शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आमनिर्वाचनभन्दा अघि नै महाधिवेशन गर्न विश्वकर्माको प्रस्ताव

मङ्गलबार, २५ कात्तिक २०८२, १५ : १४
मङ्गलबार, २५ कात्तिक २०८२

सारांश

  • नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले पार्टीले आम निर्वाचनअघि नै महाधिवेशनको मिति तोक्नुपर्ने बताए।
  • उनले पार्टीका सबै तहका अधिवेशनको तालिका सार्वजनिक गर्न र क्रियाशील सदस्यता नवीकरणलाई तीव्रता दिन सुझाव दिए।
  • विश्वकर्माले पार्टीलाई सहज बनाउन नियमित महाधिवेशनका लागि सहमति जुटाउन आग्रह गरे।

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टीले आगामी आमनिर्वाचनभन्दा अघिनै केन्द्रीय महाधिवेशन गर्नुपर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार धारणा राख्दै विश्वकर्माले अधिवेशनलाई पार्टी जीवनमा नयाँ उत्साह र रूपान्तरण ल्याउने अवसरका रूपमा लिनुपर्ने बताए । ‘महाधिवेशनको माध्यमबाट निर्वाचनको तयारी गरौँ, अलमल गरेर समय बर्बाद नगरौँ,’ विश्वकर्माले भने ।

बैठकमा लिखित धारणा राख्दै विश्वकर्माले पार्टीका सबै तहका अधिवेशनका तालिका तत्काल सार्वजनिक गर्न र त्यससँगै क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरणलाई तीव्र गतिमा अघि बढाउन सुझाव नेतृत्वलाई दिए ।

विश्वकर्माले अधिवेशन र निर्वाचन एकअर्काका पूरक प्रक्रिया भएको बताउँदै भने, ‘नियमित अधिवेशनले पार्टीमा उत्साह, चाहना र रूपान्तरण ल्याउँछ भने आम निर्वाचनले आम जनतामा आशा भर्छ र सिंगो मुलुकलाई सही दिशामा लैजान मद्दत पुर्‍याउँछ।’

महाधिवेशन र निर्वाचन तोकिएको समयमा हुन जरुरी रहेको बताए ।

पार्टीलाई सहज र गतिशील बनाउन नियमित महाधिवेशनका लागि सहमति जुटाएर कार्यतालिका सार्वजनिक गर्न विश्वकर्माले आग्रह गरे । ‘अधिवेशनका लागि उपयुक्त मितिमा सहमति गरौँ र तत्काल कार्यतालिका सार्वजनिक गरौँ,’ विश्वकर्माले भने ।

महाधिवेशनको तालिकासँगै जारी बैठकबाट विधान संशोधन मस्यौदा समिति, क्रियाशील सदस्यता छानबिन समिति, निर्वाचन समिति, आर्थिक स्रोत व्यवस्थापन समिति पनि गठन गर्न माग गरे ।

विश्वकर्माले पार्टीले महाधिवेशनको तयारीसँगै आम निर्वाचनको तयारी पनि समानान्तर रूपमा अघि बढाउनुपर्ने बताउँदै भने, ‘निर्वाचन हुन्छ भन्ने विश्वासका साथ पार्टीका सबै तहमा प्रभावकारी परिपत्र गरौँ।’ पार्टीले प्रतिबद्धता पत्र तयारी समिति, निर्वाचन परिचालन समिति र प्रचार–प्रसार समिति गठन गर्नुपर्ने प्रस्ताव पनि विश्वकर्माले बैठकमा राखे ।

पछिल्ला वर्षहरूमा कांग्रेस आन्तरिक खिचातानी र अनिर्णयको कारण कमजोर बनेको स्मरण गरे । २०७९ को निर्वाचनमा हाम्रो जनमत घट्नुको कारण युवाप्रति बेवास्ता र पार्टीको अलमल भएको उनको धारणा थियो ।  २०७६ देखि २०८१ सम्म तरुण दल र नेविसंघजस्ता संगठन गठन गर्न नसक्नु र पछि विधि–विधान मिचेर ‘भद्दा समिति’ बनाउनु पार्टीको असंगठित अवस्थाको द्योतक भएको विश्वकर्माको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप