बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

तनहुँमा मकै उत्पादन बढ्यो

बिहीबार, ०४ मङ्सिर २०८२, ०८ : ५५
बिहीबार, ०४ मङ्सिर २०८२

सारांश

  • तनहुँको दुम्सीस्थित दरै सामुदायिक घरबासमा मकैको माचमा फोटो खिच्न र टिकटक बनाउन पर्यटक आकर्षित भएका छन्।
  • गत वर्षको तुलनामा यस वर्ष तनहुँमा मकै उत्पादन बढेको छ, जसका कारण घरैपिच्छे मकैका सुलीहरू देखिन्छन्।
  • कृषि विकास कार्यालयका अनुसार आव २०८१/८२ मा २२ हजार १९५ हेक्टरमा गरिएको खेतीबाट ७३ हजार २४६ मेट्रिक टन मकै उत्पादन भएको छ।

तनहुँ । व्यास नगरपालिका–१० दुम्सीस्थित दरै सामुदायिक घरबास (होमस्टे) पुग्नेबित्तिकै अग्ला मकैका माच देखिन्छन् । यहाँ आउने जोकोही थाङ्ग्रो देखेर अचम्म मान्छन् । 

दरै सामुदायिक घरबासका सञ्चालक आशा दरै भन्छन्, “यही माचमा फोटो खिच्न र टिकटक बनाउन पाहुनाहरू व्यस्त हुन्छन् । विगतका वर्षमा ठूलो सुली भए पनि एउटा मात्रै थियो । यस वर्ष धेरै मकै फल्यो सुली पनि विशाल छ ।” यो वर्ष पर्याप्त उत्पादन भएका दुम्सीका घरैपिच्छे मकैका सुली भेटिन्छन् ।

विगतमा मकै लगाउने बेला तथा गोड्ने बेलामा किरा लाग्नुका साथै मलको अभाव किसानले बेहोर्नुपरेको थियो । यो वर्ष समस्या नभएकाले जिल्लामा पर्याप्त मकै उत्पादन भएको कृषि विकास कार्यालयका बाली विकास अधिकृत किरण परियारले बताए ।  

आव २०७९/८० मा २२ हजार २३८ हेक्टर क्षेत्रफलमा गरिएको मकैखेतीबाट ६७ हजार १५ मेट्रिक टन उत्पादन भएको थियो । २०८०/८१ मा २२ हजार ३४८ हेक्टर क्षेत्रफलबाट ६७ हजार २०० मेट्रिक टन मकै उत्पादन भएको थियो भने उत्पादकत्व तीन दशमलव ०१ रहेको थियो । आव २०८१/८२ मा २२ हजार १९५ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट ७३ हजार २४६ मकै उत्पादन भएको छ । 
    
“तनहुँ धानका साथै मकै उत्पादनको क्षेत्र पनि हो । जिल्लाको ऋषिङ गाउँपालिका नै पहिले मकैको बीउ उत्पादनको पकेट क्षेत्र हो”, बाली विकास अधिकृत परियारले भने। तनहुँ धान, मकै, कोदो, गहुँ, भटमास, अदुवाका लागि उपयुक्त छ । सुन्तला उत्पादनको मुख्य पकेट क्षेत्र पनि हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप