हाम्रो समाज नायक खोज्ने र देवत्वकरण गर्ने समाज हो : रेणुका जिसी
सारांश
- लेखिका रेणुका जिसी शिक्षण पेशामा छिन् र गजल, कविता तथा कथा लेख्छिन्।
- उनको कथा लेखनमा समाजमा हुर्किरहेका पीडा र छटपटीका विषयवस्तुलाई प्राथमिकता दिइएको छ।
- जिसीले महिला लेखकका कृतिहरूको चर्चामा कन्जुस्याइँ हुने गुनासो गरिन् र आगामी योजनाबारे बताइन्।
गजल, कविता र कथा लेखनमा रमाउने रेणुका जिसी लामो समयदेखि शिक्षण पेसामा आबद्ध छिन् । रौतहटस्थित श्री जनशक्ति माध्यमिक विद्यालयकी प्रधानाध्यापक उनको ‘ज्वलनका अभिव्यक्ति’ गजल सङ्ग्रह (०६२), ‘सनेस’ कथासङ्ग्रह (०७९) प्रकाशित छ ।
बाह्रखरी कथा लेखन प्रतियोगिता ०७८ मा जिसीको ‘मुडुली’ कथा तृतीय स्थानमा रहेको थियो । यसका साथै ०८१ मा उनका ‘विजेता खै ?’ र ’चमत्कारी घडी’ बालकथा प्रकाशित छन् । उनै जिसीसँग रातोपाटीका लागि रमा सुवेदीले ‘नौ प्रश्न’ शृङ्खलाका लागि गरेको कुराकानी ।
१. तपाईं वास्तवमा किन लेख्नुहुन्छ र के कुराले लेख्न प्रेरित गर्छ ?
यसमा सबै लेखकले दिने जवाफ प्रायः एउटै हुन्छ होला । कतिपय अर्थमा मनका भावनाहरूलाई पोख्न, कतिपय अर्थमा आफूले उठाएका विषयवस्तुमा पाठकको ध्यानाकर्षित गर्न लेखिन्छ होला । म पनि त्यही सोचाइका साथ लेख्ने गर्छु । म आफू शिक्षक पनि भएकाले समाजसित मेरो नियमित उठबस र विमर्श हुन्छ । यस क्रममा म समाजभित्र हुर्किरहेको पीडा, छटपटी र उकुसमुकुससित परिचित छु । तिनै उकुसमुकुस बोकेर बाँचिरहेका व्यक्ति नै मेरा प्रेरणा श्रोत हुन् ।
२. अन्तिम पटक कुन कृति पढ्नु भयो र कस्तो थियो ?
पुस्तक पढ्नु एक प्रकारको थेरापी जस्तै हो मेरा लागि । अहिले भने मेरो पेसा र जिम्मेवारीमा सहयोग पुर्याउने खालका सामग्री पढिरहेकी छु । साहित्यिक कृतिको हकमा भन्नुपर्दा कार्य व्यस्तताले गर्दा पढ्छु भनेर सङ्कलन गरेका किताब जति सबै पढ्न सकेकी छैन तथापि यो वर्षको दसैँ बिदामा केही महिला लेखकका कृति पढेँ ।
मलाई बेला–बेला हाम्रो लेखनवृत्तमा महिलाले लेखेका कृतिहरूको यथेष्ट चर्चा–परिचर्चा गर्न कन्जुस्याइँ गरिन्छ भन्ने लाग्छ । महिला लेखकबाटै पो कन्जुस्याइँ बढी गरियो कि भन्ने पनि लागि रहन्छ । त्यसैले अरूबाट अपेक्षा गर्नु भन्दा आफूबाटै सुरुवात गर्नु राम्रो हो भन्ने लाग्यो । यो वर्षको दसैँ बिदामा राधिका कल्पितको ‘सम्मोहन’, रन्जु दाहालको ‘डोहोडोहो डोल्पो’, कुमारी लामाको ‘दज्र्यु संलाप’, दीपा दाहालको ‘विजयिनी’, उमा सुबेदीको ‘परिधि’, सीमा आभासको ‘महायुग’ लगायत केही कृतिहरू पढेँ । भवानी खतिवडाको ‘प्रणाम सगरमाथा’ लगायत केही पुस्तकको पर्खाइमा छु ।
पढिसकेका यी कृतिहरू मध्ये यहाँ परिधिका बारे आफ्नो पठन अनुभव साझा गर्न चाहन्छु । ‘परिधि’ उपन्यास उमा सुबेदीद्वारा लेखिएको महत्त्वपूर्ण कृति हो । आफ्ना अघिल्ला रचनाहरूमा सामाजिक यथार्थवादलाई केन्द्रमा राख्ने सुबेदी यस उपन्यासमार्फत नवीन यात्रामा निस्किएकी छन् । उनी परम्परागत लेखनलाई छोडेर जादुमयी यथार्थवादको संसारमा प्रवेश गरेकी छन् । र, यो छलाङ अत्यन्त प्रभावशाली छ ।
उपन्यासका दृश्यहरू वास्तविक जीवनका यथार्थ, समाजका व्यवहार, प्रशासन र न्याय प्रणालीसँग गहिरो रूपमा जोडिएका छन् । तर ती यथार्थहरूमा जब जादुमयी यथार्थवादको तत्त्व मिसिन्छ, त्यसले कल्पना र वास्तविकताको सीमारेखा धुमिल बनाई दिन्छ । पात्रहरूले अलौकिक घटनालाई पनि स्वाभाविक रूपमा स्वीकार गर्छन्, जसले कथा पढ्दा पाठकलाई रहस्य, थ्रिल र बौद्धिक रसास्वादन प्रदान गर्छ ।
_hNpGkdDkq6.jpg)
३. पछिल्लो समय नेपालको साहित्यक बजार र बहस कस्तो पाउनु भएको छ ?
यस विषयमा म अलमलमा छु । कहिले काहीँ आफूलाई राम्रा लाग्ने किताबले बजारै नपाएको देख्छु भने कहिले सामान्य वा औसत किताबको निकै चर्चा पाएको देख्छु । साहित्यको बजार कुन मनोविज्ञानले चल्छ भन्ने कुरामा म दिग्भ्रमित छु । त्यसमाथि देशकै राजनीतिक, सामाजिक, आर्थिक गतिविधिहरू नै साह्रै तरल छन् । यस्तोमा साहित्य कसरी प्राथमिकतामा पर्ला भन्ने चिन्ता लाग्छ । शायद साहित्यको गुणस्तरमा प्रशस्त छलफल नभएको पो हो कि ?
४. लामो समयदेखि कथा लेखिरहनु भएको छ, यसमा सबैभन्दा चुनौतीपूर्ण के लाग्छ ?
कथा लेखिरहेकी छु तर गति सुस्त छ । सुस्त गतिमै भए पनि लेखिरहेकी छु । सबै भन्दा चुनौती त आफ्नै लेखनको गुणात्मकतासित हुन्छ । एकपछि अर्को राम्रो र अर्थपूर्ण लेखन गर्न सकूँ भन्ने दबाब हुन्छ अनि लेख्नै सक्दिन । विषयवस्तु अनेक हुन्छन्, तर त्यसमा आफ्नो निजत्व कसरी स्थापित गर्ने भन्ने विषय नै मेरा लागि चुनौतीपूर्ण हो ।
५. राजधानी बाहिर बसेर साहित्य कर्म गरिरहनु भएको छ, मोफसलका लेखकले के कस्ता अप्ठ्यारो भोग्नु पर्दो रहेछ ?
इन्टरनेट र सामाजिक सञ्जालले व्यापकता पाएको समयमा केन्द्र र मोफसलको सीमारेखा कोरिरहनु पर्दैन । मोफसलमा छु भनेर कुण्ठित हुने इतिहासको कुरा भइसक्यो । बरु मलाई मोफसलमै भएकाले अनेकौँ कथाहरू र धरातलको नजिक छु भन्ने लाग्छ । मोफसल भनेको सबैले सबैलाई चिन्ने ठाउँ हो । यस्तो सामाजिक सम्बन्धको अब झनै महत्त्व बढेर गएको छ ।
काठमाडौँ वा राजधानीमा बसेका सबैले समान अवसर कहाँ पाएका होलान् र ? काठमाडौँ बाहिरै बसेर कतिपय लेखकले हस्तक्षेपपूर्ण लेखन गरिरहनु भएकै छ । हो, बरु के भन्न सकिन्छ भने हाम्रा प्रकाशन गृहहरू काठमाडौँ केन्द्रित भएकाले प्रकाशकसम्म पहुँच पुर्याउन अलिक कठिन जस्तो देखिन्छ । अन्य कुनै पनि विषयमा मोफसल काठमाडौँ भन्दा कमजोर र कमसल छैन ।
_M2Y3xpw6bU.jpg)
६. तपाईंको लेखनमा महिला जीवनका कुन पक्षहरू बढी प्रतिबिम्बित हुन्छन् ?
खासमा हाम्रो समाज नायक खोज्ने र नायकको देवत्वकरण गर्ने समाज हो । हाम्रो दृष्टिकोण कालो वा सेतो, असल वा खराब भनी छुट्ट्याउने र त्यसलाई एउटा ट्याग लगाई हाल्ने खालको छ । म पनि यही समाजको अंश भएकाले यो प्रभावबाट मुक्त हुन समय लाग्यो । पाठ्य पुस्तकमा, पर्दामा या राजनीतिमा पढेका, देखेका र छामेका नायक छाडेर परिवार र समुदायका जमिनी पात्रसँग घुलमिल हुन थालेपछि मात्रै मैले महिलाको जीवनलाई नजिकबाट बुझ्दै जान थालेँ ।
पितृसत्तात्मक सोचबाट ग्रसित समाजमा महिलालाई सहज छँदै छैन । समाजमा अहिले पनि महिला–पुरुषबिच विभेद छ । कतिपय विषयमा सीमारेखा कोरिएका छन् । कतिपय क्षेत्रमा महिलाका लागि भिन्न आचारसंहिता लागू हुन्छ । यो सबै तपाईंले जीवन व्यवहारमा भोग्न थालेपछि आक्रोश र असन्तोष पैदा हुन्छ । म त्यसैलाई कथामार्फत अभिव्यक्त गर्छु ।
पितृसत्तात्मक बन्देजहरू भत्काएर, असमानताका चार पर्खालहरू नाघेर, विभेद विरुद्ध हाँक दिइरहेका नेपालका मात्रै होइन संसारभरका महिलाहरूमा म उच्च सम्मान व्यक्त गर्छु र अघोर प्रेम गर्छु । मेरा वरिपरि धेरै आम किशोरी तथा महिलाहरू छन्, जो पितृसत्ता र समयले ठड्याइदिएका हरेक कठिनतम पहाडहरूलाई चुपचाप सङ्घर्षका पाइलाहरूले नाघी रहेका छन् ।
‘बिचरी’, ‘कठै’ जस्ता हेयका पात्र नबनीकनै उनीहरू वर्तमान समयसँग लडिरहेका छन् र एउटा नयाँ इतिहास लेखि रहेका छन् । मैले उनैको कथा लेख्ने गर्छु । खासमा भन्ने हो भने उनीहरू सङ्घर्षको इतिहास लेखिरहेका छन् म उनीहरूको कथा लेखिरहेकी छु ।
७. ‘सनेस’मा त्यस्तो के छ, पाठकलाई पढ्न सिफारिस गर्नका लागि ?
पाठकहरूले सनेसलाई एउटा अर्ग्यानिक कथासङ्ग्रह भन्नु भएको छ । मैले यसका हरेक कथामा सामाजिक मुद्दालाई प्रस्तुत गर्ने प्रयास गरेकी छु । सरल किसिमले गहिरो कुरा भन्ने प्रयास गरेकी छु । त्यसैले पढ्ने जति पाठकको प्रतिक्रियाले उत्साहित बनाएको छ ।
८. तपाईंको आगामी साहित्यिक योजना के छ ?
अघिल्लो वर्ष यतिबेला यो प्रश्न सोधिएको भए मसँग साझा गर्नलाई धेरै कुरा थिए । अन्तिममा पुगेको उपन्यास थियो । कविता थियो । केही बालकथा र किशोर कथाहरू थिए । ती सबै थन्केका छन् । अहिले लेखनको गति सुस्त छ र प्राथमिकतामा मेरो कार्यक्षेत्र परेको छ । त्यसो त दिनहुँ म नयाँ कथा र प्लटसँग ठोक्किन्छु तर त्यसलाई मस्तिष्कबाट स्क्रिनसम्म ल्याउने समयसमेत छैन मसँग ।
म के आशा गर्छु भने समयले मलाई माफ गर्नेछ र पुनः एकदिन लेखनमा ल्याएर झोस्ने छ । म त्यस्तै निष्ठुर समयको पर्खाइमा छु अहिले ।
९.यति गम्भीर कुरा गर्ने लेखकको नजरमा जीवन के रहेछ त ?
हामीले जे भोगिरहेका छौँ, त्यसैले जीवनलाई परिभाषित गर्छ होला । समयले मलाई जहाँ–जहाँ उभ्याएको छ, त्यहाँ–त्यहाँ आफ्नो विवेक बमोजिम न्यायपूर्ण ढङ्गले उभिन खोजेकी छु । जीवनलाई सार्थक बनाउन यत्न गरिरहेकी छु । उही सलमान रुस्दीले भने जस्तै, जीवनलाई अलिअलि ठट्टा, हाँसो र मजाकसँग घोलेर सार्थक बनाउने यत्नमा खटिएकी छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण