विप्लव या प्रचण्ड : कसले तोड्यो एकताको बाचा ?
सारांश
- समाजवादी मोर्चा नेपाल विघटन, विप्लवले राष्ट्रिय स्वाधीनता र भ्रष्टाचार विरुद्धको संघर्षमा मोर्चा असफल भएको आरोप लगाए।
- माओवादी केन्द्र, एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टीबीच एकता भएपछि प्रचण्ड-विप्लवको पार्टी बनाउने प्रयास रोकियो।
- प्रचण्ड र विप्लवबीचको बुझाइमा भिन्नताका कारण एकता हुन नसकेको र जेनजी विद्रोहलाई बुझ्ने दृष्टिकोणमा पनि फरक पाइयो।
एकता गर्ने उद्देश्यसहित दुई वर्ष अघि बनाइएको समाजवादी मोर्चा नेपाल, आफ्नो घोषित गन्तव्यमा नपुग्दै विघटित भएको छ । मोर्चाका संयोजक विप्लवले कात्तिक २६ गते एक विज्ञप्तिमार्फत राष्ट्रिय स्वाधीनताको रक्षा, राज्यको पुनर्संरचना र भ्रष्टाचार विरुद्धको सङ्घर्ष अगाडि बढाउने काममा समाजवादी मोर्चा असफल भएको भन्दै आफ्नो पार्टी मोर्चाबाट अलग भएको घोषणा गरेका छन् ।
त्यस्तै मोर्चामा आबद्ध तत्कालीन नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी पार्टी र महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीबिच हालै पार्टी एकता भई नेपाली कम्युनिस्ट पार्टी गठन हुनु र उक्त एकता प्रक्रियामा नेपाल कम्युनिस्ट पार्टी सहभागी नहुनुले फेरि प्रचण्ड–विप्लवसहितको एउटै पार्टी बनाउने प्रयासमा तत्कालका लागि विराम लागेको छ ।
सहिद तथा बेपत्ता परिवार, घाइते योद्धादेखि उत्पीडित र उपेक्षित वर्गको ठुलो हिस्साले समग्र कम्युनिस्ट आन्दोलन लगायत माओवादी आन्दोलनको एकतामार्फत सामाजिक/आर्थिक रूपान्तरण, स्थायित्व, शान्ति र समृद्धिको जुन आशा गरेका थिए, त्यो दिशामा ठोस काम हुन नसकेको महसुस भएको छ ।
राजनीतिक दलहरू विशेषगरि कम्युनिस्ट पार्टीहरू भित्र देखिएको एकता, ध्रुवीकरण, फुट, विभाजन र विवादका जारी प्रक्रियासँगै माओवादी केन्द्र र नेकपाबिचको सम्भावित एकता वा पुनर्गठनको काम किन हुन सकेन ? यसका अवरोध र समस्याहरू के–के छन् ? एकताको वातावरण बिथोल्न कुन शक्तिको भूमिका रह्यो ? विप्लव वा प्रचण्डमध्ये कसका कारण एकता बिथोलियो ? आदि प्रश्नहरू भने तत्कालका लागि चासोका विषय बनेका छन् ।
- बुझाइमा रहेको अन्तर
१० वर्ष लामो जनयुद्ध लडेर आएको माओवादी पार्टी शान्ति प्रक्रियामा आएपछि आन्दोलनमा विभाजनको प्रक्रिया सुरु भयो । हाल माओवादी आन्दोलनबाट आएका विभिन्न पार्टीको हिसाब गर्दा करिब दुई दर्जन माओवादी घटकहरू विभिन्न नाममा छरिएका देखिन्छ । यसरी माओवादी आन्दोलन टुक्रिँदै जानुले एकातिर युद्धमा त्याग र बलिदान गरेका जनतामा पीडा थपेको छ । अर्कोतिर जनयुद्धको अपराधीकरण गर्दै त्यसका उपलब्धि निषेध गर्ने प्रवृत्तिलाई बढवा दिएको छ ।
त्यसकारण आवश्यकता र चेतनाबोधले नै माओवादी आन्दोलनको रूपान्तरण र एकतालाई प्रेरित गरिरहेको प्रस्ट छ ।
नेताहरूबिच भएका पटक–पटकका छलफल, अन्तरक्रिया, भेटघाट, बहस र वार्तालाई हेर्दा प्रचण्ड–विप्लव एकताबद्ध हुनुपर्ने कुरामा जोड दिइए पनि त्यसको बस्तुगत आवश्यकतामा समान बुझाई देखिएन । प्रचण्डका लागि विप्लवसँगको एकता संसदीय व्यवस्था अन्तर्गत केही सिट थप्न र पुरानै पार्टीका मान्यतालाई बल पुर्याउनमा केन्द्रित देखियो भने विप्लवका लागि माओवादी आन्दोलनको एकीकरण गर्दै क्रान्तिको कार्यभार पुरा गर्नु थियो ।
यी दुई भिन्न सोचाइ र अपेक्षाकाबिच कार्यदिशा र कार्यनीतिमा ठोस बुझाई नै बन्न सकेन ।
- विभाजनको समीक्षा र मूल्यांकन
शान्ति प्रक्रियापछि माओवादीमा विभाजन र फुट अनिवार्य हुन पुग्यो । नेपालमा नौलो जनवादी राज्य व्यवस्था कायम गर्न लडिएको जनयुद्ध बुर्जुवा लोकतान्त्रिक गणतन्त्रमा आएर टुङ्गियो । यसैले पार्टीमा वैचारिक बहसलाई चुलीमा पुर्याइदियो ।
बालाजु विस्तारित बैठक, खरिपाटी भेला हुँदै पालुङटारमा सम्पन्न सातौँ विस्तारित बैठकसम्म आउँदा पार्टीभित्र ‘शान्ति र संविधान’ को बाटोमा अघि लाग्ने वा त्यसविरुद्ध विद्रोहको झन्डा उठाउँदै क्रान्तिलाई पुनर्गठित गर्ने भन्ने विषयमा पार्टी भित्र दुई धार देखा प¥यो । प्रचण्डकै नेतृत्वमा आन्दोलनलाई गन्तव्यमा पुर्याउन गम्भीर छलफल र प्रयास नभएका होइनन् तर त्यो सम्भव भएन ।
त्यसपछि ०७९ मा नेकपा (माओवादी) को पुनर्गठन गरियो र काठमाडौँको कमलादीमा सातौँ महाधिवेशन भयो । महाधिवेशनले जनयुद्धको जगमा जनविद्रोहको लाइन पारित ग¥यो । त्यसको दुई वर्षपछि नेकपा महासचिव विप्लवको नेतृत्वमा ०७१ मङ्सिर ८ गते पार्टीको पुनर्गठन गर्दै क्रान्तिको कार्यदिशामा ‘एकीकृत जनक्रान्ति’ थपियो ।
पार्टी भित्र उठेका फरक मत र विचारलाई प्रचण्डले जहिल्यै गलत रूपमा विश्लेषण गरिरहे । प्रचण्ड आफैले धेरै नभने पनि उनी वरपरका नेताहरूले फुटको औचित्य पुष्टि नभएकाले बिना सर्त एकतामा आउनुको विकल्प नरहेको भनिरहे । जबकि खासमा प्रचण्ड–बाबुरामले सहमति र सम्झौताका नाममा माओवादी आन्दोलनका उपलब्धिलाई नै तिलाञ्जली दिँदै गए त्यसको विकल्पमा आन्दोलनको उपलब्धि रक्षाका लागि एउटा शक्तिले सङ्घर्ष गर्नै पर्थ्यो ।
पछिल्लो जेनजीको आन्दोलनसम्म आइपुग्दा मुलुक र जनताका समस्या थप विकराल र विस्फोटक स्थितिमा पुगेका छन् । यसलाई राज्यका परम्परागत संरचना र नागरिक अपेक्षाबिचको अन्तर्विरोध वा बेमेलका अर्थमा ग्रहण गर्दै अगाडिको बाटो तय गर्नुको विकल्प देखिँदैन ।
तर, प्रचण्ड पक्षधरहरूले विप्लवले एकीकृत पार्टीको अध्यक्ष माग गरेकाले एकता नभएको भनिरहेका छन् । हाम्रा लागि तत्कालको अवसर र शक्तिका खातिर सिद्धान्तहीन एकताको कुनै औचित्य छैन । एकीकृत जनक्रान्तिको सिद्धान्तमा अघि बढेको पार्टीका लागि चुनाव केन्द्रित एकताको खास कुनै अर्थ छैन ।
- जेनजी विद्रोहको बुझाइमा अन्तर
भदौ २३–२४ गते राजधानी काठमाडौँ लगायत देशका विभिन्न क्षेत्रमा भएको जेनजी विद्रोह र त्यसलाई बुझ्ने सवालमा दुई पार्टीमा ठुलो अन्तर देखिन्छ ।
सामान्य रूपमा भन्दा पछिल्ला दुई दशकयता सत्ता र शक्तिका लागि काँग्रेस, एमाले र माओवादी अथवा भन्नुस् देउवा, ओली र प्रचण्डबिच मिलेमतोमा भएका भ्रष्टाचार, कुशासन एवं उनीहरूको अक्षमताका विरुद्ध भएको जनआक्रोश हो जेनजी आन्दोलन । विद्रोह अन्ततः दलाल पुँजीवादी उत्पादन सम्बन्धको संरचनागत दुष्परिणामको नतिजा थियो । र, यसलाई अधुरो क्रान्तिको वस्तुगत आवश्यकताको संकेतका रूपमा पनि बुझ्न सकिन्छ ।
तर, माओवादी केन्द्रले यसलाई गम्भीरतापूर्वक लिएको देखिएन । मुलुकको आजको संकटलाई क्रान्तिकारी परिवर्तनद्वारा निकास नदिने हो भने देश झनै बढी संकटमा फस्दै जाने निश्चित छ तर उनीहरू गम्भीर छैनन् । प्रचण्ड तत्काल संसदीय व्यवस्था भित्रको तानाबानाबाट बाहिर निस्कन सक्ने देखिएन ।
तर ठिक यति नै बेला विश्वमा अहिले परिवर्तनका ठुला स्पन्दनहरू सुनिन थालेका छन् । अमेरिकी प्रभुत्वको एकध्रुवीय विश्व बहुध्रुवीय बन्दैछ । र, शक्ति सन्तुलनले ल्याउने नयाँ विश्व व्यवस्थाले विश्वभर फेरि एक पटक समाजवादी आन्दोलनको नयाँ लहर आउने सम्भावनालाई बढाई दिएको छ । अब समाजवादी क्रान्ति दुरक्षितिजको सपना नभई हाम्रै जीवनमा महसुस गर्न सक्ने व्यवस्था हुन सक्ने सम्भावना ज्यादा छ ।
त्यसैले हामीलाई असल र सिद्धान्तनिष्ठ कम्युनिस्ट पार्टीको खाँचो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण