महाधिवेशन र चुनावबारे अझै अनिर्णीत कांग्रेस, देउवाको पर्खाइ ?
काठमाडौँ । असोज २८ गतेबाट सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अझै सकिएको छैन । सभापति शेरबहादुर देउवासहित १६५ जना नेताले बैठकमा धारणा राख्नेक्रम बिहीबार सकिएको छ । तर एक महिना लामो चलेको बैठकको कुनै पनि निर्णय सार्वजनिक भएको छैन । धारणा राख्नेक्रम सकिएपछि बिहीबार बैठक रोकेर शनिबारका लागि बोलाइएको छ ।
खासमा कांग्रेसमा महाधिवेशन नियमित गर्ने कि विशेष गर्ने र फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा जाने कि विघटित प्रतिनिधिसभा पुनर्स्थापना गर्ने भन्ने विषयमा कुरा मिल्न सकेको छैन ।
बैठक सुरु भएको दिन सभापति शेरबहादुर देउवाले लिखित धारणा राख्दै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर बैठक स्थगित गरेका थिए । त्यसपछि असोज ३० गतेपछि खड्काले बैठकको अध्यक्षता गर्दै आएका छन् ।
असोज ३० गतेको बैठकमा महामन्त्री गगन थापाले विविधसहित १० एजेण्डा प्रस्तुत गरेका थिए । तीमध्ये एक महिनासम्म चलेको बैठकमा पार्टीको १५ औँ महाधिवेशन, विघटित प्रतिनिधिसभा र घोषित फागुन २१ को निर्वाचनबारे बाहेक अरू विषयमा खास बहस नै भएन भन्दा हुन्छ ।
_QF1eN9LVbC.jpg)
बैठकमा सबैभन्दा ठुलो रस्साकस्सी महाधिवेशनको विषयमा भयो । कांग्रेसमा सभापतिसँगको अनुमतिमा महामन्त्रीले बैठकमा एजेण्डाका रूपमा महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्ने परम्परा छ ।

कार्यवाहक सभापति र महामन्त्रीबिच महाधिवेशनको कार्यतालिकामा कुरा नमिलेपछि दुई कार्यतालिका बैठकमा प्रस्तुत भए । कात्तिक १९ गते महामन्त्री थापाले पुस १६ देखि १९ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन गर्ने कार्यतालिका पेस गरे । त्यसैदिन उनको कार्यतालिकालाई काउन्टर दिँदै सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि ३० गतेसम्म नियमित महाधिवेशन गर्ने कार्यतालिका पेस गरे ।
त्यति मात्रै होइन, नियमित महाधिवेशन हुन नसक्ने भन्दै २ हजार ४८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै असोज २९ गते कार्यवाहक सभापति खड्कालाई हस्ताक्षरसहितको पत्र बुझाएका छन् ।
यसले महाधिवेशनबारे कांग्रेसमा देखिएको विवाद चरमोत्कर्षमा छ । केन्द्रीय समितिमा धारणा राख्नेक्रममा महामन्त्री थापाले नियमित महाधिवेशन हुन नसक्ने अवस्थामा पुगेको भन्दै मंसिर २७ र २८ गते विशेष महाधिवेशन गर्ने नयाँ प्रस्ताव ल्याएपछि परिस्थिति झन् गिजोलिएको छ ।
यही अवस्थामा बैठक सुरु गर्दै कार्यवाहक सभापतिको जिम्मेवारी दिएर बैठकबारे कुनै वास्ता नगरेका सभापति देउवा कात्तिक १० गते राति थप उपचारका लागि भन्दै पत्नी डा. आरजु राणा देउवालाई लिएर सिंगापुर उडेका थिए । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आफ्नै निवास बूढानीलकण्ठमा मरणासन्न हुनेगरी कुटिएका देउवा दम्पतीले छाउनीस्थित सैनिक अस्पतालमा एक महिना उपचार गराएका थिए । त्यसपछि थप उपचारका लागि सिंगापुर पुगेका देउवा दम्पती शुक्रबार राति नेपाल फर्कँदैछन् ।

निकटस्थ स्रोतका अनुसार सभापति देउवा फर्केपछि उनीसँग छलफल गरेर महाधिवेशन र निर्वाचनसम्बन्धी निर्णय लिन सबैले धारणा राखिसकेपछि पनि निर्णय नगरी बैठक शनिबारका लागि बोलाइएको हो ।
यसलाई थप बल पुग्नेगरी शुक्रबार दिउँसो ललितपुरको धोबीघाटमा बसेको कार्यसम्पादन समिति बैठकमा महाधिवेशनसम्बन्धी विवाद मिलाउने जिम्मा चार नेतालाई दिन भएको प्रस्तावमा अधिकांश नेताहरूले समर्थन जनाए । त्यो प्रस्तावमा कार्यवाहक सभापति खड्काले आधिकारिक निर्णय गर्दैनन् । तर तीनै नेता देउवा नेपाल आएपछि भेट्न जाने र छलफल गरेर मध्यमार्गी उपाय खोजेर केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय गर्ने तयारी छ ।
‘कार्यवाहक सभापतिले आँट गर्न सक्नुभएन । सभापतिज्यू आएर छलफल गरेपछि दुवै कार्यतालिकालाई मिलाएर एउटा कार्यतालिकामा सहमति गर्ने तयारी छ,’ एक शीर्ष नेताले रातोपाटीसँग भने, ‘सभापतिज्यू बैठकमा आउनुहुन्न तर उहाँसँग सल्लाह गरेर उहाँकै अनुमतिमा महाधिवेशनको मिति घोषणा हुन्छ । त्यो नियमित महाधिवेशनको मितिले विशेष महाधिवेशन माग्नेहरूको पनि माग सम्बोधन हुन्छ ।’
नियमित वा विशेष महाधिवेशन कहिले गर्ने भन्ने विवाद कार्यवाहक सभापति खड्काले मिलाउन सकेका छैनन् । त्यसपछि महामन्त्रीद्वय थापा र शर्मा तथा संस्थापन पक्षकै नेताहरूले पनि सहजीकरणका देउवालाई आग्रह गरिएको नेताहरू बताउँछन् ।

बिहीबार केन्द्रीय समितिमा धारणा राख्नेक्रममा महामन्त्री थापाले आफूले नियमित महाधिवेशनको मिति प्रस्ताव गर्दा र विशेष महाधिवेशनको लागि हस्ताक्षर संकलन गर्दा देउवासँग सल्लाह गरेको बताएका थिए । महाधिवेशन, निर्वाचन र प्रतिनिधिसभा पुनःस्थापनाबारे देउवाको सल्लाहअनुरुप निर्णय हुने अर्का एक नेताले बताए ।
जेनजी आन्दोलनपछि बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेको थियो भने लोकतान्त्रिक पार्टी भएकाले निर्वाचनमा भाग लिने निर्णय गरेको थियो । वर्तमान संविधान बनाउने उपयुक्त विकल्प निर्वाचन रहेको बैठकको निर्णय थियो ।
तर पछिल्लो समय विघटित प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक रहेका श्यामकुमार घिमिरेको नेतृत्वमा पुनर्स्थापनाका लागि निर्णय गर्न पार्टीलाई दबाब दिन भन्दै हस्ताक्षर संकलन गरेपछि केन्द्रीय समितिले के निर्णय गर्छ भन्ने एकिन भएको छैन । इतर समूहले हस्ताक्षरको चर्को विरोध गरेको छ भने संस्थापन पक्षभित्रै पुनर्स्थापनाको एजेन्डामा दुई थरी मत देखिन्छ ।
घिमिरेले ४५ सांसदले हस्ताक्षर गरेर कार्यवाहक सभापतिलाई बुझाइएको बताए । बुधबार केन्द्रीय कार्यसमिति बैठकमा तत्कालीन सांसदहरूको हस्ताक्षर अघि सार्दै प्रतिनिधिसभा पुनर्स्थापनालाई पार्टीको औपचारिक एजेन्डा बनाउन घिमिरेले माग गरेका थिए । पार्टीले यसबारे कुनै निर्णय नलिए हस्ताक्षर गरेका निवर्तमान सांसदहरूका तर्फबाट सर्वोच्च अदालतमा पुनर्स्थापनाको मागसहित रिट लिएर जाने उनले बताएका थिए ।
बैठकमा धारणा राख्ने क्रममा निवर्तमान गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभा पुनर्स्थापनाको विकल्पलाई पार्टीले खुला राखेर जानुपर्ने बताएका थिए ।
कांग्रेसमा निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने अडानमा पूर्वपदाधिकारी गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, शशांक कोइराला, विजयकुमार गच्छदार र पार्टी प्रवक्ता समेत रहेका प्रकाशशरण महत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण