शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

'धन्दावाललाई नेतृत्वमा हर्ताकर्ता बनाइए विघटनलाई कुनै भगवानले रोक्न सक्दैन'

बिहीबार, ०४ मङ्सिर २०८२, ११ : ४०
बिहीबार, ०४ मङ्सिर २०८२

सारांश

  • माओवादी केन्द्रका नेता महेश्वर दाहाल पार्टी एकता पछि बनेको केन्द्रीय समितिमा परेनन्, जसले राजनीतिक पदको वर्तमान अवस्थालाई उजागर गर्यो।
  • दाहालले पार्टीभित्रको सुनकाण्ड, तस्करी र भ्रष्टाचारमा नेताहरूको संलग्नताको आरोप लगाए, जसले पार्टीको छविमा प्रश्न खडा गर्यो।
  • दाहालका अनुसार, पार्टीभित्रको नेतृत्वले 'सेफ जोन' कायम राख्न स्वतन्त्र र विवेकी व्यक्तिहरूलाई किनारा लगाउने गरेको छ।

तत्कालीन नेकपा माओवादी केन्द्रका नेता महेश्वर दाहाल पार्टी एकता पछि बनेको नेपाल कम्युनिस्ट पार्टीको  एक सय ३८ सदस्यीय केन्द्रीय समितिमा समेटिएनन् । पहिले राजनीतिक पदलाई सेवा, समर्पण र त्यागको रूपमा बुझिने गरिए पनि  शान्ति प्रक्रियापछि क्रान्तिकारी आन्दोलनभित्र पनि राजनीतिक पदलाई नाम, दाम र व्यक्तिगत सुविधा लिने माध्यम बनाउने काम नेतृत्वदेखि कार्यकर्तासम्मको एक हिस्साले निरन्तर गर्दै आएको उनको बुझाइ छ । दाहाल आज माओवादी पार्टीमा रहेकाहरूको एक हिस्सा सुनकाण्ड, बालुवा गिट्टी काण्ड, रक्तचन्दनको तस्करी लगायतमा मुछिएको समेत बताउँछन् । उनै दाहालसँग समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश-

  • एक दर्जनभन्दा बढी पार्टी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले सार्वजनिक गरेको एक सय ३८ सदस्यीय जम्बो केन्द्रीय समितिमा पनि तपाईँको नाम अटाएन । पदीय भागबन्डामा तपाईँहरूभन्दा धेरै जुनियरहरू, पार्टी संयोजककी छोरी–बुहारीदेखि लिएर नेताहरूका श्रीमती, मितिनी छोरीहरूसम्म समावेश भए । तर जनयुद्धकालदेखि नै आर्थिक अनियमितता, विलासी जीवनशैली र भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउँदै आउनुभएको तपाईँजस्ता जनयुद्धकालीन केन्द्रीय सदस्यहरू चाहिँ निर्वाचन आयोगमा पठाएको सूचीमा अटाउनु भएन । किन ?

राजनीतिक पार्टीको २०६३ सालअघि र पछिको स्वरूप बिलकुलै फरक छ । पहिले राजनीतिक पदलाई सेवा, समर्पण र त्यागको रूपमा बुझिन्थ्यो । तर शान्ति प्रक्रियापछि पछिल्ला दुई दशकमा क्रान्तिकारी आन्दोलनभित्र पनि राजनीतिक पदलाई नाम, दाम र व्यक्तिगत सुविधा लिने माध्यम बनाउने काम नेतृत्वदेखि कार्यकर्तासम्मको एक हिस्साले निरन्तर गर्दै आएको छ। यस्तो प्रवृत्ति हाबी भएको बेलामा नेतृत्व सत्ता र पदबाट टाढिन चाहँदैन । आफूलाई सुरक्षित राख्न उनीहरू नातावाद, निकटको विश्वासिलो  र नेताहरूको व्यक्तिगत समीकरणलाई नै आधार बनाउँछन् । विचार, इमान, त्याग र संगठनप्रतिको निष्ठा अब छनोटको प्रमुख मापदण्ड रहेन । 

  • राजनीतिलाई धन्दा बनाएर अकुत कमाउने, विलासी जीवन बनाउने, नातागोता पोस्नेका विरोधमा मूलतः जेनजी विद्रोह भएको हो । त्यसपछि पनि आदर्श बोकेका नेता-कार्यकर्ताहरूलाई महत्त्व नदिनुका कारण के होला ?

किनकि पार्टीमा लामो समयदेखि पकड जमाएर बसेको नेतृत्वले प्रश्न सोध्ने, विवेकमा उभिने र सत्य बोल्ने नेता-कार्यकर्तालाई मन पराइँदैन । त्यसैले पार्टीभित्र ‘सुरक्षित संरचना’ कायम राख्ने नाममा विवेकी र स्वतन्त्र पात्रहरूलाई निरन्तर किनारामा धकेलिन्छ ।

  • एक सय ३८ सदस्यीय संरचना हतार–हतारमा, निर्वाचनकै दबाबमा गरिएको ‘एडजस्टमेन्ट’ हो भन्ने भनाइ छ । वास्तवमै त्यस्तै हो ?

मलाई त्यो हतारको परिणाम जस्तो लाग्दैन । सुझबुझपूर्ण काम हो । वर्षौँदेखि पार्टीमा चलाउँदै आएको सिण्डिकेटकै वरपर नै मुलत: छ नि यो लिस्ट, हैन र ? विचार, कार्यदिशा मिलेर, समाजवाद ल्याउने विछट्टै आतुरता, चिन्तामा यो एकता भएको हो र ? जेनजी विद्रोहपछि आएको परिवर्तनको चेतना, आगामी फागुन २१ गतेको निर्वाचनमा आफ्नो प्रभाव बढाउन नै मुख्यतः गठजोड भएको हो ।  यो त आफ्नै अस्तित्व कायम राख्ने निरन्तरता मात्र देखिन्छ, नेतृत्वले आफूलाई सुरक्षित राख्ने योजना । आज एक सय ३८ सदस्यीय सूचीमा देखिएको प्रवृत्ति  विगतमा पनि पटक–पटक देखिएको थियो । यी तीन दशकमा पार्टीहरूका नाम बदलिए, नाराहरू बदलिए, संरचना फेरिए तर मानसिकता उही रह्यो । स्वतन्त्र रूपमा सोच्न सक्ने, विवेकी र जनउत्तरदायी मान्छेहरूलाई नेतृत्वले कहिल्यै प्राथमिकता दिएन । उनीहरू जसरी पनि आफू अनुकूल चलाउन सकिने पात्रहरूकै वरिपरि घेराबन्दीमा बस्न सहज महसुस गर्छन् ।

त्यसैले ‘हतार–हतार’ को कुरा बहाना मात्र हो । वास्तविकता नेतृत्वको ‘सेफ जोन’ कायम राख्ने पुरानै मानसिकता नै हो । निर्वाचन आयोगमा वैधानिक संख्या मिलाउन सोची विचारी गोप्य रूपमा गरिएको काम हो । बरु यो कसरी बाहिर आयो भन्ने चिन्ता पो छ ।

  • भदौ २३/२४ को जेनजी आन्दोलनले नेतृत्वलाई सबक सिकाएको भनिएको थियो । तर, त्यसपछि पनि शिक्षा लिन नसक्नुको कारण ?

सडकको दबाबले नेतृत्व केही समय बाध्य बनेर झुक्न सक्छ तर त्यो रूपान्तरण होइन । रूपान्तरण भनेको अन्तर्मनबाट आत्मसातीकरण हो । २०६३ पछि पार्टीमा बनेको सिण्डिकेट आजसम्म छाडिएको छैन, चाहे नेकामा होस्, चाहे एमालेमा होस्, चाहे माओवादी केन्द्रमा होस । नाम बद्लिए, संरचना बद्लिए तर सिण्डिकेट चलाउने शैली उही छ । 

  • त्यसो भए नेतृत्व बदलिँदैन ? आशा राख्नै पर्दैन ?

 नेतृत्व बदलिन्छ तर सहजै बदलिँदैन । वर्तमान राजनीतिक संस्कारमा डुबेका कसैले पनि दाम र नाम सजिलै पाइने ठाउँ सजिलै त्याग्न चाहँदैनन् । आजको राजनीति कर्पोरेट कम्पनी झैँ बनेको छ । जहाँ पद–प्रतिष्ठा ‘इनभेष्टमेन्ट’ हो, निर्णय ‘शेयर होल्डर’ले गर्छन् । सेवा र आदर्शभन्दा ‘रिटर्न’ प्राथमिक हुन्छ । यस्तो संरचनामा इमानदार, स्वतन्त्र र जनउत्तरदायी मान्छेहरू हतोत्साहित हुन्छन् ।

तर परिवर्तन असम्भव भने होइन । परिवर्तन तब सम्भव हुन्छ जब संगठनभित्र ठुलो हिस्सा जाग्छ । नयाँ पुस्ताले पुरानो ढर्रालाई अस्वीकार गर्छ र आदर्शमा अडिएका एउटा वर्गले निरन्तर स्पष्ट लाइनमा उभिन्छ ।

  • तपाईँजस्ता पुराना नेताहरूले चाहँदैमा पार्टीमा सुधार सम्भव छ ?

सुधार सम्भव छ तर माथिबाट भन्दा पनि मूलतः तलको दबाबबाट । हामीले संगठनभित्र सत्य बोलिरहनुपर्छ। गलतका विरुद्ध निरन्तर संघर्ष गरिरहनु पर्छ ।

अर्को कुरा भनेको, नयाँ पुस्तालाई जनयुद्ध, जनआन्दोलन, लोकतान्त्रिक एजेन्डाप्रति इमानदार बनाउनु आवश्यक छ । बलिदानी इतिहास बेच्ने, बिगार्न खोज्ने प्रवृत्ति रोक्नैपर्छ ।

तेस्रो भनेको भ्रष्टाचार, विलासी जीवनशैली र सिण्डिकेटविरुद्ध एकीकृत आवाज उठाउन जरुरी छ । एक–एक भएर बोल्दा आवाज कमजोर पर्छ, एकैपटक सय जनाले आवाज उठाउँदा प्रतिरोध बलियो बन्छ ।

पार्टी सुधार असम्भव होइन तर यो स्वेच्छिक भए धेरै राम्रो, नभए वैचारिक स्पष्टता र संगठनात्मक हस्तक्षेपबाट गर्नुपर्छ ।

विगतमा हामीले गरेका त्याग, वलिदानीपूर्ण संघर्षका कारण गौरवपूर्ण इतिहास बनेको पार्टी आज यस्तो निरीह अवस्थामा छ । संसदको काम, सडकको काम, सरकारको काममध्ये सडक अर्थात् जनसंघर्षलाई पूरै छाडिएको छ  । अलग भएका माओवादी धारहरूले पनि सडक संघर्षलाई प्राथमिकतामा राख्न सकेनन् । फलतः माओवादी मूलधार सरकारको मोर्चामा सीमित भयो, मजदुर–किसान र भुइँमान्छेको मुद्दाबाट टाढिँदै गयो ।

त्यसैले आधारभूत वर्गसँगको सम्बन्ध विच्छेदले उत्पन्न गरेको विसङ्गति र विकृतिका डुङ्गुरभित्र आज माओवादी हराएको छ ।

  • तपाईंको विचारमा माओवादी फेरि बलियो बन्छ ?

बन्छ । बनाउनु पर्छ । छरिएका माओवादीलाई एकीकृत रूपमा लैजान क्रान्तिकारी, आदर्शबाट ओतप्रोतको कार्यदिशा बनाउनु पर्छ । पार्टीको एउटा हिस्सा, जसले सिण्डिकेट चलाएर स्रोत र साधन कब्जा गर्ने रणनीति बनाएको छ । राजनीतिलाई धन्दा बनाएको छ । आफ्नो, परिवारको वर्गोत्थान, विलासी जीवन जिउन त्याग, बलिदानलाई बेचेको छ । वास्तवमा यसले त्यति ठुलो त्याग, बलिदान बोकेको माओवादी पार्टी विघटनको संघारमा पुर्‍याउन मुख्य भूमिका खेलेको छ । आज माओवादी पार्टीमा रहेकाहरूको एक हिस्सा सुनकाण्ड, बालुवा गिट्टी काण्ड, रक्तचन्दनको तस्करी लगायतमा मुछिएको छ  । तिनै धन्दावाललाई नेतृत्वमा हर्ताकर्ता बनाइएका छन् । यस्तो भइरहँदा  त्यसको निरन्तरको विघटनलाई कुन‌ै भगवानले पनि रोक्न सक्दैन । 

  • माओवादी केन्द्रका पूर्व नेता, जो मन्त्री भइसकेका सुदन किरातीले त्यो पार्टीभित्रका कतिपय नेतालाई इंगित गर्दै भने, दिउँसो झण्डा बोक्ने र राति रक्तचन्दनको तस्करी गर्ने ! के त्यस्तो छ ? 

बाहिर उठिरहेका प्रश्नलाई उहाँले उठाउनु भएको होला । उहाँका भनाइलाई खण्डन गर्ने अवस्था म देख्दिनँ । त्यत्रो रगतको आहालमा पौडेर आएका पार्टीका नेताहरू, जसको राजनीति बाहेक कुनै कर्म छैन, आज आलिसान महल छ, महँगो गाडी छ, विलासी जीवन छ, आफ्नो मात्रै होइन तीन पुस्ता वरपरको समेत वर्गोत्थान छ भने प्रश्न उठेकै छ । सुनकाण्डमा कतिपय नेता तथा कार्यकर्ता अभियुक्त बनेका छन् । कतिपय फरार छन् । कतिपय प्रश्नको घेरामा छन् । बालुवा गिट्टीदेखि शैक्षिक माफियासम्म माओवादीको एउटा हिस्सा जोडिएकै छ । स्थानीय प्रतिनिधिदेखि संघसम्म टिकट वितरणमा समेत लिडर होइन डिलरको छनौट भएको थुप्रै उदाहरण छन् ।

राजनीतिमा आउनुअघि र त्यसपछिको सम्पत्तिको छानबिन गर्ने र पार्टीको अनुचित प्रभाव प्रयोग गरेर कमाएको हो भने पार्टीको नाममा ल्याएर जनयुद्धका अशक्त घाइते, पीडित परिवार, जनयुद्धमा लागेर असहाय बनेकालाई त्यहाँ राखेर भरणपोषण गर्नुपर्छ । यो मुद्दा हामीले उठाइरहेका छौं । राज्यबाट दोहन गरेको, तस्करी गरेर कमाइएको हो भने राष्ट्रीयकरण गर्न पार्टीले सहजीकरण गर्नुपर्छ । दुईरचार प्रतिशतको कुकर्मका कारण यति ठुलो वलिदानबाट निर्माण भएको पार्टीलाई त विघटन हुन दिनु भएन नि ! यसो गर्न सकिएमा विभिन्न समूहमा छरिएका माओवादी, वामपन्थी पार्टीहरूको एकता हुन्छ । यो पार्टीले फेरि एकपटक देशको नेतृत्व गर्ने हैसियत बनाउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप