बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मधेसमा स्वास्थ्यकर्मी आन्दोलनः सहमतिको बाटो खोज्न निजी अस्पताल संघको अपिल

बिहीबार, २० कात्तिक २०८२, २० : १४
बिहीबार, २० कात्तिक २०८२

सारांश

  • मधेस प्रदेशमा स्वास्थ्यकर्मीको आन्दोलन चर्किएपछि एपीएचआईएनको ध्यानाकर्षण भएको छ, र उनिहरुले काममा फर्किन आग्रह गरेका छन्।
  • संघले स्वास्थ्यकर्मीको पारिश्रमिकसम्बन्धी नीति बनाउन सरकारलाई सुझाव दिँदै, आन्दोलनका कारण सेवा अवरुद्ध भएकोमा चिन्ता व्यक्त गरेको छ।
  • एसोसिएसनले निजी अस्पतालहरूले नागरिकलाई सुलभ स्वास्थ्य सेवा पुर्याउन खेलेको भूमिकाको प्रशंसा गर्दै स्वास्थ्यकर्मीको हकको संरक्षण गर्नुपर्ने बताएको छ।

जनकपुरधाम । मधेस प्रदेशमा स्वास्थ्यकर्मीको आन्दोलन चर्किएपछि एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (एपीएचआईएन) ले गम्भीर ध्यानाकर्षण जनाएको छ । संघले स्वास्थ्य सेवाको संवेदनशीलता बुझेर काममा फर्किन स्वास्थ्यकर्मीहरूलाई अपिल गरेको छ । 

संघीय सरकारले गठन गरेको पारिश्रमिक अध्ययन समितिको प्रतिवेदन नआएसम्म संयमता अपनाउन संगठनले आग्रह गरेको हो । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कात्तिक १६ गते सार्वजनिक गरेको विज्ञप्तिमा प्राडा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा अस्पताल वर्गीकरण तथा पारिश्रमिक कार्ययोजना तयार गर्ने समिति गठन भएको उल्लेख छ । सो समितिलाई एक महिनाभित्र स्वास्थ्यकर्मीको पारिश्रमिकसम्बन्धी नीति तथा कार्ययोजना तयार पार्ने जिम्मेवारी दिइएको छ । 

जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा एसोसिएसनका अध्यक्ष डा. एस के सिंहले आन्दोलनका कारण जनस्वास्थ्य सेवामा बाधा पुगेको बताए । ‘निजी अस्पतालहरू सञ्चालनमा ल्याउन र गुणस्तरीय स्वास्थ्य सेवा जनतासम्म पुर्‍याउन स्वास्थ्यकर्मीहरूको भूमिका अमूल्य छ,’ उनले भने, ‘उनीहरूको सम्मानजनक पारिश्रमिक पाउने हक स्वाभाविक हो । तर आन्दोलनका कारण सेवा अवरुद्ध हुँदा सर्वसाधारण नागरिक प्रभावित भइरहेका छन्, जुन हाम्रो साझा उद्देश्यविपरीत हो ।’ 

डा. सिंहका अनुसार संगठनले अस्पतालहरूको आर्थिक क्षमता, सेवाग्राहीको भुक्तानी क्षमता र स्वास्थ्यकर्मीको श्रम मूल्यलाई सन्तुलनमा राख्दै व्यवहारिक समाधान खोज्न सरकार र सम्बन्धित पक्षलाई सुझाव दिएको छ । उनले भने, ‘अस्पताल, स्वास्थ्यकर्मी र सरकारबिच संवाद र सहकार्य नै दीर्घकालीन समाधान हो । हामी सरकारको निर्णयप्रति आशावादी छौँ र त्यसको कार्यान्वयनमा सहयोग गर्नेछौँ ।’
संगठनका सचिव हरिश्चन्द्र यादवले पनि निजी अस्पतालहरूमा आर्थिक दबाब रहेको स्वीकार गर्दै भने, ‘निजी अस्पतालहरू आर्थिक चुनौतीमा छन्, तर यसले स्वास्थ्यकर्मीको अधिकार कुण्ठित हुनु हुँदैन । उनीहरूलाई सम्मानजनक पारिश्रमिक दिनुपर्ने हाम्रो साझा धारणा हो ।’ 

उनले आन्दोलनरत स्वास्थ्यकर्मीहरूलाई अस्पताल व्यवस्थापनसँग संवाद गरेर सेवा निरन्तरता दिन आग्रह गरे । यादवले जोड दिए, ‘सेवाको निरन्तरता नै हाम्रो पहिलो दायित्व हो । जनताको स्वास्थ्य अधिकारमा कुनै अवरोध आउनु हुँदैन ।’ 

एसोसिएसनले मधेस प्रदेशको सामाजिक र आर्थिक अवस्थालाई ध्यानमा राख्दै सबै वर्गका नागरिकलाई सुलभ शुल्कमा स्वास्थ्य सेवा पुर्‍याउन निजी क्षेत्रले निभाएको भूमिकाको प्रशंसा पनि गरेको छ । 
विज्ञप्तिमा भनिएको छ, ‘सबै समूह, वर्ग र तहका जनसमुदायलाई सुलभ शुल्कमा स्वास्थ्य सेवा पुर्‍याउन निजी क्षेत्रका अस्पतालहरूले निरन्तर योगदान दिँदै आएका छन् । यो जिम्मेवारी पूरा गर्न स्वास्थ्यकर्मीको भूमिका अपरिहार्य छ ।’ 

हाल मधेस प्रदेशका विभिन्न निजी अस्पतालहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूले पारिश्रमिक असमानता, न्यून तलब र करार सेवाको अस्थिरताविरुद्ध आन्दोलन थालेका छन् । उनीहरूले निजी र सरकारी दुवै क्षेत्रका स्वास्थ्यकर्मीबिच समान मूल्यांकन र पारिश्रमिकमा समानता कायम गर्न माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप