भिजिट भिसाको दुरुपयोग रोक्न वैदेशिक रोजगार प्रक्रिया सरलीकरण गर्नुपर्छ : पूर्व मुख्यसचिव बैरागी
सारांश
- पूर्व मुख्यसचिव शंकरदास बैरागीले भिजिट भिसाको दुरुपयोग बढ्नुको कारण वैदेशिक रोजगार प्रक्रियाको जटिलता रहेको बताए।
- उनका अनुसार, वैदेशिक रोजगारीको प्रक्रिया जटिल हुँदा मानिसहरू भिजिट भिसाको प्रयोग गर्छन्।
- बैरागीले अध्यागमन प्रणालीमा त्रुटि औंल्याउँदै, नागरिकको बहिर्गमनमा बढी निगरानी हुने गरेको बताए।
काठमाडौं । नेपाल सरकारका पूर्व मुख्यसचिव शंकरदास बैरागीले भिजिट भिसाको दुरुपयोग बढ्नुको मुख्य कारण वैदेशिक रोजगार प्रक्रियामा रहेका जटिलता र अप्ठ्याराहरू रहेको बताएका छन्।
शुक्रबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा यस्तो बताएका हुन्। उनले वैदेशिक रोजगारीको प्रक्रिया जति जटिल हुँदै जान्छ, त्यति नै मानिसहरूले भिजिट भिसा जस्तो चोर बाटो अपनाउने गरेको बताए ।
अध्यागमन प्रणाली सुधारसम्बन्धी एक उच्चस्तरीय समितिको नेतृत्व गरेका बैरागीले आफ्नो अध्ययनको निष्कर्ष सुनाउँदै भने, 'वैदेशिक रोजगारको प्रक्रिया सहज र सरल हुँदा भिजिट भिसाको प्रवाह कम हुने र त्यहाँको प्रक्रिया जटिल हुँदा यता (भिजिट भिसामा) चाप बढ्ने देखियो।'
उनले विभिन्न कारणले मानिसहरू भिजिट भिसा प्रयोग गर्न बाध्य भएको जानकारी दिए। सरकारले रोजगारीका लागि प्रतिबन्ध लगाएका द्वन्द्वग्रस्त मुलुकहरू जस्तै अफगानिस्तान, इराक, लिबियामा काम पाएका नेपालीहरू श्रम स्वीकृति नपाउने भएपछि युएई जस्ता कुनै ट्रान्जिट मुलुकसम्म पुग्न भिजिट भिसाको सहारा लिने गरेको भनाइ छ।
युरोपमा कामको अवसर पाएर वर्किङ भिसा प्राप्त गरिसकेका नेपालीहरूले समेत यो बाटो अपनाउनु परेको उनले बताए।
खाडी मुलुकमा घरेलु कामदारका रूपमा जान सरकारले लगाएको प्रतिबन्धका कारण महिलाहरूले अवैध बाटो अपनाउनु परेको उनको भनाइ छ।
एजेन्टमार्फत काम पाए पनि श्रम स्वीकृति नपाइने भएपछि उनीहरू भारत वा अन्य देश हुँदै भिजिट भिसामा खाडी मुलुक पुग्ने गरेको बैरागीले बताए।
सबैभन्दा ठूलो कारण म्यानपावर एजेन्सीहरू आफैं रहेको उनको भनाइ थियो। एजेन्सीहरूले पाएको कोटाको आधा हिस्सा मात्रै दूतावासले प्रमाणीकरण गरिदिने र बाँकी कामदारलाई प्रक्रियाबाहिरबाट भिजिट भिसामा पठाउने गरेको उनले बताए।
बैरागीले नेपालको अध्यागमन प्रणालीमा पनि गम्भीर त्रुटिहरू रहेको औंल्याए। विश्वका अन्य देशहरूमा आफ्नो मुलुकभित्र आउने विदेशी (आगमन) माथि बढी कडाइ गरिन्छ भने नेपालमा उल्टै आफ्नै नागरिक (बहिर्गमन) माथि बढी नियन्त्रण र निगरानी गर्ने प्रवृत्ति रहेको उनले बताए।
अध्यागमन, श्रम, परराष्ट्र, गृह लगायत सबै सम्बन्धित निकायहरूले समन्वयात्मक रूपमा प्रतिवेदन कार्यान्वयन गरे मात्र वैदेशिक रोजगार र अध्यागमन प्रणालीमा देखिने गरी सुधार आउने विश्वास उनले व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण