टीओबी समूहका १९ जना बुलेट चालकसँग प्रहरीको सोधपुछ
सारांश
- काठमाडौंमा टीओबीको टिसर्ट लगाएर आतंक मच्चाउने बुलेट मोटरसाइकल चालकहरूलाई प्रहरीले सोधपुछ गरेको छ।
- टीओबी समूहका कमान्डर तेन्जिङ दावा लामालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ, उनलाई लागुऔषध र लिखतसम्बन्धी कसुरमा पनि अनुसन्धान हुँदैछ।
- तेन्जिङको जन्मदर्ता र नागरिकता शंकास्पद देखिएको छ भने उनले बुझाएको मोबाइल पनि फुटेको अवस्थामा फेला परेको छ।
काठमाडौँ । जेनजी प्रदर्शनमा ‘टीओबी’को टिसर्ट लगाएर आतंक मच्चाउने बुलेट मोटरसाइकल चालकहरूसँग प्रहरीले सोधपुछ गरेको छ । भदौ २३ र २४ मा मोटरसाइकल हुइँक्याएर उच्छृङखल गतिविधि गर्ने १९ जना चालकको पहिचान गरेर प्रहरीले उनीहरूलाई सोधपुछ गरेको हो ।
टीओबी समूहका कमान्डर तेन्जिङ दावा लामालाई प्रहरीले असोज २६ मा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । अरू चालकहरूलाई दावाले नै परिचालन गरेको अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) पवन भट्टराईले रातोपाटीलाई बताए । भट्टराईले भने, ‘दावाले परिचालन गरेअनुसार अरू चालक मोटरसाइकल घुमाउने र आतंक मच्चाउने भूमिकामा देखिएका छन् ।’
तेन्जिङलाई प्रहरीले सुरुमा अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान गरेर अभियोजन गरेको थियो । अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयले उनीसँग ७ हजार ५ सय धरौटी माग गरेको छ । दावाले सो रकम बुझाएका छन् ।
फरेन्सिक जाँच गर्दा उनको घरबाट बरामद पेस्तोल नक्कली पुष्टि भएको छ । तेन्जिङविरुद्ध प्रहरीले अहिले लागुऔषध र लिखतसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।
तेन्जिङको जन्मदर्ता र नागरिकता शंकास्पद देखिएको छ । तेन्जिङले २०७९ असार २४ मा लिएको नागरिकताको विवरण जिल्ला प्रशासन कार्यालय काठमाडौँको ढड्डामा भेटिएको छैन । जिल्ला प्रशासनको डिजिटल रेकर्ड सिस्टममा चाहिँ नाम म्याच भएको तर, ढड्डामा विवरण नभेटिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । प्रहरीले उनिविरुद्ध नागरिकता सम्बन्धी कसुरमा पनि अनुसन्धान गरिरहेको छ ।
तेन्जिङले काठमाडौँ महानगरपालिका–६ बौद्धमा २०६३ चैत १० मा जन्मदर्ता गरेको विवरण सार्वजनिक भएको छ । तर, त्यसदिन शनिबार परेको भेटिएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर–६ बाट उनले नागरिकताको सिफारिस लिएको भेटिएको छैन ।
नागरिकतामा बुवा उल्लेख गरिएका कृष्ण बहादुर तामाङलाई बोलाएर प्रहरीले सोधपुछ गरेको छ । सोधपुछको क्रममा कृष्णबहादुरले नागरिकतामा सनाखत गरेको अस्वीकार गरेका छन् । अनुसन्धान अधिकृतहरूसँग उनले भनेका छन्, ‘नागरिकतामा सनाखत गरेको मलाई थाहा छैन ।’
नागरिकतामा भएको विवरणका आधारमा उनले पासपोर्ट पनि लिएका छन्, प्रहरीले पासपोर्टसम्बन्धी कसुरमा पनि उनीमाथि अनुसन्धान गरिरहेको छ ।
प्रहरीले तेन्जिङको बैंक खाता विवरण राष्ट्र बैंकसँग मागेको छ । मोटरसाइकलमा युवा परिचालन गर्न कहाँबाट फन्डिङ आयो भन्नेबारे अनुसन्धान गर्न राष्ट्र बैंकसँग विवरण मागिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए । उनका भने, ‘खातामा भएको कारोबार विवरण पठाउन राष्ट्र बैंकलाई पत्राचार गरेका छौँ ।’
तेन्जिङले बुझाए फुटेको मोबाइल
तेन्जिङले अनुसन्धान अधिकृतहरूलाई फुटेको मोबाइल बुझाएका छन् । मोबाइल परीक्षण गर्न खोज्दा उनले ३ वटा फुटेको मोबाइल बुझाएका हुन् । सही अवस्थामा मोबाइल नहुँदा मोबाइलको विवरण हेर्न नसकिएको अनुसन्धान अधिकृतहरू बताउँछन् ।
उनको डेरा खानतलासी गर्दा प्रहरीले गाँजा पनि भेट्टाएको थियो । तेन्जिङलाई ९० दिन हिरासतमा राखेर अनुसन्धान गरिने एसपी भट्टराईले जानकारी दिए ।
तेन्जिङ समूहका बुलेट बाइक चढ्ने युवाहरू भदौ २३ र २४ मा भएको प्रदर्शनमा काठमाडौंको बिजुलीबजारस्थित पुलबाट प्रदर्शनमा सहभागी भएको भिडियो फुटेजमा देखिन्छ । उनीहरू सबैको ज्याकेटमा टीओबी लेखिएको थियो । टीओबीको अर्थ ‘तिब्बतियन ओरिजनल ब्लड’ हुन्छ ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण