहेको यस खण्डको म्याद भने आगामी मंसिर १८ सम्म रहेको छ । 

साइट क्लियरको काम अझै १० प्रतिशत बाँकी 

आयोजना प्रमुख महतोले सडक विस्तारमा ढिलाइ हुनुको मुख्य कारण साइट क्लियरको काम नसकिनु भएको आयोजना प्रमुख महतोले बताएका छन् । 

उनका अनुसार हालसम्म ९० प्रतिशत साइट क्लियरको काम सकिएको छ । अझै १० प्रतिशत साइट क्लियरको काम बाँकी छ । जसमा करिब १०–१२ वटा घर–टहरा र बिजुलीका पोलहरू हटाउन बाँकी छ ।

‘घरटहरा, पोलका कामहरू मेजर ठाउँमा सकियो, अरू अलिअलि अझै सार्नै बाँकी छ,’ महतोले भने, ‘साथै, मुआब्जा दिनु नपर्ने अतिक्रमण गरिएका संरचना हटाउँदा स्थानीयबाट अवरोध आएकाले पनि काममा ढिलाइ भयो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप