कञ्चनपुरमा मुक्त हलिया पुनः स्थापनको कार्य अलपत्र
सारांश
- कञ्चनपुरमा मुक्त हलियाको पुनः स्थापनाको कार्य अझै टुङ्गोमा पुग्न सकेको छैन, स्थानीय तहलाई जिम्मेवारी हस्तान्तरण भएको सात वर्ष बितिसक्दा पनि कामले गति लिन सकेको छैन।
- कोरोना महामारी र बजेट अभावका कारण 'क' श्रेणीका हलियाको घर निर्माण तथा जग्गा खरिदको काम रोकियो, जसले गर्दा रकम फिर्ता भयो र बजेट विनियोजन हुन सकेन।
- रोजगारीको अभावका कारण कतिपय मुक्त हलिया परिवार भारत पलायन भएका छन् भने कतिपयले घरमा ताला लगाएर हिँडेका छन्।
कञ्चनपुर । कञ्चनपुरमा मुक्त हलियाको पुनः स्थापनाको कार्य अझै टुङ्गोमा पुग्न सकेको छैन । स्थानीय तहलाई जिम्मेवारी हस्तान्तरण गरिएको सात वर्ष बित्नै लाग्दा पनि पुनः स्थापनाको कार्यले गति लिन नसकेको हो ।
राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष सिवी लुहारले हलिया पुनः स्थापन समस्या समाधान समिति रहँदा पुनः स्थापनाको कार्य अगाडि बढेको भए पनि २०७६ सालमा सो जिम्मेवारी स्थानीय तहलाई हस्तान्तरण गरेपछि कार्य ठप्प भएको बताए ।
“स्थानीय तहले ‘क’ श्रेणीका एक सय ६१ जना मुक्त हलियालाई घर निर्माणसँगै जग्गा खरिद गरी पुनः स्थापना गर्ने जिम्मेवारी पाएको थियो”, उनले भने, “तर त्यसै समयमा कोरोना महामारीका कारण काम रोकियो, केन्द्रले पठाएको रकम पनि खर्च व्यवस्थापन गर्न नसक्दा फिर्ता भयो, त्यसपछि बजेट नै विनियोजन भएन ।”
अध्यक्ष लुहारका अनुसार ‘ख’ र ‘ग’ श्रेणीका सात सय २३ जना मुक्त हलियाले पहिलो किस्ताबापतको रकम त पाए, तर दोस्रो किस्ता पाउन सकेका छैनन् । घर मर्मतका लागि रकम नपाउँदा धेरै हलिया परिवार अझै पनि असुरक्षित रूपमा झोपडीमै बस्न बाध्य छन् ।
“मन्त्रालयबाट रकम पठाउने कार्य रोकिएपछि पुनः स्थापनाको सम्पूर्ण प्रक्रिया अलपत्र परेको छ”, उनले भने, “मुक्त हलिया अझै पनि कठिन जीवन बिताइरहेका छन् ।”
मुक्त हलिया अगुवा अन्तराम वडाका अनुसार पुनः स्थापन गरिएका एक हजार आठ सय ३० परिवारमध्ये केही रोजगारीको अभावका कारण बस्ती छाडेर भारततर्फ पलायन भएका छन् । “कतिपयले घरमै ताला लगाएर भारत गएका छन् भने केही परिवारमा महिला, बालबालिका र वृद्धहरू मात्र बाँकी छन्”, उनले भने ।
हाल कञ्चनपुरमा एक हजार ९९१ जना मुक्त हलियाले परिचयपत्र प्राप्त गरेका छन् । जसमा ‘क’ श्रेणीका तीन सय ९४, ‘ख’ श्रेणीका सात सय ९९, ‘ग’ श्रेणीका ६४ र घ’ श्रेणीका सात सय ३४ जना रहेका छन् । सुदूरपश्चिमका दार्चुला र बझाङ जिल्लामा मात्र पुनः स्थापनाको कार्य पूरा भए पनि अन्य जिल्लामा भने यो प्रक्रिया अझै अधुरो रहेको मुक्त हलिया समाजले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण