शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सलकपुरमा सुन्तला खान पुग्छन् पर्यटक

सोमबार, ०१ मङ्सिर २०८२, ०४ : ३७
सोमबार, ०१ मङ्सिर २०८२

सारांश

  • झापाको सलकपुरमा सुन्तला पाकेपछि पर्यटकको आगमन बढेको छ, जहाँ आन्तरिक तथा बाह्य पर्यटकहरू सुन्तलाको स्वाद लिन आउँछन्।
  • सल्कपुरमा होमस्टे सञ्चालनमा छ र यहाँका किसानले बोटबाटै सुन्तला बिक्री गरिरहेका छन्, जसले राम्रो आम्दानी गरिरहेका छन्।
  • सुरुमा दार्जिलिङबाट सुन्तला खेती सुरु भएको थियो, र अहिले यहाँका किसानले उन्नत जातका बिरुवा प्रयोग गरी व्यावसायिक खेती गरिरहेका छन्।

झापा । पूर्वीनाका काँकरभिट्टाबाट ३० किलोमिटर उत्तर प्राकृतिक रूपमा सुन्दर सलकपुरमा यति बेला सुन्तला पाकेर पहेँलपुर भएका छन् । सुन्तला पाकेसँगै यहाँ पर्यटकको आगमन ह्वात्तै बढेको छ । 

इलामको रोङ गाउँपालिका–६ सलकपुरको ९० हेक्टर क्षेत्रफलमा सुन्तलाको व्यावसायिक खेती हुँदै आएको छ । जहाँ लटरम्म पाकेका सुन्तलाका दाना बोटबाटै टिपेर खान मात्र होइन, फोटो र भिडियो खिचेर टिकटक बनाउन आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गर्छ ।

सलकपुरका करिब ३० घरमा घरवास (होमस्टे) सञ्चालन छ । प्रत्येक हप्ताको शुक्रवार र शनिवार यहाँका सबै घरवासमा पर्यटक भरिभराउ हुने वडाध्यक्ष सत्यम राईले बताए । उनका अनुसार सो क्षेत्रमा दैनिक एक सयको हाराहारीमा आन्तरिक पर्यटक सुन्तला पछ्याउँदै आउने गरेका छन् । 

उनले सलकपुरको स्वादिलो सुन्तला बोटमै टिपेर खानका लागि इलाम, झापा, मोरङ, सुनसरीदेखिका आन्तरिक पर्यटक घरवासमा बास बस्न आउने गरेको जानकारी दिए । यहाँ छिमेकी मुलुक भारतको सिलगढी, दार्जिलिङ र कोलकातातिरका पर्यटकसमेत आउन थालेको उनले बताए । 

सिङ्गो वडा नै सुन्तला खेतीका लागि प्रसिद्ध छ । यहाँको सलकपुर, कुवापानी र जौबारीलगायतको क्षेत्रमा सुन्तलाको व्यावसायिक खेती हुने गरेको छ । विगत लामो समयदेखि सुन्तलाको व्यावसायिक खेती गर्दै आएका मदन विमलीले बोटबाटै प्रतिकेजी रु १३० मा सुन्तला बिक्री गरिरहेको बताए । 

उनको बारीमा यस वर्ष तीन वर्ष यताकै राम्रो सुन्तला फलेको छ । आठ रोपनीमा लगाएको सुन्तला खेतीबाट राम्रै आम्दानी हुने गरेको उनको भनाइ छ । उनले यहाँ उत्पादित सुन्तलाको बजार झापा नै रहेको बताए । “विगतमा सुन्तला बगानमै व्यापारीलाई गोलमोटोल मूल्य राखेर दिन्थ्यौँ,” उनले भने, “यसपालि आफैँ बिक्री गरिरहेका छौँ । व्यापारीलाई दियो भने आफूले टिप्नै मिल्दैन । यहाँ आउने पर्यटकले पनि टिपेर खान्छन्, पैसा पनि तिर्छन् ।”

उनले हालसम्ममा एक क्विन्टल सुन्तला बिक्री गरिसकेको र अझै बारीमा त्यति नै टिप्न बाँकी रहेको बताए । उनले यहाँ आएका पर्यटकलाई सुन्तला बारीमा पस्नका लागि नियम बनाइएको बताए । पर्यटकले फोटो, भिडियो खिच्न र टिकटक बनाउन सुन्तला बगान खुल्ला रहे तापनि जथाभाबी टिप्न नपाइने उनको भनाइ छ ।

सलकपुरकै देवेन खड्काले १० रोपनी जमिनमा सुन्तलाको खेती गरेका छन् । उनले यहाँ सुन्तलाबारीमा रमाउन र सूर्योदयको अवलोकन गर्न पर्यटक आउने गरेको बताए । सलकपुरमै रहेको गुर्धुम डाँडाबाट सूर्योदयको दृश्यावलोकन गर्न सकिने हुँदा पनि यो स्थान पर्यटकको रोजाइमा परेको उनको भनाइ छ । 

विसं २००४ मा दार्जिलिङबाट आएर बसोबास गरेका गौरीलाल लामाले यहाँ सुन्तला खेती सुरु गरेका थिए । सुरुमा दार्जिलिङबाट बिरुवा ल्याएर खेती सुरु गरे तापनि हाल पाल्पाबाट उन्नत जातका सुन्तलाको बिरुवा ल्याएर व्यावसायिक खेती भइरहेको उनले बताए । “झापादेखिका व्यापारीले सुन्तला बोटमै खरिद गर्छन्,” उनले भने, “उत्पादनमा मात्र ध्यान दिए पुग्छ, बजारको समस्या छैन ।” 

सुन्तला, अलैँची, अकबरे, अम्लिसो, महलगायतका कृषिजन्य सामग्री उत्पादनले प्रसिद्ध सलकपुरमा नेपालका विभिन्न ठाउँबाट त्यसैको अध्ययनका लागि पनि पर्यटक आउने गरेको वडाध्यक्ष राईको भनाइ छ । यहाँ उत्पादित सुन्तला भारतको कोलकातामा हुने सुन्तला महोत्सवसमेतमा प्रत्येक वर्ष प्रदर्शन र बिक्रीका लागि लैजाने गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप