बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गण्डकीको मन्त्रीमण्डल फेर्न मुख्यमन्त्रीलाई दबाब, दलको बैठकमा सांसदहरुले उठाए प्रश्न

बिहीबार, २७ कात्तिक २०८२, २२ : १९
बिहीबार, २७ कात्तिक २०८२

सारांश

  • गण्डकी प्रदेशका काँग्रेस सांसदहरूले मन्त्रीमण्डल पुनर्गठनको माग गरेका छन्।
  • सांसदहरूले सरकारको गठबन्धन फेर्न र रिक्त मन्त्रालयमा तुरुन्तै मन्त्री नियुक्त गर्न सुझाएका छन्।
  • मुख्यमन्त्रीले मन्त्रीमण्डल पुनर्गठनबारे आफूले मात्रै निर्णय गर्न नसक्ने बताए।

पोखरा । गण्डकी प्रदेशका काँग्रेस सांसदहरूले मन्त्रीमण्डल पुनर्गठनको माग गरेका छन् । काँग्रेस संसदीय दलको बैठकमा उनीहरुले अहिलेको सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरू नियुक्त गर्नुपर्ने माग राखेका हुन् । केही सांसदले सरकारी गठबन्धन नै फेर्न सुझाएका छन् । ‘मन्त्री मण्डल पुनर्गठन सँगै सरकारको गठबन्धन पनि फेर्नुपर्छ । हिजो चुनावका बेला जुन एलाइन्स थियो, त्यही अवस्थामा हामी जानुपर्छ,’ एक सांसदले बैठकमा राखेको प्रस्ताव उद्धृत गर्दै बैठकमा सहभागी एक सदस्यले भने । गत चुनावमा काँग्रेस नेकपा माओवादी, एकीकृत समाजवादी सहितको दलसँग चुनावी तालमेलमा थियो । त्यसपछि केन्द्रमा बनेको गठजोडका कारण पटक पटक गण्डकीमा पनि सत्ता तलमाथि भएको छ ।

तत्कालीन गठबन्धनका सांसद (नेपाल समाजवादी पार्टी) फणीन्द्र देवकोटाले मन्त्रीबाट राजीनामा नै दिएका छन् । उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीबाट उनी बाहिरिएपछि सो मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीसँगै छ । सरकार गठनका बेला सहयोग गरेको भन्दै काँग्रेसले आफ्नो भागमा परेको कोटाबाट देवकोटालाई मन्त्री बनाएको थियो । काँग्रेसका सांसदहरूले तुरुन्तै रिक्त मन्त्रालयमा मन्त्री नियुक्त गर्न सुझाएका छन् । ‘अहिले एउटा मन्त्रालय खाली छ । त्यहाँ तुरुन्तै नियुक्त गर्नुपर्छ,’ अर्का सांसद भन्छन्, ‘बैठकमा सहभागी धेरैले आफूलाई मन्त्री बनाउन माग गरेका थिए ।’

जेनजी आन्दोलनपछि पनि प्रदेश सरकारको आचरण र कार्यशैलीमा खासै परिवर्तन नदेखिएको भन्दै पूरा मन्त्रीमण्डल फेर्नुपर्ने सुझाव सरकार बाहिर रहेका सांसदहरूको छ । ‘खाली रहेको एउटा मन्त्रालय तपाईँले लिएर बस्नुभएको छ ,त्यो एउटा कुनै साथीलाई दिनुहोस् । जसलाई दिनुहुन्छ तपाईँको अनुकूलतामा दिनुहोस्,’ सांसद भोजराज अर्यालले भने, ‘देशै भरिमा एक दुई वटा मात्रै प्रतिनिधि भएको मान्छे इस्ट राख्नुभएको थियो । कुनै एक जना मान्छे तपाईँको आफ्नो साथीलाई राखे हुन्छ ।’ अर्याल संसदीय नेताको चुनावमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग पराजित भएका थिए ।

फरक कित्तामा भएर पनि दलको नेतामा पाण्डेलाई मत दिएका समूहबाट पर्वतकी रेखा गुरुङले भूगोल, लिङ्ग र आवश्यकता हेरेर मन्त्री नियुक्त गर्न आग्रह गरिन् । ‘मुख्यमन्त्री ज्यू बचनको पक्का हुनुहुन्छ भन्ने सुनेको हो । हिजोको बचन अहिले सम्झिनुहुन्छ होला,’ उनले भनिन्, ‘आवश्यकता हेरेर सबै ठाउँ, भूगोल हेरेर, सबै जनजाति, महिला, सबै कुरालाई हेरेर मुख्य मन्त्रीले निर्णय गर्नुहुन्छ भन्ने कुरामा म विश्वास गर्छु ।’ आफैलाई मन्त्री नमागे पनि उनको आशय मन्त्री आफैलाई बनाउनुपर्ने थियो ।

सांसद चम्पादेवी खड्काले केन्द्रीय सदस्य भएकोले आफूलाई घुमाउरो हिसाबले मन्त्री माग गरिन् । ‘संविधान सभा सदस्य पनि हो । धवलागिरिमा म एक जना मात्रै हो केन्द्रीय सदस्य । पहिला पनि कुरा राखेकै हो, पछि गरौँला भन्नुभएको थियो,’ उनले भनिन्, ‘मुख्यमन्त्री ज्यूले बुझिहाल्नुभएको छ । म धेरै बोल्न पर्दैन ।’ पहिलो कार्यकालमा मन्त्री भएकाहरूले पनि आफूहरू पुरै समय काम गर्न नपाएको भन्दै पुनः मन्त्री बनाउन माग गरे ।

बैठकमा स्वकीय सचिवबारे पनि छलफल भएको थियो । एकथरीले स्वकीय सचिव आवश्यक नभएको बताएका थिए भने अर्कोथरीले स्वकीय सचिव पाउनुपर्ने माग राखे । बजेट कार्यान्वयनको सन्दर्भमा प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदहरूलाई समान व्यवहार गर्नुपर्ने सांसदहरूको माग छ ।

मुख्यमन्त्री पाण्डेले भने मन्त्रीमण्डल पुनर्गठनबारे आफूले मात्रै निर्णय गर्न नसक्ने जवाफ दिए । ‘मैले मात्रै निर्णय गरेर हुँदैन । हाम्रो दलले मात्रै निर्णय गरेर पनि हुँदैन । समग्र राष्ट्रिय राजनीति कता जान्छ हेरेर निर्णय लिनुपर्छ,’ उनले भने, ‘तपाईँहरूले उठाउनुभएको विषयमा ध्यानाकर्षण भएको छ । सल्लाह गरौँला ।’ गण्डकीमा काँग्रेस र एमालेको गठजोडको सरकार छ । जेनजी आन्दोलन नभएको भए दसैँ अगावै मन्त्रीमण्डल फेरिने चर्चा थियो । आन्दोलनपछि भने राजनीति फरक कोर्सबाट अघि बढेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप