बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय
राजनीति

पार्टीभित्रै विरोधका बिच ‘नेशनल भोलेन्टियर फोर्स’ घोषणा गर्दै ओली

शुक्रबार, ०५ मङ्सिर २०८२, १० : ५२
शुक्रबार, ०५ मङ्सिर २०८२

सारांश

  • एमाले अध्यक्ष केपी शर्मा ओलीले 'नेशनल भोलेन्टियर फोर्स' (एनभीएफ) घोषणा गर्ने निर्णय लिएका छन्, जसलाई पार्टीका केही नेताहरूले विरोध गरेका छन्।
  • एनभीएफको घोषणा शुक्रबार बबरमहलमा हुने कार्यक्रममा तय भएको छ, जसको उद्देश्य समाजमा सुरक्षा र मनोबल बढाउनु रहेको एमालेको भनाइ छ।
  • विपक्षी नेताहरूले भने यस्तो फोर्स गठन गर्दा मुलुकमा थप द्वन्द्व निम्तिन सक्ने र पार्टीको नीति विपरित हुने बताएका छन्।

काठमाडौँ । नेकपा एमालेका कतिपय सचिवालय सदस्यहरूको विरोधका बिच अध्यक्ष केपी शर्मा ओलीले नीति र नेतृत्वको सुरक्षाका लागि भन्दै नेशनल भोलेन्टियर फोर्स(एनभीएफ)को घोषणा गर्ने भएका छन् । ओलीको यो हठले मुलुकमा थप द्वन्द्व निम्तने सक्ने नेताहरूको बुझाई छ ।  

आज शुक्रबार ओलीले बबरमहलस्थित कार्की बैंकेटमा कार्यक्रम गरेर एनभीएफ घोषणा गर्न लागेका हुन् । त्यसअघि माइतीघर मण्डलामा एमालेका युवाहरू भेला भएर वानेश्वरसम्म मार्चपास गर्ने भएका छन् । पार्टीको जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालका अनुसार समाजमा बढेको असुरक्षा, अशान्ति र भदौ २३ २४ को घटनापछि आम मानिसहरूको खस्किएको मनोबल उठाउन एनभीएफ घोषणा गर्न लागिएको हो ।

फोर्सले राज्यका निकायलाई सहयोग गर्ने, भय र असुरक्षाबाट जनतालाई मुक्त गर्ने,सुरक्षा निकायलाई सहयोग गर्ने, प्राकृतिक प्रकोप भएका बेला राहत तथा उद्धारमा सहयोग गर्ने उद्देश्यले फोर्स गठन गर्न लागिएको एमालेको भनाइ छ ।

सुरक्षा संवेदनशीलता बढेका बेला राज्यले अध्यक्ष ओली लगायत नेताहरूका सुरक्षाकर्मी फिर्ता लगेकोले पनि फोर्सको आवश्यकता बढेको एमालेका ओली पक्षीय नेताहरूको भनाइ छ ।

एनभीएफको प्रदेश र जिल्लागत संरचना पनि तत्काल बिस्तार गर्ने ओलीको तयारी छ । एनभीएफमा एकजना कमान्डर र दुईजना सहायक कमान्डरको व्यवस्था गरिएको छ ।

फोर्स घोषणा गर्नु अघिल्लो दिन पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकमा फोर्स गठन गर्ने कि नगर्ने भन्ने चर्को बहस भएको थियो । नेताहरूले एमालेप्रति नागरिकको भरोसा बढाउने काम गर्नु पर्नेमा यस्ता फोर्सहरू गठन गरेर मुलुकलाई थप द्वन्द्वतर्फ धकेल्न नहुनेमा जोड दिएका थिए ।

नेताहरू ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट तथा योगेश भट्टराईलगायतले नेशनल भोलेन्टियर्स फोर्स दुरुपयोग गर्ने स्थिति बन्ने भएकाले त्यस्तो फोर्स गठन गर्न नहुने र अहिलेलाई रोक्नुपर्ने बताएका थिए ।

‘फोर्स गठन गरेर युवाहरूलाई भिडन्तमा लग्यो वा गयो भने बर्वाद हुन्छ’, बैठकमा केही नेताहरूले अध्यक्ष ओलीलाई सम्झाउने प्रयास गरेका थिए ।

एक सचिवालय सदस्यले बैठकमा राखेको धारणा उधृत गर्दै रातोपाटीसँग भने, ‘अहिलेको बेला भने सचेत हुने नै हो ।’ त्यस्तै उनीहरुले पहिलेको पिपुल भोलेन्टियर्स कहाँ गयो भनेर समेत प्रश्न गरेका थिए ।

‘भएका संगठनहरुलाई वास्ता नगर्ने र नयाँ थप्दै गएर संरक्षण पनि नगर्ने हो भने त्यसमाथि प्रश्न उठ्छ’, सचिवालय सदस्यहरूले बैठकमा भनेका थिए, ‘फोर्स बनाउने कुरा हाम्रो पार्टीको नीति र कार्यदिशासँग मेल खाँदैन । त्यसैले यो राम्रो होइन । जनआधारित र लोकतन्त्रमा विश्वास राख्ने पार्टी र नेताले बाहिरबाट कसैले सुरक्षा गरिदेला भनेर विश्वास गर्नुहुँदैन ।’

बैठकमा मुढेबलका भरमा चल्न खोज्दा मधेसको अवस्था के भयो ? भनेर समेत नेताहरूले ओलीलाई प्रश्न गरेका थिए । त्यस्तै उनीहरुले जेनजी वा सरकारले जे गर्ला तर एमाले जिम्मेवार पार्टी भएकाले जिम्मेवार ढङ्गले नै चल्नुपर्ने सुझाव राखेका थिए । तर, उनीहरुको आवाज ओलीले सुन्नै चाहेनन् ।

‘हाम्रो आवाज र विचार उहाँले सुन्नै चाहनुभएन र निर्णय गर्नुभयो’, अर्का एक सदस्यले भने, ‘मुलुकको परिवर्तन गर्ने पार्टी एमाले नै भएपनि अहिले एमालेप्रति आक्रोश रहेको सत्य हो तर आशा र भरोसा पनि एमालेसँगै नै हो । तर अध्यक्षको निर्णयका कारण थप बिग्रिँदै गयो ।’

सदस्यहरूले राष्ट्रिय युवा संघलाई पनि बेथितियुक्त ढङ्गले चलाउन नहुने सुझाव दिएका थिए ।

‘युवाहरुको संगठन बेथितियुक्त ढङ्गले चलाउने स्थिति हुनुहुँदैन । विचारयुक्त हुनुपर्छ’, ती सचिवालय सदस्यले बैठकमा भने, ‘परिवर्तनका वाहक हुन युवा,अराजक युवा होइन, सामूहिकतामा विश्वास गर्नु र विचार बुझाउने युवा हुनुपर्छ ।’  

उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले कसैले पनि अहिले देशलाई द्वन्द्वमा लैजाने किसिमको गतिविधि गर्न नहुने बताइन् । रातोपाटीसँग उनले भनिन्, ‘एमाले जिम्मेवार पार्टी हो र यसको भूमिका पनि जिम्मेवार नै हुनुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप