दिल्लीमा विस्फोटः मृतक संख्या ९ पुग्यो, घर फर्केका डाक्टरहरूलाई बोलाइयो
सारांश
- नयाँ दिल्लीस्थित लाल किल्ला मेट्रो स्टेसन नजिकै कार बम विस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ।
- विस्फोटका कारण लाल मन्दिरमा क्षति पुगेको छ भने वरपरका पसलहरूमा आगलागी भएको छ।
- प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ र घाइतेहरूको उद्धार कार्य जारी छ।
नयाँ दिल्ली । सोमबार साँझ भारतको नयाँ दिल्लीस्थित लाल किल्ला मेट्रो स्टेसनको गेट नम्बर १ नजिकै कार बम विस्फोटमा मृत्यु हुनेको संख्या ९ पुगेको छ । दुर्घटनापछि भागदौड मच्चिएको थियो ।
विस्फोटको तीव्रता यति धेरै थियो कि, लाल किल्ला नजिकै अवस्थित लाल मन्दिरमा कारको एउटा टुक्रा खसेको थियो । यस घटनामा मन्दिरका सिसाहरू फुटेका छन् भने वरपरका धेरै पसलका ढोका र झ्यालहरूमा क्षति पुगेको छ ।
विस्फोटलगत्तै वरपरका पसलहरूमा आगलागी भएको थियो । चाँदनी चोकको भागीरथ प्यालेस इलाकासम्म कम्पन महसुस गरिएको थियो र पसलेहरू एकअर्कालाई फोन गरेर अवस्थाबारे सोधपुछ गरिरहेका थिए ।
यसैबिच धेरै बस र अन्य सवारी साधनहरूमा पनि आगलागी भएको भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन् ।
दमकल विभागलाई कार विस्फोटको सूचना साँझ प्राप्त भएको थियो । त्यसलगत्तै विभागले तत्काल छ वटा एम्बुलेन्स र सातवटा दमकल घटनास्थलमा पठाएको थियो । हाल राहत र उद्धार कार्य जारी छ र आगो निभाउने प्रयास भइरहेको छ ।
दिल्ली सरकारको निर्देशनमा लोकनायक अस्पतालमा आफ्नो ड्युटी समाप्त गरेर घर फर्किसकेका शल्यक्रियालगायत सबै डाक्टरहरूलाई अस्पतालमा फिर्ता बोलाइएको छ । मुख्यमन्त्री रेखा गुप्ताले अधिकारीहरूबाट लगातार रिपोर्ट लिइरहेकी छन् र सबै व्यवस्थाहरू चुस्तदुरुस्त राख्न अधिकारीहरूलाई निर्देशन दिएकी छन् ।
यता, स्वास्थ्य मन्त्री डा. पंकज सिंह केही बेरमै लोकनायक अस्पताल पुग्ने बताएका छन् । उनले अधिकांश बिरामीहरूलाई लोकनायक अस्पतालमै ल्याइएको र उनी अस्पतालबाट लगातार रिपोर्ट लिइरहेको जानकारी दिए।
विस्फोटको कारण भने अझै खुल्न सकेको छैन । प्रहरीले इलाका घेरा हालेर अनुसन्धान एजेन्सीहरू घटनास्थलमा पुगेर प्रमाण जुटाउन व्यस्त छन् । प्रारम्भिक रिपोर्टअनुसार विस्फोट कारमा भएको थियो तर यसको प्रकृति र कारणबारे भने अझै केही स्पष्ट भएको छैन । घटनापछि सम्पूर्ण लाल किल्ला र चाँदनी चोक क्षेत्रमा सुरक्षा बढाइएको छ ।





Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण