टीओबी समूहका लिडर तेन्जिङको डेराबाट गाँजा बरामद, किर्ते मुद्दामा पनि अनुसन्धान
सारांश
- प्रहरीले जेनजी प्रदर्शनमा 'टीओबी' को टिसर्ट लगाएर आतंक मच्चाएको आरोप लागेका तेन्जिङ दावा लामाको डेरा खानतलासी गर्दा गाँजा भेट्टाएको छ।
- तेन्जिङको जन्मदर्ता र नागरिकता शङ्कास्पद देखिएपछि प्रहरीले किर्ते र लागुऔषध मुद्दामा अनुसन्धान थालेको छ।
- तेन्जिङको नागरिकताको विवरण जिल्ला प्रशासन कार्यालय र वडा कार्यालयमा नभेटिएको तथा परिवारका सदस्य सम्पर्कमा नआएको बताइएको छ।
काठमाडौँ । जेनजी प्रदर्शनमा ‘टीओबी’को टिसर्ट लगाएर आतङ्क मच्चाएको आरोप लागेका तेन्जिङ दावा लामाको डेरा खानतलासी गर्दा प्रहरीले ‘गाँजा’ भेट्टाएको छ । प्रहरीले उनलाई असोज २६ मा पक्राउ गरेर अभद्र व्यवहार सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ । अभद्र व्यवहार सम्बन्धी मुद्दा अन्तिम चरणमा पुगेसँगै प्रहरीले उनको मुद्दा लागुऔषध र किर्तेमा रूपान्तरण गर्ने भएको छ ।
तेन्जिङमाथि किर्ते सम्बन्धी कसुर र लागुऔषधसम्बन्धी कसुरमा पनि अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । उनले भने, ‘अभद्र व्यवहार मुद्दा अबअर्को दुईवटा कसुरमा कन्भर्ट हुन्छ ।’
तेन्जिङको जन्मदर्ता र नागरिकता शङ्कास्पद देखिएको छ । तेन्जिङले २०७९ असार २४ मा लिएको नागरिकताको विवरण जिल्ला प्रशासन कार्यालय काठमाडौँमा भेटिएको छैन ।
तेन्जिङको नागरिकताको विवरण नभेटिको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले रातोपाटीलाई बताए । उनले भने, ‘प्रदर्शनमा हाम्रो कार्यालय आगजनी भएको थियो, ढड्डा जलेको हुनाले विवरण फेला परेको छैन ।’
तेन्जिङले काठमाडौँ महानगरपालिका–६ बौद्धमा २०६३ चैत १० मा जन्मदर्ता गरेको विवरण सार्वजनिक भएको छ । तर, त्यसदिन शनिवार भएको हुनाले कसरी जन्मदर्ता भयो भन्नेबारे प्रश्न उठेको छ । २०६४ भन्दा अगाडी जन्मदर्ता गरेको भनिएको विवरण वडा कार्यालयमा नभएको वडा अध्यक्ष भुवन लामाले बताए । उनले भने, ‘२०६४ भन्दा पछाडि मात्रै वडामा जन्मदर्ता गर्न थालिएको थियो, सो विवरण महानरपालिकाको नगर कार्यपालिकाको कार्यालयमा हुने हुनाले मैले त्यसबारे प्रहरीलाई जवाफ पठाइसकेको छु ।’
काठमाडौँ महानगरपालिका वडा नम्बर–६ मा पनि उनले नागरिकताको सिफारिस लिएको भेटिएको छैन । नागरिकताको सिफारिस गरेको रेकर्ड पनि वडा कार्यालयमा नभेटिएको वडा अध्यक्ष लामाले जानकारी दिए ।
नागरिकता र जन्मदर्ता ‘किर्ते’ गरेको आशङ्कामा प्रहरीले उनलाई त्यसबारे अनुसन्धान गरेर मुद्दा लैजाने तयारी गरेको छ । एसपी भट्टराई भन्छन्, ‘किर्ते कसुरमा अनुसन्धान पुरा भएपछि यकिन तथ्य थाहा हुन्छ ।’
तेन्जिङ समूहका बुलेट बाइक चढ्ने युवाहरू भदौ २३ र २४ मा भएको प्रदर्शनमा काठमाडौँको बिजुलीबजार स्थित पुलबाट प्रदर्शनमा सहभागी भएको भिडियो फुटेजमा देखिन्छ । उनीहरू सबैको ज्याकेटमा टीओबी लेखिएको थियो । टीओबीको अर्थ ‘तिब्बतियन ओरिजनल ब्लड’ हुन्छ ।
पेस्तोल कम्मरमा भिरेको भिडियो फुटेजमा देखिएपछि पक्राउ परेका तेन्जिङको घरबाट प्रहरीले नक्कली पेस्तोल बरामद गरेको छ । पेस्तोल बोकेको सो भिडियो जेनजी प्रदर्शन भन्दा अगाडीको भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
- परिवारका सदस्य सम्पर्कमा आएनन्
तेन्जिङले बुवाको मृत्यु भएको र आमा भारतको कुशिनगरमा बस्ने गरेको प्रहरीसँग बताएका छन् । आफ्नो एउटी बहिनी भएको उनले बताएका छन् । तर, अनुसन्धान अधिकृतहरूले बहिनीलाई सम्पर्कमा ल्याउनु भन्दा उनले ल्याउन सकेका छैनन् । एसपी भट्टराई भन्छन्, ‘उहाँको यकिन पहिचान नै खुलेको छैन, परिवारका सदस्य कोही पनि सम्पर्कमा आउनुभएको छैन ।’
तेन्जिङले टीओबी बाइकर्स समूह भएको र आफूहरू तिब्बतियन मूलको नेपाली भएको बताएका छन् । प्रहरीको बयानमा उनले भनेका छन्, ‘म आधा तिब्बतियन हुँ ।’
प्रहरीले बरामद गरेको तेन्जिङको नागरिकतामा भएको हस्ताक्षर फरेन्सिक जाँच गरिने अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण