छिम्केश्वरी उद्यान आन्तरिक पर्यटकको रोजाइमा
सारांश
- तनहुँको छिम्केश्वरीमा निर्माण गरिएको उद्यान आन्तरिक पर्यटकको रोजाइमा परेको छ।
- पार्कमा बिदा र शनिबार आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ, जहाँ हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ।
- पार्क गण्डकी प्रदेश सरकार र स्थानीय जनसहभागिताबाट २२ लाखको लागतमा निर्माण गरिएको हो।
तनहुँ । जिल्लाको सबैभन्दा अग्लो स्थान छिम्केश्वरीमा निर्माण गरिएको उद्यान (पार्क) आन्तरिक पर्यटकको रोजाइमा परेको छ । समुद्र सतहबाट दुई हजार १३४ मिटर उचाइमा अवस्थित आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीमा निर्माण गरिएको पार्कले आन्तरिक पर्यटकको ध्यान खिचेको छ ।
प्रसिद्ध छिम्केश्वरी मन्दिरको नजिकै रहेको यस उद्यानमा बिदा र शनिबार आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको वडाध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । प्रसिद्ध छिम्केश्वरी माई मन्दिरमा पूजाआजाका लागि आउनेहरू यस उद्यानमा घुम्न नछुटाउने गुरुङको भनाइ छ ।
गण्डकी प्रदेश सरकारको रु २० लाख र स्थानीय जनसहभागिता रु दुई लाख गरी रु २२ लाखको लागतमा पार्क निर्माण गरिएको हो । यहाँ २० फिट अग्लो नेपालको झन्डासमेत राखिएको छ । यहाँको मौसम शीतल रहेकाले गर्मी मौसममा अझ बढी पर्यटकको सङ्ख्या बढ्ने उनको भनाइ छ । उनले भने, “यहाँ छिनछिनमा मौसम परिवर्तन भइरहन्छ, एकैछिनमा घाम लाग्छ एकैछिनमा हुस्सुले छेकिन्छ ।”
यहाँ आउने आन्तरिक पर्यटक तस्बिर खिच्न, टिकटक बनाउन पार्कमा भुल्ने गरेका छन् । यहाँबाट देखिने विभिन्न हिमशृङ्खलाले पर्यटकलाई अझ मोहित बनाउने गरेको छ । छिम्केश्वरीबाट धवलागिरि, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुच्छ्रे लगायत हिमाल आँखै अगाडि हेर्न सकिन्छ । आँबुखैरेनी गाउँपालिकाले छिम्केश्वरीमा रहेको छिम्केश्वरी मन्दिर जीर्णोद्धार गरिसकेको छ । यसअघि रहेको पुरानो मन्दिरलाई जीर्णोद्धार गरी मन्दिरलाई आकर्षक बनाइएको छ । मन्दिरमा पित्तलको छानो राखिएको छ ।
गोरखा मनकामनाकी दिदीका रूपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरी लेकमै अवस्थित छन् भने साइली गोरखकालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण