निर्माता संघमा लाग्यो चुनाव : अध्यक्षमा उदय र सुनिल भिड्ने
काठमाडाैँ । चलचित्र निर्माता संघको चुनावी सरगर्मी बढेको छ । आगामी असोज १ गते संघको १९औँ साधारणसभाले नयाँ कार्यसमिति चयन गर्ने भएपछि निर्माताहरू चुनावी माहोलमा होमिएका हुन् ।
अध्यक्ष पदका लागि निर्माता उदय सुब्बा र सुनिल कुमार थापाले आकांक्षा देखाएका छन् ।हाल वरिष्ठ उपाध्यक्ष रहेका सुब्बा यसअघि एक पटक वरिष्ठ उपाध्यक्ष र तीन पटक उपाध्यक्ष भइसकेका छन् ।
थापा भने हाल महासचिव छन् र यसअघि एक कार्यकाल सदस्य रहेका थिए । दुवै उम्मेदवारले औपचारिक रूपमा उम्मेदवारी घोषणा नगरे पनि संघका सदस्यहरूसँग छलफल गर्दै भोट मागिरहेका छन् ।
सुनिल कुमार थापाले आफूले महासचिव हुँदा धेरै काम गरेको र केही अधुरा काम पूरा गर्न अध्यक्ष बन्न लागेको बताएका छन् । उनले भने, ‘अहिले साथीहरूसँग छलफल गरिरहेको छु ।’ आफू अहिले पनि संघमा सक्रिय रहेकोले निर्माताहरूको पिरमर्का बुझ्ने उनको भनाइ छ । थापा निर्माताहरूको एकता र व्यावसायिक हितलगायतका एजेन्डासहित अध्यक्षको दौडमा छन् । उनले केही दिनमै आफ्नो घोषणापत्र सार्वजनिक गर्ने बताए ।
उदय सुब्बाले पनि आफू निर्माता संघमा पटकपटक विभिन्न पदमा रहेर काम गरिसकेको र हाल वरिष्ठ उपाध्यक्ष रहेको कारण एक कार्यकाल अध्यक्षका रूपमा सेवा गर्न उम्मेदवारी दिन लागेको बताए ।
‘म पटक–पटक निर्माता संघका विभिन्न पदमा रहेकाले निर्माताका समस्या र चुनौती सबै कुरा बुझेको छु,’ उदयले भने, ‘म नै निर्माता संघको अध्यक्षका लागि उपयुक्त उम्मेदवार हुँ ।’ साथीहरूसँगको छलफल र उनीहरूकै चाहनाअनुरूप अध्यक्षको उम्मेदवार बन्न लागेको उदयको भनाइ छ । सुब्बा निर्माताको पेसागत हकहितदेखि व्यावसायिक मुद्दासम्म उठाएर अध्यक्षको उम्मेदवार बन्न लागेका हुन् । उनले घोषणापत्रसहित छिट्टै उम्मेदवारी घोषणा गर्ने तयारी गरेको जानककारी दिए ।
खड्काले नदोहोर्याउने
निर्माता संघका वर्तमान अध्यक्ष नवल खड्का हुन् । उनी २०७९ भदौमा आयोजित संघको १८औँ साधारणसभाबाट निर्विरोध निर्वाचित भएका थिए । कतिपय निर्माताले अर्को कार्यकालका लागि खड्कालाई नै दोहोर्याउन चाहे पनि उनले आकांक्षा नदेखाएपछि उदय र सुनिल अध्यक्षको प्रतिस्पर्धामा उत्रिएका हुन् ।
केही निर्माता भने दुवैलाई मिलाएर निर्विरोध नेतृत्व चयनको प्रयासमा पनि जुटेका छन् । दुवैलाई मिलाउन नसके हालका अध्यक्ष खड्कालाई नै अध्यक्ष बनाउने र उनले नमाने नयाँ उम्मेदवार खोज्ने सम्मको कसरत भइरहेको छ ।
कसरी निर्वाचन ?
संघको १९औँ साधारणसभाको निर्वाचन असोज १ गतेका लागि तोकिएको छ । जसका लागि तीन सदस्यीय निर्वाचन समिति पनि गठन गरिएको छ । समितिको संयोजकमा निर्देशक राजेन्द्र सलभ, सदस्यमा वरिष्ठ पत्रकार शान्ति प्रिय र अधिवक्ता तारकुँवर श्रेष्ठ रहेका छन् ।
निर्वाचन समितिले मंगलबार मतदाता नामावली सार्वजनिक गरेको छ । निर्वाचन तालिका अनुसार उम्मेदवारको मनोनयन दर्ता कात्तिक २९ गते हुनेछ । दाबीविरोध ३० गते हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण