बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
उच्चस्तरीय जाँचबुझ आयोग

आयोगमा रविको बयान : माथिबाट आदेश आएपछि तपाईं गइदिनुस् भनियो

साथीहरुले पत्र पायौँ भनेपछि जेलबाट निस्केँ
बिहीबार, २० कात्तिक २०८२, १३ : ०८
बिहीबार, २० कात्तिक २०८२

सारांश

  • रास्वपा सभापति रवि लामिछानेले नख्खु कारागारका जेलरको भन्दा फरक बयान दिए।
  • उनले भदौ २४ मा आफूलाई जेलबाट रिहा गर्न माथिबाट आदेश आएको दाबी गरे।
  • जेलरले भने लामिछाने निस्केको डेढ घण्टापछि आफूलाई पत्रमा हस्ताक्षर गर्न लगाइयो।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नख्खु कारागारका जेलरले भन्दा विपरीत बयान दिएका छन् । सहकारीको रकम हिनामिना गरेको कसुरमा थुनामा रहेका लामिछानेले बुधवार गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा करिब ७ घण्टा १५ मिनेट बयान दिएका हुन् ।

जेनजी प्रदर्शन नियन्त्रण बाहिर गएपछि भदौ २४ मा आफूलाई जेलबाट रिहा गर्न ‘माथिबाट नै आदेश गरिएको’ लामिछानेले दाबी गरेका छन् ।

पार्टीका उपसभापति डीपी अर्याल र पत्नी निकितालाई पहिल्यै खबर गरेर बोलाइएको लामिछानेले बताएका छन् । उनले बयानमा भनेका छन्, ‘डीपी अर्याल र मेरी श्रीमतीलाई पहिल्यै खबर गरेर बोलाउनुभएको रहेछ ।’

कारागार बाहिर सवा घण्टा पर्खेर माइक मागेर आन्दोलनकारी लाई आफूले सम्झाएको उनले बताएका छन् । बयानमा उनले भनेका छन्, ‘आन्दोलनकारीलाई सम्झाउँदै गर्दा साथीहरूले पत्र पायौँ भनेपछि म निस्केँ ।’

तर, नख्खु कारागारका जेलर सत्यराज जोशीले भदौ २४ मा प्रदर्शनकारीले कारागार घेरेर रविलाई निकालेको डेढ घण्टापछि आफूलाई पत्रमा हस्ताक्षर गराइएको जिकिर गरेका थिए । बयानमा जोशीले भनेका थिए, ‘लामिछाने निस्केको डेढ घण्टापछि मलाई पत्र ल्याएर हस्ताक्षर गराए, सुरक्षा चुनौतीको कारण पत्रको ब्यहोरा हेरिनँ ।’

जोशीले पत्र आफूले नहेरेको बरु मार्ने डरले हस्ताक्षर गरेको आयोगका पदाधिकारीहरूसँग बताएका थिए । नख्खु कारागारबाट बाहिरिएपछि लामिछानेले सार्वजनिक गरेको पत्र ‘विवादित’ बनेको थियो । जेलरले जोशीले हस्ताक्षर गरेको पत्रमा सहकारीसँग जोडेर गरिएको राजनीतिक मुद्दा फिर्ता लिन समय लाग्ने हुनाले गृह सचिवको आदेश अनुसार थुनामुक्त गरिएको उल्लेख थियो । जेनजी प्रदर्शनतर्फ संकेत गर्दै पत्रमा भनिएको थियो, ‘थुनामा राख्दा थप अन्याय हुन जाने तथा देशमा अमन चयन थप खलबल पर्ने हुँदा निजलाई तत्काल थुना मुक्त गर्न निर्णयअनुसार जानकारी गराइन्छ ।’

कारागारबाट निस्केपछि आफूले तीनवटै सुरक्षा निकायका प्रमुखहरूलाई जानकारी गराएको लामिछानेले बयानमा खुलाएका छन् । उनले भनेका छन्, ‘अदालतमा पनि इमेल मार्फत जानकारी गराएको छु ।’

पत्रबारे आफ्नो विरुद्ध अफवाह फैलाइएको लामिछानेको दाबी छ । उनले भनेका छन्, ‘मेरा विरुद्ध अफवाह फैलाइयो ।’ रविको बयान पुरा भएको आयोगका एक जना पदाधिकारीले जानकारी दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप