मधेस प्रदेशका सभामुखको निर्णयविरुद्धको रिटमा सुनुवाइ सुरु
सारांश
- मधेस प्रदेशका ५ सांसद पदमुक्त गर्ने सभामुखको निर्णयविरुद्धको रिटमा सुनुवाइ सुरु भएको छ।
- सभामुखले जसपा र नागरिक उन्मुक्ति पार्टीका ५ सांसदलाई पदमुक्त गरेपछि उनीहरूले सर्वोच्चमा रिट दायर गरेका थिए।
- रिट निवेदनमा मधेस प्रदेशसभा सचिवालय, सचिव र सभामुखलाई प्रतिवादी बनाइएको छ।
काठमाडौँ । मधेस प्रदेशका पदमुक्त भएका ५ सांसदले प्रदेश सभामुखको निर्णयविरुद्ध दिएको रिटमा सुनुवाइ सुरु भएको छ । सञ्जयकुमार यादवसहित पदमुक्त भएका ५ जनाले दिएको रिट निवेदनको सुनुवाइ न्यायाधीश नित्यानन्द पाण्डेको इजलासमा भइरहेको छ ।
मधेस प्रदेशसभा सचिवालयले लगातार १० वटा बैठकमा हाजिर नभएको भन्दै बर्खास्त गरेपछि सो निर्णयविरुद्ध ५ जना प्रदेशसभा सदस्य रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् ।
मधेस प्रदेशका सभामुखले जसपाका ४ र नागरिक उन्मुक्ति पार्टी एक गरी ५ जना सांसदलाई पदमुक्त गर्ने निर्णय गरेका थिए । नागरिक उन्मुक्ति पार्टीकी उर्मिलादेवी सिंह, जसपा नेपालका मनिषकुमार सुमन, सञ्जयकुमार यादवका साथै सिंहासन सा कलवार र शारदा शंकरप्रसाद कलवारलाई सभामुख मण्डलले गत बिहीबार पदमुक्त गरेका हुन् ।
निवेदकहरूले मधेस प्रदेशसभाको सचिवालय, मधेस प्रदेशका सचिव र मधेस प्रदेशसभाका सभामुखलाई प्रतिवादी बनाएर रिट निवेदन दिएका छन् ।
गत बिहीबार नेपाली कांग्रेससहित ७ दलका ६४ जना प्रदेशसभाका सदस्यले सभामुख रामचन्द्र मण्डलविरुद्ध पद अनुकूल आचरण नगरेको प्रस्ताव दर्ता गराउन पुगेपछि सोही राती नै त्यसको काउन्टरमा प्रदेशसभा सचिवालयले जनता समाजवादी पार्टी (जसपा) नेपालका ४ जना र नागरिक उन्मुक्ति पार्टीका एक जना गरी ५ जनालाई पदमुक्त गरेको सूचना जारी गरेको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण