अन्नपूर्ण र माछापुच्छ्रे आधार शिविर यात्रा स्मृति
सारांश
- त्रिभुवन विमानस्थलबाट सुरु भएको यात्रा पोखरा हुँदै अन्नपूर्ण बेस क्याम्पसम्म पुगेको थियो।
- यात्रामा प्राकृतिक सुन्दरता, प्रतिकूल मौसम र कठिन बाटोको अनुभव गर्दै समूहले मित्रता र सहनशीलता प्रदर्शन गर्यो।
- अन्नपूर्ण बेस क्याम्पमा पुगेर फर्किंदा, यात्राले मित्रता, प्रकृति र जीवनको अनिश्चितताको अनुभव गरायो।
छठ पर्वको झिसमिसेमा काठमाडौँ निद्रामै थियो, तर त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल भने दह्रो हाँसो, उत्साह र हिँड्ने बुटहरूको खटखटाहटले गुञ्जिएको थियो । हामी १० जना (७ महिला र ३ पुरुष) साथीहरू, सबैको अनुहारमा एउटै चमक, एउटै प्रश्न– के हामी साँच्चै हिमालको आँगनमा पुग्नेछौँ ?
काठमाडौँको आकाश छिचोल्दै विमान पोखरातर्फ उड्न थालेपछि धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण सबै सफा आकाशमा टल्किँदै थिए । तर पोखराको विमानस्थलमा हुस्सको कारण विमानले दमौलीमाथि चार फन्का मार्नुपर्यो । त्यो आकाशीय दृश्यले यात्राको पहिलो अध्याय नै लेखिसकेको थियो । एक घण्टाको उडानपछि पोखराको शीतल हावाले स्वागत गर्यो । फेवातालको सतहमा सूर्यका किरणहरू नाचिरहेका थिए ।
त्यहाँबाट झिनु डाँडासम्मको जीप यात्रा भने अर्कै कथा थियो । पक्की बाटो सकिएपछि जीप धुलामे, ढिस्कामे बाटोमा हिचकिचाउँदै अघि बढ्थ्यो । कहिलेकाहीँ त खोला–बगरमाथि हिँडेजस्तो लाग्थ्यो । ड्राइभर भाइले हाँस्दै भने, ‘यी बाटामा हिँड्नेहरू स्वर्ग पुग्न डराउँदैनन् ।’ हामी पनि हाँस्यौँ । आखिर स्वर्गभन्दा सुन्दर यात्रामा त थियौँ ।

झिनु डाँडाबाट तीन घण्टाको उकालोमा रगतले कपालसम्म धड्किरहेको अनुभव सबैले गरेका थियौँ । वरिपरि हरिया वन, रूखका पातबाट टपटप पानीका थोपा चुहिँदै थियो, टाढाबाट खसेको झरनाको आवाजले सबैलाई मोहित पारिरहेको थियो । छोम्रोङ्ग पुग्दा साँझ परिसकेको थियो ।
होटलका छानाबाट धुवाँ उठिरहेको थियो, तातो सुपको सुगन्ध आउँथ्यो । हामी हिमाल नजिकिएको महसुस गर्दै निदायौँ । अर्को बिहान आकाश फेरि उदास, पानीले बाटो ढाक्यो, कुहिरोले दृश्य लुकायो । प्रकृतिले हाम्रो धैर्यको परीक्षा लिइरहेको अनुभूति भयो । त्यो दिन र रात दुवै छोम्रोङ्गमै बित्यो ।
उज्यालो भयो । बोतलमा पानी, काँधमा झोला र मनमा हिम्मत बोकेर हामी फेरि बाटो लाग्यौँ । छोम्रोंगबाट तल सिँढीको लहर झर्दै, लौरी समात्दै, कहिले बिसाउँदै, कहिले अर्काको हात थाम्दै ओरालो यात्रा गर्यौँ । करिब १२ घण्टाको कठोर यात्रापछि दोभान पुग्दा हामी मौन थियौँ । केवल खोला र छहराको आवाज, कहिलेकाहीँ नजिकको पहिरोको गर्जन । तर त्यो मौनतामा पनि सन्तोष थियो । कसैले फुसफुसायो, ‘हामी आइपुग्यौँ ।’ त्यो वाक्यमा विजयको मिठो अनुभूति थियो ।

दोभानबाट अर्को बिहान माछापुच्छ्रे आधार शिविरतर्फ उकालो लाग्यौँ । आधा बाटो पुग्दा आकाश खुल्ने अपेक्षा थियो, तर विपरीत भयो । मुसलधारे वर्षाले यात्रा कठिन बनायो । शिरदेखि पैतालासम्म भिज्यौँ । जुत्ता भारी भयो, शरीर निथ्रुक भिज्यो । कहिले हल्का झरी, कहिले मुसलधारे पानीले शरीर मात्र होइन, मुटुसम्म भिजायो । तर पनि हरेक मोडमा माछापुच्छ्रेको टुप्पो कुहिरोबाट झुल्किँदै भन्थ्यो, ‘आऊ, म पर्खिरहेको छु ।’
माछापुच्छ्रे आधार शिविर पुग्दा हिउँको हावा चलिरहेको थियो । होटलभित्र ग्यास हिटर वरिपरि सबै न्यानोपन खोज्दै पसे, तर पाइएन । कसैले हाँस्दै भन्यो, ‘लुगालाई मात्र होइन, आत्मालाई पनि सुकाउँ ।’ भिजेका जुत्ता र लुगाहरूले कोठा चिसो बनाइरहेका थिए । टेबललाई कम्बलले छोपेर मुनि हिटर बाल्यौँ । एक घण्टाको एक हजार रुपैयाँ, हरेकले एक सयका दरले तिर्यौँ, तर समाधान मिल्यो । त्यो न्यानोपन कपडाको मात्र होइन, त्यो हाँसो र मित्रताको थियो, जसले हरेक सासमा भन्यो–जीवन यही हो ।

अन्नपूर्ण आधार शिविरमा चिसोले गाला रातो बनाइसकेको थियो । होटलवालालाई तीन प्याकेट चाउचाउ पकाइदिन भन्यौँ । पछि बिल आयो ८ सय रुपैयाँ । कसैले हाँस्दै भन्यो, ‘यो त सुनको नुडल्स हो ।’ सबै हाँस्यौँ । तर त्यो तातो नुनिलो झोलले भोक, चिसो र थकान सबै बिर्सायो । त्यो चाउचाउ नै त्यस क्षणमा संसारकै स्वादिलो भोजन बन्यो ।
बिहान आकाश खुलेको थियो । ताराहरू झिलमिल, माछापुच्छ्रेको टुप्पोमा चन्द्रमाको उज्यालो । हामी ५ बजे नै टर्च बाल्दै, जमेको ताल भएतिरको बाटो हुँदै अन्नपूर्ण आधार शिविरतर्फको बाटोमा हिँड्यौँ । ४१३० मिटर उचाइमा पुग्दा अन्नपूर्णको विशाल काय हाम्रासामु उभिएको थियो । हामी स–साना धुलिका कणझैँ देखिन्थ्यौँ । तर भित्रदेखि प्रफुल्लित भयौँ । हिउँमा दौड्यौँ, हाँस्यौँ, उफ्र्यौं, बालकझैँ खेल्यौँ ।
हिउँसँग खेल्दा थकान हरायो, केवल आनन्द बाँकी रह्यो । करिब दुई घण्टा आधार शिविरमा रमाई बिस्तारै तलतर्फ झर्ने क्रम सुरु गर्यौँ । हामी ओरालो लाग्यौँ, १९ किलोमिटर तल बेम्बो पुग्दा शरीर थकित थियो । तर बारीको कुनामा देखिएको सेतो मुलाले सबैको ध्यान खिच्यो । पौने किलोको मुला तीन सय ! सबै हाँस्यौँ, ‘यो त हिमालको अर्गानिक चाँदी रहेछ ।’ त्यो मुला सलाद मात्रै होइन, यात्राको हाँसोको साधन बन्यो ।
हिमालको बाटोमा खच्चडले दुई वटा ग्यास सिलिन्डर ढाडमा बोकेर ल्याउँदै थियो । त्यो जोखिमपूर्ण सिँढी र उकालो पार गर्दा एक सिलिन्डर पुर्याउनै एक हजार रुपैयाँ पर्दो रहेछ । हामी अचम्ममा पर्यौँ । हामी हिँडेरै थाक्यौँ, खच्चडले त भारी बोक्दै स्वर्ग र पृथ्वी जोडिदिएको । हिमालमा ऊर्जा, श्रम दुवै श्रद्धाको रूपमै पाइँदो रहेछ ।

बास बस्दा रातको वर्षा र पहिरोको डरले मनमा अनिश्चितता थियो । अर्को दिन बिहान थप १३ किलोमिटर झर्दै झिनु डाँडा आइपुग्यौँ । तातोपानीमा नुहाउने चाहना त थियो, तर यात्रा निरन्तर रह्यो । दुई दिनमा ३२ किलोमिटर हिँडेर साम्रोङ्ग पुग्यौँ । त्यहाँबाट गाडी चढेर पोखरा फर्कँदा सबैको अनुहारमा थकानसँगै सन्तुष्टि झल्किएको थियो । राति १५ सिटे ईभी गाडीमा फर्किँदा झ्यालबाहिर फेरि ताराहरू चम्किरहेका थिए । बिहान ५ बजे काठमाडौँ पुग्दा आकाश उज्यालो हुँदै थियो ।
यो यात्रा केवल १० जना (अञ्जु, उर्मिला, कल्पना, कोपिला, विमला, विजया, शोभाकर, प्रजापती, खेमराज) को पदयात्रा थिएन । यो सम्बन्ध, सहनशीलता, आत्मीयता, मित्रताको न्यानोपन तथा प्रकृति सान्निध्यको एउटा अनुभव थियो ।
हिउँले सिकायो, नरम भएर पनि कठोर हिँडाइ सम्भव हुन्छ ।
पानीले सम्झायो, जीवन हरेक मोडमा अनिश्चित हुन्छ ।
मित्रहरूले देखाए, रमाइलोपन कठिनाइभित्र पनि फुल्न सक्छ ।
हामी फर्कियौँ; तर लाग्छ, हाम्रो कुनै अंश आज पनि त्यो हिमालमै बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण