यो वर्षको वर्षामा १४० जनाले गुमाए ज्यान, ६ हजार परिवार विस्थापित
सारांश
- यस वर्षको मनसुन विपद्मा १४० जनाको मृत्यु भएको छ, जसमा बाढी, पहिरो, र चट्याङ जस्ता घटनाहरू समावेश छन्।
- मनसुनजन्य विपद्का कारण देशभर ५ हजार ९ सय ९५ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्, जसमा पहिरोका घटनाहरू सबैभन्दा घातक देखिएका छन्।
- गत वर्षको तुलनामा यो वर्ष विपद्का घटनामा कमी आएको छ, तर आगलागी, सर्प दंश, जनावर आक्रमण जस्ता अन्य विपद्मा पनि क्षति भएको छ।
काठमाडौँ । यस वर्षको मनसुनी विपद्का घटनामा १४० जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत जेठ १५ देखि असोज १४ सम्म सो बराबरको मानवीय क्षति भएको हो ।
यो अवधिमा मनसुनजन्य प्रभाव परेको आशङ्का गरिएकामध्ये ३० जना बेपत्ता भएका छन् । यस्तै, मनसुनजन्य विपद्का कारण देशभर ५ हजार ९ सय ९५ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
प्राधिकरणको ‘मनसुन २०८२’ अनुसार बाढी, पहिरो, भारी वर्षा र चट्याङजस्ता घटनाबाट मात्र १४० जनाको मृत्यु भएको र ३०० जना घाइते भएका छन्।
- मनसुनमा पहिरो सबैभन्दा घातक
यस वर्षको मनसुनी तथ्याङ्क हेर्दा पहिरोका घटना सबैभन्दा घातक देखिएका छन् । देशभर ४९३ वटा पहिरोका घटना दर्ता भएकामा ६७ जनाको मृत्यु भएको छ भने ७७ जना घाइते भएका छन् । पहिरोमा परी ४ जना बेपत्ता भएका छन्, जसबाट १ हजार ५१८ परिवार प्रभावित भएका छन्।
यसैगरी, बाढीका २१२ घटनाका कारण ३७ जनाको मृत्यु भएको छ, जबकि २६ जना बेपत्ता भएका छन्। बाढीबाट ३ हजार २०० परिवार प्रभावित भएका छन्।
चट्याङका २४२ घटनामा २९ जनाले ज्यान गुमाएका छन्। भारी वर्षाका ३७७ घटनाका कारण ७ जनाको मृत्यु भएको र २० जना घाइते भएको तथ्याङ्कमा उल्लेख छ।
- गत वर्षको तुलनामा क्षतिमा कमी
यस वर्ष मनसुनजन्य विपद्का घटनामा गत वर्ष २०८१ को तुलनामा उल्लेखनीय कमी आएको छ। मनसुन २०८१ मा देशभर २ हजार १३९ वटा विपद्का घटना भएका थिए, जसबाट ४५५ जनाको मृत्यु भएको थियो भने ६६ जना बेपत्ता भएका थिए । सो वर्ष कुल १० हजार ८ सय २३ परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ ।
तुलनात्मक रूपमा हेर्दा २०८२ मा घटनाको सङ्ख्या घटेर १ हजार ४५४ मा झरेको छ। मृत्यु हुनेको सङ्ख्या पनि ४५५ बाट १४० मा सीमित भएको छ।
- अन्य विपद्का घटनामा १२० को मृत्यु
मनसुनजन्य घटनाबाहेक आगलागी, सर्प दंश, जनावर आक्रमण र हावाहुरीजस्ता अन्य विपद्का घटनामा पनि ठुलो मानवीय क्षति भएको छ।
२०८२ मनसुन अवधिमा मनसुनबाहेक अन्य विपद्का १ हजार ६७६ घटनाहरू भएका थिए । जसबाट १२० जनाको मृत्यु भएको छ र ६२२ जना घाइते भएका छन् । यी घटनाबाट २ हजार ३० परिवार प्रभावित बनेका छन्।
अन्य विपद्हरूमध्ये सर्पदंश सबैभन्दा धेरै घातक देखिन्छ। सर्पदंशका ४४२ घटनामा ७४ जनाको मृत्यु भएको छ भने ३७४ जना घाइते भएका छन्। यसैगरी, जनावर आक्रमणबाट २२ जना, आगलागीबाट ११ जना र लेक लाग्नुका कारण १३ जनाको मृत्यु भएको प्राधिकरणको तथ्याङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण