बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेस, एमाले र माओवादीलाई नै बोकाएर राजा ल्याउने हो : अध्यक्ष लिङ्देन

सोमबार, ०१ मङ्सिर २०८२, १७ : २४
सोमबार, ०१ मङ्सिर २०८२

सारांश

  • राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले गणतन्त्रवादी दलहरूले नै राजा ल्याउने दाबी गरे।
  • उनले राजसंस्था ल्याउने विषयमा कांग्रेस, एमाले र माओवादीसँग कुरा भइरहेको बताए।
  • लिङदेनले फागुन २१ अघि देशलाई निकास दिनुपर्ने र चुनावमा राप्रपा पहिलो पार्टी बन्ने दाबी गरे।

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा अब गणतन्त्रवादी दलहरूले नै बोकेर राजा ल्याउने बताएका छन् । पोखरा महानगरको अधिवेशनलाई सम्बोधन गर्दै उनले साे कुरा बताएका हुन् । उनले आफूहरूले ल्याउने राजा राप्रपाको मात्रै हुने भएकोले अब आउने राजा देशकै अभिभावक हुने र त्यो अहिलेका गणतन्त्रवादी दलहरूले नै बोकेर ल्याउने दाबी गरे ।

‘हामीले ल्याउने राजा हाम्रो मात्रै आउँछन्, आए भने पनि धेरै नटिक्न सक्छन्,’ उनले भने– ‘अब ल्याउने राजा देशको राजा हो । हामीले राजसंस्था ल्याउने हो तर त्यो कांग्रेस, एमाले र माओवादीलाई बोकाएर ल्याउने हो ।’ जेनजी आन्दोलनकै क्रममा राजसंस्था ल्याउनुपर्ने आवाज उठे पनि समय आएपछि मात्रै कदम चाल्नुपर्ने उनको तर्क छ ।

गणतन्त्र मान्ने दलहरूले नै आफूहरूसँग राजसंस्था ल्याउने विषयमा कुरा गरिरहेको भन्दै लिङ्देनले गणतन्त्र राष्ट्रिय एकताको दृष्टिकोणले खतरनाक भएको बताए ।  ‘तपाईंहरुले राम्रै विचारले राम्रै सोचले गणतन्त्र ल्याउनु भएको थियो होला । तर त्यो आज असल असफल साबित भयो,’ अघि भने- ‘तसर्थ राजा, राजनीतिक दल र जेन्जीको बिचमा एउटा सर्वपक्षीय सम्मेलन गरेर नेपाललाई सुहाउँदो मौलिक व्यवस्था निर्माण गर्न जरुरी छ ।’

उनले फागुन २१ को चुनावअघि नै देशलाई निकास दिनुपर्ने बताएका छन् । ‘चुनावको कुनै औचित्य छैन । तर चुनाव भयो भने एउटा राष्ट्रिय पार्टीको हिसाबले हामीले चुनावमा पनि भाग लिन्छौँ,’ लिङ्देनले भने–  ‘चुनाव हाम्रो प्राथमिकता होइन । चुनावभन्दा अगाडि नै देशले एउटा निकास पाउनुपर्छ भन्ने हाम्रो प्राथमिकता हो ।’ 

यसैका लागि पार्टीको केन्द्रीय समिति बैठक डाकिएको भन्दै बैठकबाट निर्णय गर्ने उनको भनाई छ । चुनावमा सहभागी भए राप्रपा नै पहिलो दल हुने उनको दाबी छ । ‘यही अवस्थामा चुनाव भयो भने र हामीले राम्रो मेहनत गर्‍यौँ भने राप्रपा नेपालको पहिलो पार्टी बन्छ,’ उनले भने- ‘मेहनत गर्नुपर्‍यो, ठिक उम्मेदवार उठाउनुपर्‍यो । आफ्नै पार्टीलाई भोट हाल्नुपर्‍यो ।’ 

पार्टीको पदमै रहेकाहरूले समेत राप्रपालाई मत नदिएको उनको आरोप छ । अहिले गाउँमा गणतन्त्रवादी दलहरूलाई जनताले अस्वीकार गरेको अवस्थामा राप्रपा प्रमुख हुने लिङ्देनले सुनाए । 

‘अहिले कांग्रेस, एमाले, माओवादीले गाउँमा मुख देखाउन नसक्ने अवस्था छ । गाउँ गाउँका मानिसहरू कांग्रेस, एमाले, माओवादी छोडिराखेका छन्,’ उनले भने- ‘अहिले जोडिने ठाउँ नै राप्रपामा छ । अनि राप्रपाले कसरी जित्छ भन्ने ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप