बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
विचार

प्रवासी नेपालीलाई मताधिकार नदिनु अन्याय हो

बिहीबार, ०४ मङ्सिर २०८२, १५ : ००
बिहीबार, ०४ मङ्सिर २०८२

सारांश

  • लेखमा नेपालको लोकतन्त्र कस्तो हुनुपर्छ भन्ने प्रश्न उठाइएको छ, र यसमा प्रवासी नेपालीको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख छ।
  • आई-भोटिङ प्रविधिको महत्त्व र यसले प्रवासी नेपालीको पहिचान र सम्मानलाई कसरी पुनर्स्थापना गर्छ भन्ने बारेमा चर्चा गरिएको छ।
  • प्रवासी नेपालीले पठाउने रेमिट्यान्स मात्र नभई नयाँ सोच, मूल्य र कार्यसंस्कृति पनि ल्याउँछन्, जसले लोकतन्त्रलाई बलियो बनाउँछ।

 

 

 

म धेरै वर्षदेखि शिक्षा क्षेत्रमा कार्यरत भएपनि यो लेख कुनै संस्थाको प्रतिनिधि भएर होइन एक सचेत नागरिक हुनुको नाताले लेखिरहेको छु । अहिलेको नयाँ पुस्ताले सडकदेखि सामाजिक सञ्जालसम्म उठाएका प्रश्नले हामी सबैलाई सोच्न बाध्य बनाएको छ– ‘हाम्रो लोकतन्त्र कस्तो हुनुपर्छ ?’

यही प्रश्न खोज्ने क्रममा केही समयअघि युवा प्रतिनिधि, राष्ट्रिय सभाका सदस्यहरू तथा विभिन्न राजनीतिक दलका नेताहरूबिच आयोजित छलफल कार्यक्रममा सहभागी हुने अवसर पाएँ । यो कार्यक्रम संसद् सचिवालयद्वारा आयोजना गरिएको थियो, जसमा डा. खगेन्द्र ढकालले आई–भोटिङका विषयमा गहिरो प्रस्तुति दिनु भयो ।

डा. ढकाल केवल प्रस्तोता मात्र होइन, ‘नेपाल पोलिसी इन्च्ट्युट’ (एनपीआई) को अध्यक्ष पनि हुनुहुन्छ । एनपीआई भित्रै ‘ग्लोबल थिंक ट्याङ्क’ नामक विशेष अनुसन्धान–टोली छ, जसलाई एनपीआईले नै समन्वय र व्यवस्थापन गर्छ । यो टोलीमा विश्वभरका प्रवासी नेपाली विज्ञ र नीति–विश्लेषकहरूको सहभागिता हुन्छ । डा. ढकाल यही टोलीको प्रखर बौद्धिक नेतृत्वकर्तामध्ये एक हुनुहुन्छ । 

आई–भोटिङ केवल प्रविधि होइन– सम्बन्ध र अधिकार पुनर्स्थापना गर्ने पुल हो । प्रवासी नेपालीहरूले केवल रेमिट्यान्स पठाउँदैनन्, उनीहरूले नयाँ दृष्टि, मूल्य, कार्यसंस्कृति र विश्वदृष्टि पस्किरहेका हुन्छन् । उनीहरूको जम्मा एउटै चाहना हो– पहिचान र सम्मान ।

उहाँ गत निर्वाचनदेखि नै यस विषयमा निरन्तर अनुसन्धानरत हुनुहुन्छ । त्यसैले उहाँको प्रस्तुति केवल प्राविधिक अध्ययन होइन— प्रवासी नेपालीको जीवन, अनुभव र अधिकारप्रतिको संवेदनशीलता बोकेको आवाज पनि हो । नेपालको सामाजिक संरचना हेर्दा प्रवासीको भूमिका केवल आर्थिक होइन, जनसांख्यिकीय दृष्टिले पनि अत्यन्त महत्त्वपूर्ण छ । 

अध्ययनहरूले के देखाउँछन् भने करिब ७६ प्रतिशत परिवारका कम्तीमा एक सदस्य विदेशमा छन् । मतदानका हिसाबले यो झनै महत्त्वपूर्ण छ, किनकि कुल मतदातामध्ये करिब २५ प्रतिशत नागरिक मतदानको दिन नेपालमै उपस्थित हुन सक्दैनन् । यति ठुलो समूहलाई निर्णय प्रक्रियाबाट बाहिर राख्नु व्यवस्थापकीय कमजोरी मात्र होइन—लोकतान्त्रिक प्रतिनिधित्वमै परेको चोट हो ।

  • प्रवासीप्रतिको गलत बुझाइ

झन्डै डेढ वर्षअघि, एउटा सार्वजनिक कार्यक्रमको भाषणमा एक नेताले यस्तो टिप्पणी गर्नुभयो– ‘उनीहरूलाई नेपालबारे के थाहा हुन्छ र ? विदेशको रेस्टुरेन्टमा काम गर्छन्, भाँडा माझ्छन्, अनि हात पुछ्न नपाउँदै फेसबुकमा टिप्पणी गर्छन् ।’

यो भनाइ सुन्दा कठोर र पीडादायी लाग्न सक्छ । तर नेताको यस्तो अभिव्यक्ति सदैव घृणा वा अवहेलना नै हो भन्न मिल्दैन । राजनीतिक र सार्वजनिक भूमिकामा रहने व्यक्तिहरूले पनि सामाजिक सञ्जालमा आउने अत्यन्त कटु, व्यक्तिगत रूपमा चोट पुर्‍याउने टिप्पणीहरू बारम्बार सहनुपर्छ । त्यसैले यस्ता वाक्यहरू कहिलेकाहीँ व्यक्तिगत थकान, निराशा वा लगातारका आक्रमणहरूको प्रतिनिधिमूलक प्रतिक्रिया पनि हुन सक्छन् । 

लोकतन्त्र पारदर्शी, विश्वसनीय र समावेशी हुनैपर्छ । विदेशमा रहेका नेपाली युवाले पनि यही आवाज उठाइरहेका छन्– ‘हामी टाढा छौँ, तर टुटेका छैनौँ ।’ देशभित्रका युवा र विदेशमा बस्ने युवाहरूले एउटै प्रश्न उठाइरहेका छन्– के नेपालले आफ्ना सबै नागरिकको आवाज सुन्छ ?

तर व्यक्तिगत दुःखबाट जन्मिएको व्यथा सम्पूर्ण प्रवासी समुदायको मूल्यांकनको मानक बन्न सक्दैन । कठोर टिप्पणी गर्ने केही मानिस र आफ्नो पसिनाले देश धानिरहेका लाखौँ प्रवासी दुवै एउटै समूह होइनन् । हो, धेरै नेपाली विदेशका रेस्टुरेन्ट, किचन, केयर–होम, फ्याक्ट्री, निर्माणस्थल वा खेत–बारीमा कठिन परिश्रम गर्छन् । उनीहरूको हात पसिना, माटो वा साबुनले भिजेको हुन सक्छ । तर तीनै हातहरूले घर–परिवार बचाइरहेका छन् । विद्यालयका शुल्क तिराइरहेका छन् । अस्पतालका बिल भरी रहेका छन् ।

त्यसैले उनीहरूको पेसाले उनीहरूको चेतना कम गर्दैन । बरु गहिरो बनाउँछ । विदेशमा भाँडा माझ्ने नागरिकले कहिलेकाहीँ नेपाललाई अरूले भन्दा राम्रो बुझेको हुन सक्छ किनभने उसले अरूले भन्दा ज्यादा सङ्घर्षको स्वाद चाखेको हुन्छ । उनीहरू नेपालबाट टाढा हिँडेका होइनन्– नेपालले उनीहरूलाई आफ्नै मुलुकमा राख्न नसकेको हो ।

१२–१४ घण्टाको थकाइपछि पनि उनीहरू नेपालकै समाचार खोज्छन् । उनको शरीर थाकेको हुन्छ तर देशप्रतिको चिन्ता कहिल्यै थाक्दैन । त्यसैले कसैले देशप्रति बोल्ने अधिकार कमाएको छ भने– ती प्रवासी नै हुन् । 

  • समावेशिता अर्थात् सम्बन्धको पुनर्जोड

नेपालभित्र हालैको आन्दोलनले एउटा कुरा प्रस्ट पारेको छ– लोकतन्त्र पारदर्शी, विश्वसनीय र समावेशी हुनैपर्छ । विदेशमा रहेका नेपाली युवाले पनि यही आवाज उठाइरहेका छन्– ‘हामी टाढा छौँ, तर टुटेका छैनौँ ।’ देशभित्रका युवा र विदेशमा बस्ने युवाहरूले एउटै प्रश्न उठाइरहेका छन्– के नेपालले आफ्ना सबै नागरिकको आवाज सुन्छ ?

आई–भोटिङ केवल प्रविधि होइन– सम्बन्ध र अधिकार पुनर्स्थापना गर्ने पुल हो । प्रवासी नेपालीहरूले केवल रेमिट्यान्स पठाउँदैनन्, उनीहरूले नयाँ दृष्टि, नयाँ मूल्य, नयाँ कार्यसंस्कृति र विश्वदृष्टि पस्किरहेका हुन्छन् । उनीहरूको जम्मा एउटै चाहना हो– पहिचान र सम्मान ।

लोकतन्त्र तब बलियो हुन्छ जब नागरिकले आफू समावेश भएको महसुस गर्छन् । देश तब मजबुत बन्छ जब उसले नागरिकको आवाज सुन्छ । देश–विदेशका नेपाली नै हाम्रो शक्ति हुन भन्नेमा हामीलाई साँच्चिकै विश्वास छ भने उनीहरूको आवाज पनि त्यही शक्तिको अविभाज्य हिस्सा हुनुपर्छ । देशले आफ्ना नागरिकलाई बिर्सिँदैन भने नागरिकले पनि देशलाई कहिल्यै बिर्सिँदैनन् ।

  • प्रेरणा र पहिचानको नयाँ अध्याय 

नेपालका सडकहरूमा हिँड्ने प्रत्येक नागरिक, चाहे उनी देशमै होउन् वा टाढा, सबैको मनमा एउटै चाहना हुन्छ– देशले हाम्रो आवाज सुनेको अनुभूति होस् । प्रवासी नेपालीहरूको मनमा यो चाहना झन् गहिरो हुन्छ किनभने उनीहरूले दूरीमै बसेर पनि देशलाई दैनिक जीवनको एउटा अंशझैँ बोकेका हुन्छन् । म त्यस्ता धेरै युवाहरूसँग निरन्तर संवाद गरिरहेको हुन्छु, जसले राति २ बजे रेस्टुरेन्ट बन्द गरेर थकित शरीर लिएर कोठामा पुग्छन् । र, भन्छन्, ‘हामी दिनभर यतै विदेशमा काम गर्छौँ तर हाम्रो मन र मुटु नेपालमै बस्छ ।’

मताधिकार केवल राजनीतिक अधिकार होइन, यो भावनात्मक पहिचान हो । जब कसैलाई मत दिन दिइँदैन, त्यो केवल भोट खसाल्न नदिएको होइन । उसको अस्तित्व, उपस्थितिलाई नै बेवास्ता गरिएको हो । त्यसैले आई–भोटिङ प्रविधिको विषय मात्र होइन– यो सम्बन्ध, सम्मान र अपनत्व पुनः स्थापित गर्ने प्रक्रिया हो । हामीले भन्न सक्नु पर्छ– तपाईं जहाँ हुनुहुन्छ, नेपालले तिमीलाई बिर्सेको छैन ।’

युवा पुस्ता चाहे उनीहरू काठमाडौँको सडकमा उभिएर आवाज उठाइरहेका हुन् वा कोरियाको कारखानामा १२ घण्टा उभिएर काम गरिरहेका हुन् सबैले चाहेको एउटै कुरा हो– राज्यले हामीलाई सुनोस् ।

प्रवासी नेपालीहरूले छोरा–छोरीको भविष्य सुरक्षित बनाउन, बाबुआमाको स्वास्थ्य जोगाउन, घर–परिवारको सुरक्षाका लागि आफ्नो सपना भन्दा पहिले देश र परिवारलाई प्राथमिकता दिएका छन् । यति ठुलो त्याग गर्ने समुदायले आफ्नै देशको नेतृत्व छान्न नपाउनु केवल विडम्बना होइन– अन्याय पनि हो ।

नेपालले विश्वभर छरिएका आफ्ना नागरिकको आवाज समेट्न सकेन भने लोकतन्त्रका जगहरू अधुरा नै रहने छन् । लोकतन्त्र भन्नुको अर्थ सिमाना हेर्नु होइन । नागरिकको आत्मा पहिचान गर्नु हो । युवा पुस्ता चाहे उनीहरू काठमाडौँको सडकमा उभिएर आवाज उठाइरहेका हुन् वा कोरियाको कारखानामा १२ घण्टा उभिएर काम गरिरहेका हुन् सबैले चाहेको एउटै कुरा हो– राज्यले हामीलाई सुनोस् ।

देशले आफ्नै नागरिकको अपेक्षा आत्मसात् गर्न थालेपछि देश बलियो बन्छ । देशले अपनत्व दिन थालेपछि नागरिकले देशलाई झनै माया गर्छन् । त्यसैले अबको समय प्रवासी नेपालीलाई कागजमा होइन, मुटुमा राख्ने समय हो । आई–भोटिङले उनीहरूलाई मताधिकार मात्र दिँदैन– देशसँगको भावनात्मक सम्बन्ध पुनः गाँसिदिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. प्रल्हाद कार्की
डा. प्रल्हाद कार्की
लेखकबाट थप