बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय मञ्चमा परिचित गराउन सक्रिय डा. संगीता श्रेष्ठ ‘स्वेच्छा’

बुधबार, ०३ मङ्सिर २०८२, १० : ३७
बुधबार, ०३ मङ्सिर २०८२

सारांश

  • डा. संगीता श्रेष्ठ 'स्वेच्छा' हाल बेलायतमा बसेर नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्न सक्रिय छिन्।
  • उनको उपन्यास 'सेतो सिउँदो' पुनः प्रकाशित भएको छ र अंग्रेजीमा अनुवाद हुँदैछ, जसलाई प्रशंसा मिलेको छ।
  • स्वेच्छाले नेपाली साहित्यलाई विश्वमा चिनाउन विभिन्न कृतिहरू लेख्नुका साथै अन्तर्राष्ट्रिय मञ्चहरूमा भाग लिइरहेकी छिन्।

लन्डन । बेलायत कर्मथलो छ तर उनको तन मन मातृभूमितिरै गढेको छ । झण्डै दुई दशकदेखि बेलायत बस्दै आएकी लेखक, कवयित्री तथा अनुसन्धानकर्ता डा. संगीता श्रेष्ठ ‘स्वेच्छा’ पछिल्लो समय निरन्तर रूपमा नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय मञ्चमा परिचित गराउन सक्रिय छन्।

इन्टरनेशनल एसोसिएसन अफ आर्ट एण्ड कल्चर फर पिस (आइएएसीपी), युनिभर्सल पिस फेडेरेशन यूकेको अध्यक्ष समेत रहेकी संगीता भन्छिन्, ‘नेपाली साहित्य आफैंमा समृद्ध छ, तर यसको अन्तर्राष्ट्रिय उपस्थितिमा सुधार गर्न बाँकी छ। नेपाली साहित्यलाई विश्व मञ्चमा चिनाउने कोशिसमा जुटेकी छु, किनकि साहित्य हाम्रो पहिचानको महत्त्वपूर्ण भाग हो।’

स्वेच्छाका कविता, कथा र लेखहरू विभिन्न अन्तर्राष्ट्रिय साहित्यिक जर्नल र अनलाइन माध्यमहरूमा प्रकाशित छन्। 

सृजनशीलता, सामाजिक चेतना र अन्तर्राष्ट्रिय सम्मान

कम उमेरमै सृजनशील लेखनमा रुचि राखेकी डा. स्वेच्छा १८ वर्षकै उमेरमा ‘पखालिएको सिउँदो’ उपन्यासमार्फत नेपाली साहित्यमा उदाएकी थिइन्। मानव बेचबिखन र महिलामाथि हुने हिंसा जस्ता संवेदनशील सामाजिक विषयमा आधारित उक्त उपन्यासले व्यापक प्रशंसा पाएको थियो। सोही कृतिलाई सन् २०२४ मा बुकहिल प्रकाशनले ‘सेतो सिउँदो’ शीर्षकमा पुनः प्रकाशित गर्‍यो । हाल स्वेच्छा स्वयंले यो उपन्यासको अंग्रेजीमा अनुवाद पनि गरिरहेकी छिन् । हालसालै यस उपन्यासको पहिलो अध्यायको अंग्रजी अनुवाद बेलायतको नोभल लण्डन नामक संस्थाले निकै प्रशंसाका साथ उपन्यास पठन कार्यक्रममा स्वेच्छालाई पठनको लागि स्वीकृति दिएको थियो । यसको अंश नोभल लण्डनको युट्युव च्यानलमा संग्रहित छ ।

उनका अन्य चर्चित कृतिहरूमा ‘गुलाफसंगको प्रेम’, ‘असहमतिका पाइलाहरु’ जस्ता नेपाली कथा संग्रह छन्। साथै, गुलाफसंगको प्रेमको अंग्रेजीमा अुनुवादित ‘Rose’s Odyssey: Tales of Love and Loss’ (२०२४), उनले सम्पादन गरेको ‘The Himalayan Sunrise: Exploring Nepal’s Literary Horizon’ (Karen Van Drie सँग सह–सम्पादन) र ‘A Glimpse Into My Country’ (Andrée Roby सँग सह–सम्पादन) जस्ता अन्तर्राष्ट्रिय पुस्तकहरूले नेपाली साहित्यलाई विश्वसामु चिनाउने काम गरेका छन्। 

डा. स्वेच्छा अन्तर्राष्ट्रिय साहित्यिक मञ्चहरूमा पनि परिचित नाम हुन् । उनले विश्व साहित्यमा काम गर्ने अमेरिकामा अवस्थित संस्था Global Literature in Libraries Initiative (GLLI) अन्तर्गत ‘Nepali Literature Month – Nov 2019’ की Guest Editor का रूपमा काम गरेकी थिइन्।

‘नेपाली साहित्यको लागि यो एउठा सुनौलो अवसर थियो । महिना दिनसम्म हरेक दिन नेपाली साहित्यका विविध पाटाहरु झल्काउने विभिन्न लेखकहरुका कविता, नेपाली साहित्यसँग सम्बन्धित व्यक्तिहरुसंगको अन्तरवार्ता, किताब समीक्षा आदि पस्किन पाउनु मेरो लागि सौभाग्यको विषय पनि थियो’, संगीता भन्छिन् ।

स्वेच्छा बेलायत अविस्थित प्रकाशन गृह बुकहिल इन्टरनेशनलका संस्थापक तथा सम्पादक पनि हुन् । नेपाली साहित्यलाई विश्वमा चिनाउने उद्देश्य राखेको यो प्रकाशन गृह नेपाल स्थित अग्रणी साहित्यिक प्रकाशन गृह बुकहिलसंग सम्बन्धित छ ।

नेपाली साहित्यमा पुर्‍याएको योगदानको कदरस्वरूप स्वेच्छालाई सन् २०२३ मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले नवरत्न नारी पुरस्कार प्रदान गरेको थियो ।

डा. संगीताको साहित्य लेखन बाहेक पनि अन्तर्राष्ट्रिय विकास क्षेत्रमा त्यतिकै महत्त्वपूर्ण योगदान रहेको छ । अन्तर्राष्ट्रिय विकास संचारमा झण्डै दुई दशक अनुभव संगालेकी संगीताका विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमहरू जस्तै बीबीसी, सीएनएन, नेशनल जोग्राफिक च्यानल, यु एस ए रेडियो नेटवर्क, मेडिकल एक्सप्रेस, फिस डट अर्ग लगाएत युरोप, अ‍ेमेरिका, एशिया तथा अफ्रिकाका पत्रपत्रिकाहरुमा लेख, समाचार तथा अन्तर्वार्ता प्रकाशित छन् । अन्तर्राष्ट्रिय विकास संचारका साथै अफ्रिका तथा एशियाका गरिबीमा परेका महिलाहरुलाई शिक्षाको माध्यमबाट महिला सशक्तीकरणमा पुर्‍याएको योगदानको कदर गर्दै बेलायत स्थित अन्तर्राष्ट्रिय संस्था युनिभर्सल पिस फेडेरेशनले उनलाई  “Ambassador for Peace” उपाधिबाट सम्मानित गरेको छ ।

स्वेच्छाको लेखन केवल सिर्जनात्मक अभिव्यक्ति मात्र नभई सामाजिक परिवर्तन र चेतनाको सशक्त माध्यम पनि हो। उनका कथाहरूमा प्रायः महिलाको पीडा, संघर्ष, आत्मबल, सामाजिक अन्याय, र मानव अस्तित्वको प्रश्नहरू गहिरो रूपमा प्रस्तुत हुन्छन् । 

‘Rose’s Odyssey’ — प्रेम, पीडा र मानवीय मनोविज्ञानको गहिरो चित्रण

जयन्त शर्माद्वारा अनुवादित उनको अंग्रेजी कथा संग्रह ‘Rose’s Odyssey: Tales of Love and Loss’ मा संकलित २० थान कथाले भूगोल र भावनात्मक यात्रा दुवै पार गर्छन्। उनको लेखनमा नेपालमा बिताएको समय, अस्ट्रेलिया बसाइ र बेलायतको जीवनका अनुभवहरू स्पष्ट झल्किन्छन्।

डा. स्वेच्छा केवल महिला वा नारीवादी स्वरका रूपमा होइन, मानवतावादी दृष्टिकोणबाट लेख्ने स्रष्टा पनि हुन्। उनका कथाहरू सत्यमा आधारित, जीवन्त र आत्मीय छन्।

समीक्षकहरूले पुस्तकको शीर्षक कथा ‘Rose’s Odyssey’ लाई होमरको ओडिसीको आत्मीय समकालीन रूपमा व्याख्या गरेका छन् । प्रेम, विश्वासघात, बदला र पश्चात्तापका भावनालाई उनले मनोवैज्ञानिक गहिराइका साथ चित्रण गरेकी छन्।

त्यस्तै, पुस्तकको अन्तिम कथा डायरी शैलीमा लेखिएको छ, जसमा प्रवासी जीवनका उतार–चढाव, एक्लोपन र आत्मसंघर्ष पुरुष पात्रको दृष्टिकोणबाट प्रस्तुत गरिएको छ । समीक्षकहरूका अनुसार महिला लेखकका लागि यस्तो दृष्टिकोण ग्रहण गर्नु साहसी र मौलिक प्रयास हो।

सबैभन्दा छोटो कथा ‘राम माया’ मानव बेचबिखनको विषयमा आधारित छ, जसले थोरै शब्दमै गहिरो प्रभाव पार्छ। अर्को कथा ‘Shattered Dream’ ले महिला स्वायत्तता र अस्तित्वको विषयमा अन्तर्राष्ट्रिय साहित्यमा सशक्त उपस्थिति बनाएको छ, जसलाई टोनी मोरिसनको ‘The Bluest Eye’ सँग तुलना गरिएको छ।

अन्तर्राष्ट्रिय प्रशंसा र प्रभाव

‘Rose’s Odyssey’ का बारेमा अमेजन र अन्तर्राष्ट्रिय मिडियामा प्रकाशित समीक्षाहरू अत्यन्तै सकारात्मक छन् । डा. टामर मिखाइलले यसलाई “मनोमुग्ध पार्ने अनुभव” भनेका छन्, जबकि केतन वारिया र निर्मला करन्जीतले “जीवनका अप्रत्याशित मोडहरू र मानव मनोविज्ञानको सूक्ष्म चित्रण” को प्रशंसा गरेका छन्।

त्यस्तै, ‘White Shoes’ की लेखिका शाहद महान्वी ले पुस्तकलाई 'मानवीय भावनाको गहिरो अन्वेषण र प्रेम–विश्वासघात–सम्बन्धको आत्मपरीक्षण' भनेकी छिन्।

समीक्षक तथा लन्डनमा बसोबासरत कवि डा. रुपक श्रेष्ठका अनुसार “डा. स्वेच्छाको ‘Rose’s Odyssey’ नेपाली साहित्यको अन्तर्राष्ट्रिय रूपान्तरणको उत्कृष्ट उदाहरण हो । उनले संस्कृतिको सीमाभन्दा पर गएर मानव भावनाको सार प्रस्तुत गरेकी छन्।”

साहित्यबाट विश्वसामु नेपाली पहिचान

डा. संगीता स्वेच्छा हाल बेलायतमा रहँदै साहित्यिक लेखन, अनुसन्धान, सम्पादन र अन्तर्राष्ट्रिय सहयोगमार्फत नेपाली भाषा संस्कृतिको प्रचार–प्रसारमा सक्रिय बनिरहेकी छन् । उनी भन्छिन् ‘साहित्य कुनै सीमामा बाँधिनु हुँदैन। नेपाली साहित्यको आत्मा विश्वभर फैलिनु नै मेरो लक्ष्य हो।' 

समीक्षकहरूका भनाइमा, डा. स्वेच्छा अहिले नेपाली साहित्यलाई विश्व मञ्चमा स्थापित गर्ने नयाँ पुस्ताकी प्रतिनिधि आवाज बनेकी छन्, जसले कलमको माध्यमबाट संस्कृति, भावना र पहिचानलाई जोड्ने कार्यमा निरन्तर लागिरहेकी छिन्। 

बेलायतको सर्रे युनिभर्सिटीबाट वातावरण संचारमा विद्यावारिधि गरेकी संगीताले त्रिभुवन विश्वविद्यालयबाट मानव शास्त्रमा स्नातोकोत्तर र अष्ट्रेलियाको होमस्ग्लेन् इन्स्टिच्यूटबाट सफ्टवेयर डेभलप्मेन्टमा डिप्लोमा गरेकी छन् । 

नेपाल विद्याभूषण–२०१४ तथा महेन्द्र विद्याभूषण– २००० बाट समेत सम्मानित भइसकेकी स्वेच्छाका साहित्यिक र शैक्षिक योगदानले नेपाली तथा अन्तर्राष्ट्रिय मिडियामा व्यापक ध्यान आकर्षित गरेको छ। उनका अन्तर्वार्ता र विशेष रिपोर्टहरू बीबीसी, ग्लोबल भ्वाइस, एएलबी यूके ग्लोबल टेलिभिजन, ग्लोबल यूएसए टिभी, ससेक्स एक्सप्रेस, लन्डन वर्ल्ड न्यूजका साथै नेपाल, भारत र बंगलादेशका लोकप्रिय मिडियामा समेत प्रकाशित भएका छन् । 

विगत पाँच वर्षदेखि नेदरल्याण्डबाट प्रकाशन हुने ग्लोबल भ्वाइसमा लेखकको रुपमा अनुबन्धित स्वेच्छा नेपाली साहित्य, विश्व साहित्य तथा अन्तर्राष्ट्रिय विकाससंग सम्बन्धित व्यक्तिहरूसँग अन्तरवार्ता लिएर प्रकाशनमा ल्याउँछिन् । ग्लोबल भ्वाइसमा प्रकाशित उनका लेखहरु रसियन, इटालिएन, फ्रेन्च, रोमानियन, चाइनिज, ग्रिक, स्पेनिस, युक्रेनियन, पोर्चुगिच, इस्पेरान्टो, इग्बो, मालागासी, अरेबिक, बाँग्ला, यरुबा, सर्बियन, पोलिश, चेक आदि भाषामा अनुवादित भएर प्रकाशित भएका छन् । 

‘नेपाल र नेपाली साहित्यसँग सम्बन्धित व्यक्तिहरूको अन्तरवार्ता यसरी विभिन्न भाषामा प्रकाशन हुनु हाम्रो लागि धेरै खुशीको कुरा हो ।’, संगीता भन्छिन् । 

विश्वका विभिन्न भागबाट योगदान गर्ने व्यक्तिहरूको सहयोगमा उनको विकिपीडिया पृष्ठ पनि तयार भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप