बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बर्खे धानको समर्थन मूल्य नपाएको किसानको गुनासो

बिहीबार, ०४ मङ्सिर २०८२, १० : ४८
बिहीबार, ०४ मङ्सिर २०८२

सारांश

  • चितवनका किसानले बर्खे धानको समर्थन मूल्य नपाएको गुनासो गरेका छन्।
  • प्रदेश सरकारले तोकेको मूल्यभन्दा कम मूल्यमा धान बेच्न बाध्य भएको किसानहरूको भनाइ छ।
  • कृषि विकास कार्यालयका प्रमुखले व्यवसायीले सरकारले तोकेको मूल्यमा धान खरिद गर्नुपर्ने बताए।

चितवन । यहाँका किसानले बर्खे धानको समर्थन मूल्य नपाएको गुनासो गरेका छन् । वाग्मती प्रदेश सरकारले तोकेको मूल्य आफूहरूले नपाएको उनीहरूको गुनासो छ ।

प्रदेश सरकारले प्रतिक्विन्टल मोटा धानको न्यूनतम समर्थन मूल्य रु तीन हजार ४६३ र मध्यमको रु तीन हजार ६२८ प्रतिक्विन्टल तोकेको भए पनि यहाँका किसानले निर्धारित मूल्यअनुसार धान बिक्री नभएको बताएका छन् । 

माडी नगरपालिका–३ का किसान ओमप्रकाश महतो अहिले आफूहरूले प्रतिक्विन्टल मोटा धान रु दुई हजार ६०० र मध्यम धानको रु तीन हजार १०० मा बिक्री गर्नुपरेको गुनासो गरे ।

भरतपुर महानगरपालिका–९ शरदपुरका किसान वेदप्रकाश सापकोटा व्यवसायीले तोकेको मूल्यमा धान बिक्री गर्नुपर्ने बाध्यता रहेको बताए । आफ्नो गोदाम नहुँदा किसानले व्यापारीले भनेको मूल्यमा धान बेच्नु परेको गुनासो सुनाउँदै भने- ‘मोटा धान रु तीन हजार र मध्यम धान रु तीन हजार ४०० मा बिक्री गर्नुपर्ने बाध्यता छ ।’ 

जिल्ला कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेल पनि किसानले समर्थन मूल्य नपाएका बताउँछन् । राज्यले तोकेको मूल्यमा व्यवसायीले धान खरिद गर्नुपर्नेमा उनी जोड दिन्छन् । 

चितवनमा २७ हजार ३२४ हेक्टरमा बर्खे धान खेती गरिएकामा एक लाख ३५ हजार ७२५ मेट्रिक टन उत्पादन भएको छ । बेमौसमी वर्षाका कारण १४९ मेट्रिक टन धानमा क्षति भएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप