बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘प्रिय सुशीला आमा, माफ गर्नुस् डडेलधुरा यत्तिकै जान‌ सक्दिनँ’

सोमबार, २४ कात्तिक २०८२, २२ : २७
सोमबार, २४ कात्तिक २०८२

काठमाडौँ । सागर ढकालले सरकारको काम गर्ने शैली र आसन्न निर्वाचनको तयारीप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। उनले आफ्नो पोस्टमा प्रधानमन्त्री सुशीला कार्कीलाई ‘प्रिय सुशीला आमा’ भनेर सम्बोधन गर्दै अहिलेको सरकारी रफ्तार र बहानाबाजीले आफूलाई ‘निकै डर’ लागेको बताएका हुन्।

फेसबुक पोस्टमार्फत उनले विश्व इतिहास बनाउने भन्दै गर्दा पनि पूरै सिस्टम करिब जस्ताको त्यस्तै चुनाव गराउने मुडमा रहेको बताएका छन्। ढकालको मुख्य चिन्ता हर–कदममा बहाना खोज्ने प्रवृत्तिको बारेमा केन्द्रित छ ।

उनले प्रधानमन्त्री, गृहमन्त्री, कानुन मन्त्री, निर्वाचन आयोगको तलदेखि माथिसम्म लगभग पूरै सेट र राजनीतिक नेतृत्वमा टेक्नोलोजीको ज्ञाता कोही पनि नभएको आरोप लगाएका छन्।

ढकालले सडक दुर्घटनाको उदाहरण दिँदै ‘सडकमा दुर्घटना हुन्छ, त्यही कारणले सडक बनाउनै हुँदैन’ भने जसरी पूरै सिस्टम कस्सिएको टिप्पणी गरेका छन्। उनले गैरजिल्लावासी र विदेशमा रहेका नेपालीहरूलाई प्रत्यक्ष र समानुपातिक दुवैमा मतदानको अधिकार दिन कस्सिनुपर्नेमा जोड दिएका छन्। यसो नगरिए पुराना पार्टीभित्र पनि फेरि बुढाहरू नै आउने खतरा रहेको उनले औँल्याएका छन्।

उनले सरकारी निकायहरूमा अर्कालाई देखाएर पन्छिने बानी हाबी भएको गुनासो गरेका छन्। निर्वाचन आयोग जाँदा गृह र कानुन मन्त्रालय देखाइदिने, गृह र कानुन जाँदा निर्वाचन आयोग देखाइदिने र प्रधानमन्त्री कार्यालय जाँदा ‘टाइमलाइन र एक्सन दिने हाम्रो जिम्मेवारी होइन’ भनी पन्छिने गरेको उनको भनाइ छ।

उनले पहिले आफूहरूलाई ‘कालो दाह्री मात्र भयौँ’ भन्ने गरिएको र अहिले ‘सेतो दाह्री’ लाई पनि सँगै लिएर हिँड्दा पनि केही फरक नदेखिएको बताएका छन्। उनले ‘सेतो दाह्री’ लाई पनि आफू हुँदा नगर्ने र अहिले आएर आफूहरूलाई निर्देशन दिने भनिएकोमा आक्रोश व्यक्त गरेका छन्।

अन्त्यमा, उनले बहानाबाजीबाट वाक्क भएर गुहार मागेको भन्दै यो चुनाव आफूले चाहेजस्तो गराउने जिम्मेवारी कसको हो भनी प्रश्न गरेका छन्। 

यस्तो छ ढकालको भनाई :

प्रिय सुशीला आमा ( माफ गर्नुस् डडेलधुरा यत्तिकै जान‌ सक्दिन) मलाई यो सरकारको रफ्तार र काम देखेर निकै डर लागेको छ। विश्व इतिहास बनायौँ, पुरै सिस्टम करिब जस्ताको‌ त्यस्तै चुनाव गराउने मुडमा छ।

हरेक पाइलामा‌ बहाना (EXCUSE) खोजेको छ। मुख्य केन्द्र प्रधानमन्त्री , गृहमन्त्री, कानुन मन्त्री, निर्वाचन आयोगको तलदेखि माथि लगभग पुरै सेट र PRI नेतृत्व टेक्नोलोजीको ज्ञाता कोही पनि हुनुहुन्न ।

सडकमा दुर्घटना हुन्छ त्यही कारणले सडक बनाउनै हुँदैन भनेर पुरै सिस्टम कस्सिएको छ। बेजिल्ला र विदेशको लागि भोटिङ प्रत्यक्ष र समानुपातिक दुवैमा अधिकार दिन कस्सिएका छौँ, होइन भने पुराना पार्टी भित्र पनि फेरी बुढाहरू नै आउने हुन्।

जहाँ गयो अर्कालाई देखाएर पन्छिने बानी कहिले हट्ने हो ?? निर्वाचन आयोग गयो - गृह र कानुन देखायो पन्छियो, गृह र कानुन गयो निर्वाचन आयोग देखायो बस्यो, प्रधानमन्त्री कार्यालय गयो TIMELINE and Action दिने हाम्रो जिम्मेवारी होइन भन्नुहुन्छ।

तिमीहरू कालो दाह्री मात्र भयौँ भन्नु भयो अब चाही सेतो दाह्री पनि सँगै लिएर हिँड्न लागेको छु, त्यै पनि केही फरक देखिएको छैन । सेतो दाह्रीलाई‌ फेरी आफू हुँदा नगर्ने अहिले आएर हामीलाई‌ निर्देशन दिने भन्नुहुन्छ। गर्ने चाही के हो आमा ???? बहाना बाजिबाट वाक्क भएर हजुरलाई गुहारेको हुँ।

यो चुनाव जेन जिले‌ चाहे जस्तो गराउने जिम्मेवारी कसको हो ??? हामी कहाँ गए पूर्ण सूचना पाउन सक्छौँ र ढुक्क हुन सक्छौँ ??? को‌ हो‌ यो निर्वाचनको केन्द्र ???

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप