बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
जेनजी अभियन्ता प्रवेश दाहालसँग संवाद

‘म चुनावमा उम्मेदवार बन्न मिल्दैन, नयाँ अनुहारहरुलाई सघाउँछु’

‘सरकार बन्दा नै आन्दोलनका माग संस्थागत हुनुपर्थ्यो, भएन’
बुधबार, २६ कात्तिक २०८२, २० : ००
बुधबार, २६ कात्तिक २०८२

विराटनगर । जेनजी आन्दोलनपछि काठमाडौंमा दिएको एक भाषणले रातारात चर्चामा आएका युवा हुन्, २१ वर्षीय प्रवेश दाहाल । सामाजिक सञ्जालमा उनको भाषण भाइरल भएपछि धेरैले उनलाई प्रखर वक्ता र भविष्यको नेताको रूपमा हेरे । कतिपयले त उनलाई दिवंगत नेता मदन भण्डारीको ‘दोस्रो रूप’ को उपमा समेत दिए । 

आन्दोलनले जन्माएको एक सशक्त युवा आवाजको रूपमा स्थापित प्रवेश आन्दोलनपछिको वार्ता समितिमा समेत सक्रिय थिए । पछिल्लो राजनीतिक घटनाक्रम, नयाँ दलहरूको उदय र आउँदो निर्वाचनको सन्दर्भमा उनी के सोच्छन् ? मदन भण्डारी र जबजप्रतिको उनको बुझाइ के हो ? यिनै विषयमा केन्द्रित रहेर उनीसँग गरिएको कुराकानीको सम्पादित अंश :

जेनजी आन्दोलनपछि काठमाडौंमा तपाईंले दिनुभएको एउटा भाषण भाइरल भयो र तपाईंलाई ‘मदन भण्डारीको दोस्रो रूप’ भनेर प्रचार गरियो । तपाईंले समग्रमा मदन भण्डारीलाई कसरी बुझ्नुभएको छ ?

मदन भण्डारी एउटा जनताको नेता र जनताको आवाज उठाउने मान्छे हुनुहुन्थ्यो । उहाँको पृष्ठभूमि र राजनीतिक विचारहरू बुझ्दा उहाँले आफ्नो एजेन्डा र भिजन बनाएरै राजनीतिक दल बनाउनुभएको थियो । उहाँ अहिले पनि जनताको जनमानसमा बसिरहनुभएका व्यक्ति हुनुहुन्छ र उहाँको आवाज अझै पनि मानिसको कानमा गुञ्जिरहन्छ । उहाँलाई जनताको पक्षको नेता हो भन्न सकिन्छ ।

त्यसो भए तपाईं मदन भण्डारीबाट प्रेरित हुनुहुन्छ भन्न मिल्छ ?

मदन भण्डारीप्रति प्रेरित भन्दा पनि उहाँका विचारहरू मनपर्छ ।

मदन भण्डारीले लिनुभएको मुख्य विचार भनेको ‘जबज’ (जनताको बहुदलीय जनवाद) हो । जबजको बारेमा तपाईंको बुझाइ के हो ?

जनताको बहुदलीय जनवाद मदन भण्डारीको विचार हो । उहाँको छुट्टै भिजन हो । तर अहिले चाहिँ उहाँको नाम बेचेर पार्टी चलिरहेको छ भन्नुपर्छ । जबज भनेको बहुदलीय प्रतिस्पर्धामा कम्युनिस्ट पार्टीहरूलाई पनि समाहित गर्ने, जनताबाट निर्वाचित भएर श्रेष्ठता हासिल गर्ने एउटा नीति हो ।

Prabesh Dahal

तपाईंलाई जेनजी मुभमेन्टको एक अगुवाको रूपमा हेरिएको छ । जेनजी आन्दोलन, सरकार निर्माणलगायत अहिलेसम्मका गतिविधिहरूलाई कसरी हेर्नुभएको छ ?

हो, त्यसपछि हामी वार्ता समिति बनाएर छलफलमा गयौं । जेनजीहरूको एकता हुनेमा हामी बस्यौं, तर जेनजीको पार्टी नै बनाउनेमा हामी बसेका थिएनौं । हाम्रो मुख्य माग यो आन्दोलनलाई संस्थागत गर्नुपर्छ भन्ने हो । सरकार बन्दा नै आन्दोलनका माग संस्थागत हुनुपर्थ्यो, त्यो भएन । तर अझै पनि यो आन्दोलन संस्थागत हुनुपर्छ । यसका निम्ति हामी जुनसुकै ठाउँमा पनि उपस्थित हुन तयार छौं ।

तपाईंहरुको माग भ्रष्टाचार विरोधी थियो । नयाँ सरकार बनेपछि भ्रष्टाचार छानबिनको पहल भइरहेको छ ?

देशमा भ्रष्टाचार व्याप्त थियो । नेपालका सबै जनता यसबाट वाक्कदिक्क थिए । जेनजीहरु पनि त्यो विषयमा जानकार थिए र अब भ्रष्टाचार अन्त्यको पहल आफैंले गर्नुपर्छ भनेर आन्दोलनमा होमिए । आन्दोलन सफल पनि भयो । तर त्यसपछि बनेको सरकारले २०४७ सालयताका सार्वजनिक पद धारणा गरेका राजनीतिक तथा प्रशासनिक व्यक्तिहरुको सम्पत्ति छानबिनको पहल गरेको छैन । 

हामी यो सरकारलाई तत्कालै भ्रष्टाचार छानबिनको लागि सशक्त आयोग बनाएर काम अगाडि बढाउन आग्रह गर्छौं । भ्रष्टाचार गर्नु भनेको विदेशमा रहेका नेपाली युवाको रगत र पसिनामा पौडी खेल्नु हो । त्यसकारण यसको छानबिनका लागि सरकार गम्भीर बन्नुपर्छ ।

तपाईंको मुख्य राजनीतिक एजेन्डाहरू के–के हुन् ? तपाईंले प्रत्यक्ष निर्वाचित कार्यकारी र प्रदेश खारेजीको कुरा उठाउँदै आउनुभएको छ नि ?

हाम्रो धारणा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री नै हो । जहाँसम्म प्रदेशको कुरा छ, हामीले प्रदेश खारेज नै हो भनेका छौं । तर यदि त्यो सम्भव नभए प्रदेशको संरचनालाई मितव्ययी बनाउन सकिन्छ । प्रदेशको आर्थिक भार धेरै भयो, त्यो भारलाई घटाउनुपर्छ । प्रदेशसभाका सांसदहरूलाई घटाएर प्रदेश परिषद् बनाउन सकिन्छ । 

मुख्य कुरा आर्थिक भार घटाएर जनताका समस्या समाधान गर्नेतर्फ लाग्नुपर्छ । विद्यार्थी संगठन, शिक्षक संगठन, कर्मचारी संगठनहरु गैरराजनीतिक संगठन बन्नुपर्छ । किसान, मजदुरको नाममा राजनीति बन्द हुनुपर्छ । 

आउँदो फागुन २१ को चुनावमा तपाईंको भूमिका के हुन्छ ? कतिपयले तपाईंलाई नेता बनेर चुनाव लड्नुपर्छ भनिरहेका छन् नि ?

अहिले तत्कालका लागि राजनीतिमा प्रवेश गरिहाल्ने अवस्था देखिएको छैन । मेरो उमेरले पनि चुनावमा उम्मेद्वार बन्न मिल्दैन । तर यो समाजमा भएका बेथिति, भ्रष्टाचार, अन्याय र अत्याचारका विरुद्ध हाम्रो आवाज उठिरहन्छ । म नयाँ अनुहारहरूलाई सघाउनेछु । अहिले चुनावको तयारीमा मेरो त्यत्रो चासो छैन । मेरो चासो सहिद परिवार र घाइतेहरूको सपना पूरा गर्नुपर्छ भन्नेतर्फ हो ।

तपाईंहरूले नै गरेको आन्दोलनको बलमा बनेको सरकारले आन्दोलनकारीलाई नै पक्राउ गरिरहेको छ नि ? यसलाई कसरी हेर्नुहुन्छ ?

यो गलत हो । अहिले भिडियो फुटेजको आधारमा मान्छे पक्राउ गरिराखिएको छ । भिडियोमा जति क्यामेरा घुमायो, त्यति मात्र देखिने हो, नघुमाएको ठाउँको देखिँदैन । आवेशमा आएर भएका घटनाहरूमा सबैलाई कारबाही गर्ने कुरा भएन । भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगले छानबिन गरेर दोषी देखियो भने मात्रै कारबाही हुनुपर्छ भन्ने हाम्रो धारणा हो ।

निर्वाचन प्रणाली र निर्वाचनबारे तपाईंको धारणा के हो ?

आगामी निर्वाचनमा विदेशमा भएका युवाले भोट हाल्न पाउनुपर्छ । सकेसम्म बे–जिल्ला (स्थायी ठेगाना भएको जिल्ला भन्दा बाहिर) भोटको व्यवस्था हुनुपर्छ । अर्थात् कुनै व्यक्ति कामको सिलसिलामा देशको कुनै पनि क्षेत्रमा छ भने उसले आफ्नो गृह क्षेत्रको उम्मेदवारलाई र समानुपातिकतर्फको भोट आफू उपस्थित रहेको ठाउँबाटै हाल्न पाउने व्यवस्था हुनुपर्छ । यो हाम्रो मुख्य माग हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप