जेनजीका थरीथरी समूह : आवाज चर्को, शक्ति विभाजित
सारांश
- भदौ २३ र २४ गतेको आन्दोलनले नेपालमा राजनीतिक र सामाजिक क्षेत्रमा हलचल ल्यायो, तर जेनजी पुस्ता एकमत हुन सकेनन्।
- विभिन्न जेनजी समूहहरू राज्य सञ्चालनका भिन्न व्यवस्थाको माग गर्दै देखा परेका छन्, तर तिनीहरूबीच एकताको अभाव छ।
- कतिपय समूहहरूले सरकारको निर्वाचन तयारीको विरोध गरिरहेका छन् भने कतिपयले आफ्नै बाटो कोर्ने दाबी गरिरहेका छन्।
काठमाडौँ । भदौ २३ र २४ गतेको आन्दोलनले नेपालको सामाजिक क्षेत्रमा केही र राजनीतिक वृत्तमा हलचल नै पैदा गराइदिएको छ । सरकार ढलेर नागरिकस्तरबाट बनेको सरकारले नयाँ निर्वाचनको मिति तोकिसकेको अवस्था छ ।
जेनजी पुस्ताले यो परिवर्तन त ल्यायो, तर उनीहरू नै एकमत भएर संगठित हुन सकेका छैनन् । राज्य सञ्चालनका भिन्न भिन्न व्यवस्था माग गर्दै यतिबेला थरीथरीका जेनजी समूह र अलायन्सहरू देखापरेका छन् ।
आन्दोलनको आह्वान गर्ने र सहभागी हुने त छँदै छन्, आन्दोलनपछि पनि जेनजी समूहहरू बनिरहेका छन् । कोही परिवर्तनको वास्तविक हकदार आफूहरू मात्र भएको ठानिरहेका छन् त कसैले अबको बाटो आफूहरूले कोर्न सक्ने दाबी गरिरहेका छन् ।
सरकार निर्वाचनको तयारीमा जुट्दा आन्दोलनको अग्रपंक्तिमै रहेका जेनजीहरू भने एकजुट हुन सकेका छैनन् । उनीहरुको चर्को आवाज त सुनिन्छ तर शक्ति विभाजित देखिन्छ ।
- जेनजी फ्रन्ट
रक्षा बम जेनजी आन्दोलनको प्रारम्भिक चरणदेखि नै एक प्रभावशाली अगुवाको रूपमा सक्रिय छिन् । उनले भदौ २३ गते आन्दोलनकारीहरूलाई के गर्ने र के नगर्ने भन्ने सन्दर्भमा मार्गदर्शन गरेकी थिइन् । उनको नेतृत्वमा रहेको ‘जेनजी फ्रन्ट’ हालका जेनजी समूहहरूमध्ये सबैभन्दा प्रभावशाली मानिन्छ ।

यस समूहले आन्दोलनका क्रममा सेनापतिसँग वार्ता गर्नेदेखि लिएर विभिन्न राजनीतिक संवादमा समेत सक्रिय सहभागिता जनाएको छ । सांगठनिक रूपमा फ्रन्टले सातवटै प्रदेशमा संयोजकहरू तोकेको छ । यस्तै केन्द्रीय विभागहरू पनि गठन गरी देशव्यापी रूपमा आफ्नो काम अगाडि बढाएको छ ।
यस समूहका केही प्रमुख सदस्यहरू, जस्तै प्रदीप ज्ञावली र धीरज जोशी, हाल सरकारका विभिन्न पदाधिकारीहरूको सचिवालयमा कार्यरत छन् । रक्षा बमका साथै युजन राजभण्डारी र यतिस लगायतका युवाहरू जेनजी फ्रन्टमा सक्रिय रूपमा लागिपरेका छन् ।
- जेनजी मुभमेन्ट अलायन्स
जेनजीका विभिन्न साना समूहहरू मिलेर ‘जेनजी मुभमेन्ट अलायन्स’ को गठन भएको हो । जुन अहिले सक्रिय देखिएका प्रमुख जेनजी समूहमध्ये एक हो । यस समूहका धेरैजसो विचार र कार्यशैली जेनजी फ्रन्टसँग मिल्दोजुल्दो देखिन्छन् ।

मोनिका, अमित खनाल ‘ऊर्जा’ लगायतका अभियन्ताहरू यस समूहका मुख्य सदस्य हुन् । उनीहरूले समसामयिक र राजनीतिक दुवै विषयमा आफ्ना विचारहरू सार्वजनिक रूपमा राख्न थालिसकेका छन् । यस समूहले मधेस प्रदेश प्रमुखले एउटा होटलमा मुख्यमन्त्रीलाई शपथ ग्रहण गराएको कार्यको कडा विरोध गरिरहेको छ । अलायन्सले विभिन्न जिल्लाबाट समेत प्रतिनिधित्व रहेको दाबी गरेको छ । यसमा हालसम्म १२ वटा जेनजी समूहहरू रहेको अलायन्सले जनाएको छ ।
- जेनजी युनाइटेड मुभमेन्ट परिवर्तन
यो समूह ‘जेनजी युनाइटेड मुभमेन्ट परिवर्तन’ धेरै चर्चामा नआए पनि सक्रिय रूपमा काम गरिरहेको जेनजीहरूको अर्को ठूलो समूह हो । यस समूहले पूर्वी नेपालदेखि दक्षिण कोरियासम्म आफ्नो संगठन विस्तार गरिसकेको छ । जेनजी युनाइटेड मुभमेन्ट परिवर्तनले प्रधानमन्त्री, सरकारका प्रतिनिधिहरू र जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरूसँग निरन्तर संवाद गरिरहेको छ ।
_kfcbr7tary_tultf6luZA.jpg)
जेनजीहरू एकजुट हुनुपर्छ भन्ने मूल मर्म बोकेको यो समूहले जेनजी आन्दोलनबारे जनचेतना फैलाउन सडक नाटक र नृत्यजस्ता कार्यक्रमहरू आयोजना गर्दै आएको छ । पूर्वी नेपालमा र सिंहदरबारसम्म पनि उनीहरूले विभिन्न कार्यक्रमहरू गरेका छन् । सांगठनिक रूपमा ठूलो र संख्यात्मक रूपमा पनि महत्त्वपूर्ण भए तापनि यो समूह धेरै चर्चामा आएको छैन । यो समूहले सामूहिक नेतृत्वमा विश्वास राख्ने र व्यक्ति विशेषको प्रचारप्रसारमा भन्दा काममा बढी केन्द्रित गर्ने दाबी गर्दै आएको छ ।
- सुदन गुरुङको ‘हामी नेपाल’
जेनजी आन्दोलनपछि सर्वाधिक चर्चामा रहेका युवा अभियन्ताहरूमध्ये सुदन गुरुङ पनि एक हुन् । उनको नेतृत्वमा रहेको ‘हामी नेपाल’ र यस निकटको अर्को जेनजी समूह ‘द काउन्सिल अफ जेनजी’ सक्रिय छ ।
_5DjZQ0bYGB.jpg)
यो समूहले सरकारको काममा समेत हस्तक्षेपकारी प्रयास गर्ने गरेको छ । सुदन गुरुङ यस समूहका प्रमुख व्यक्ति हुन् । यस समूहमा आन्दोलनमा प्रत्यक्ष सहभागी नभएता पनि पहिलेबाट सामाजिक अभियानमा जोडिएकी अभियन्ता भावना राउत, कलाकारहरूसँग नजिकको सम्बन्ध बनाएका ओजस्वी थापा, जेम्स कार्की, खेलकुद मन्त्रीको सचिवालयमा गएका अनिल बानियाँ र खेलाडी प्रकाश खड्का लगायतका विभिन्न पृष्ठभूमिका व्यक्तिहरू रहेका छन् । सुदन गुरुङले आफ्नो समूहमा रहेका व्यक्तिहरूलाई कुलमान घिसिङको पार्टीमा केन्द्रीय नेता बनाउनुपर्ने भन्दै लबिङ गरिरहे पनि त्यसले ठोस परिणाम दिएको छैन ।
- कमन जेनजी नेपाल
‘कमन जेनजी नेपाल’ नामक जेनजी समूहले राष्ट्रिय भेला नै सम्पन्न गरिसकेको छ । यस भेलाले सातवटै प्रदेशमा इन्चार्ज र संयोजकको जिम्मेवारी तोकेको छ । जसले देशभरि संगठन विस्तार गर्ने उनीहरूको योजना देखाउँछ । राष्ट्रिय अध्यक्ष विकेश साहले आइतबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय भेलाले गरेका निर्णयहरू सार्वजनिक गरेका थिए । सार्वजनिक गरिएका जिम्मेवारीहरू अनुसार उपत्यका विशेष प्रदेशको इन्चार्जमा साहिल साह र संयोजकमा समृद्धि रेग्मी, कोशी प्रदेशको इन्चार्जमा सुशील पासवान र संयोजकमा नवीन साह, मधेस प्रदेशको इन्चार्जमा रवीन्द्र यादव र संयोजकमा प्रदीप साह, बागमती प्रदेशको इन्चार्जमा विकास झा र संयोजकमा प्रसुन्ना आचार्य रहेका छन् ।

त्यस्तै गण्डकी प्रदेशको इन्चार्जमा मुस्कान घले र संयोजकमा रीतिका परियार, लुम्बिनी प्रदेशको इन्चार्जमा विकेश यादव र संयोजकमा पवन साह, कर्णाली प्रदेशको इन्चार्जमा प्रिन्स साह र संयोजकमा सोनिया पटेल र सुदूरपश्चिम प्रदेशको इन्चार्जमा दीपेन्द्र सिंह कुँवर र संयोजकमा राजन साहलाई जिम्मेवारी तोकिएको छ ।
राष्ट्रिय भेलाले अन्तरिम संविधान निर्माण र जेनजी नेतृत्वमा नयाँ सरकार गठनलाई प्रमुख मागका रूपमा अगाडि सारेको छ । जेनजी हत्यारा र देश लुट्ने भ्रष्टाचारीहरूलाई कारबाही गर्नुपर्ने, गृहमन्त्री ओमप्रकाश अर्यालले राजीनामा दिनुपर्ने, जेनजी आन्दोलनका सहिद र घाइते परिवारलाई रोजगारी दिनुपर्ने, र जेनजी आन्दोलनका घाइतेहरूको उपचारमा भइरहेको हेलचेक्र्याइँ बन्द गर्नुपर्ने लगायतका मागहरू भेलाले उठाएको छ ।
- मिराज ढुंगानाको ‘गरिखान देऊ अभियान’
जेनजी अभियन्ता मिराज ढुंगानाले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन् तर पार्टी खोलिसकेका छैनन् । उनी ‘गरिखान देउ अभियान’ मार्फत अगाडि बढिरहेका छन् । ढुंगानाले आफ्नो दल निर्वाचनमा भाग लिनका लागि मात्रै नभई सरकारले आफ्नो ‘बटमलाइन’ पूरा नगरेसम्म निर्वाचनमा भाग नलिने बताउँदै आएका छन् । उनको प्रमुख मुद्दा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली हो जसलाई उनले आफ्नो आन्दोलनको मुख्य आधारशिला मानेका छन् ।

ढुंगानाले भनेका छन्, ‘बटमलाइन पूरा नभई हामी चुनावमा जान तयार छैनौँ । प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा भनेको हाम्रो वान अफ द बटमलाइन हो, यसलाई सुन्नैपर्छ । यो बिना कतै पनि जानेवाला छैनौँ ।’ उनले पार्टी खोल्नुको अर्थ चुनाव लड्न नभएको जिकिर गर्दै संगठित भएर अगाडि बढ्नका लागि र निर्देशन कसले दिने भन्ने स्पष्टताका लागि यो कदम चालिएको बताउँदै आएका छन् ।
- जेनजी एकता अभियान नेपाल
सातवटा विभिन्न जेनजी समूहहरूले एकता घोषणा गरेर ‘जेनजी एकता अभियान नेपाल’ नामक अर्को समूह गठन गरेका छन् । यस अभियानले आफू र जनताको भावनाअनुसार काम गर्न नसकेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामाको माग गरेको छ ।

यस समूहको संयोजक सुप्रिया नेपाली छिन् । जेनजी एकता अभियान नेपालका प्रवक्ता विरजन विश्वकर्माले जेनजी परिषद्, जेनजी २.०, जेनजी पिपुल, रियल जेनजी मुभमेन्ट नेपाल, जेनजी नेपाल, एनटेक–जेड, र अछाम जेनजी ग्रुप गरी ७ वटा समूहबीच एकता भएको जानकारी दिएका थिए ।
- स्वतन्त्र जेनजी समूहहरू
ठूला समूहहरूसँग नजोडिएका नेपालमा अन्य थुप्रै साना र स्वतन्त्र जेनजी समूहहरू पनि सक्रिय छन् । यी समूहहरूले विभिन्न स्थानीय मुद्दाहरू, सामाजिक सञ्जालमा बहस, चेतना जगाउने अभियान र कहिलेकाहीँ ठूला जेनजी आन्दोलनका समर्थनमा कार्यक्रमहरू आयोजना गर्छन् । यिनीहरू प्रायः कुनै विशेष नेताको नेतृत्वमा भन्दा पनि सामूहिक रूपमा सक्रिय भइरहेका छन् । तनुजा पाण्डे, विकास रसाइली, सचिन भट्टराईजस्ता जेनजी अगुवाहरू कुनै समूहमा नबसी आफ्नो ढंगले आवाज उठाइरहेका छन् ।

- एक हुन सकेनन्
थरीथरीका जेनजी समूह भए पनि एक भएर अगाडि बढ्न सकेका छैनन् । जेनजी युनाइटेड मुभमेन्ट परिवर्तनकी अभियन्ता ज्योतिका फुर्केली भन्छिन्, ‘हामीले सबै एक ठाउँमा आउनुपर्छ भनेर बारम्बार आग्रह गर्यौँ, अरू समूहका साथीहरूलाई पनि भेट्यौं तर एक भएर जानै नखोजेपछि हामीले आफ्नो ढंगले काम गरिरहेका छौं,’ उनले भनिन् ।
फुर्केलीजस्तै अन्य समूहहरूका अभियन्ता पनि जेनजीहरू एक भएर अगाडि बढ्नुपर्ने बताउँदै आएका छन् । उनीहरू विभिन्न फोरम र राजनीतिक कार्यक्रममा पनि एक भएर अगाडि बढ्ने प्रयास गरेपनि नतिजाले भने त्यस्तो देखिँदैन ।
जेनजी फ्रन्टकी संयोजक रक्षा बम आन्दोलनको मर्म र संविधानको भाव बुझेर हिँड्ने अभियन्ताहरूलाई फ्रन्टले समेट्ने बताउँदै आएकी छिन् । अन्य समूहहरूले पनि यही भन्दै आएपनि समग्रमा एक भएको देखिँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण