बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
बारा घटना

जेनजीका मागहरू ३ दिनभित्र सम्बोधन गर्ने सहमति

शुक्रबार, ०५ मङ्सिर २०८२, २० : ३३
शुक्रबार, ०५ मङ्सिर २०८२

सारांश

  • बाराको पथलैयामा जेनजी र स्थानीय प्रशासनबीच भएको वार्तामा जेनजीका मागहरू सम्बोधन गर्ने सहमति भयो।
  • जेनजीले घटनामा संलग्न व्यक्तिहरूलाई कारबाही, घाइतेहरूको उपचार र क्षतिपूर्ति, र सुरक्षाको ग्यारेन्टीको माग राखेका थिए।
  • प्रहरी उपरीक्षकले दोषीको खोजी भइरहेको र पीडितलाई क्षतिपूर्ति दिइने बताए भने प्रमुख जिल्ला अधिकारीले माग सम्बोधन गर्ने बताए।

बारा । जेनजी र स्थानीय प्रशासनबिच बाराको पथलैया स्थित सशस्त्र प्रहरी बल प्राविधिक तालिम केन्द्रमा शुक्रबार भएको वार्तामा जेनजीका मागहरू सम्बोधन गर्ने सहमति भएको छ । 

बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रसहित सुरक्षा निकायका प्रमुख उपस्थित वार्तामा जेनजीको तर्फबाट सम्राट उपाध्यायको नेतृत्वमा १८ जना सहभागी वार्तामा सहमति भएको हो । 

जेनजीहरुले आग्रह/ पूर्वाग्रह नराखी घटनामा संग्लनहरुलाई कारबाही हुनुपर्ने, घाइतेहरूको निःशुल्क उपचार र उचित क्षतिपूर्ति राज्यले बेहोर्नुपर्ने, जेनजी तथा जेनजीलाई सहयोग गर्ने सम्पूर्णको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने, सुरक्षा व्यवस्थापनमा लापरबाही गर्ने जिम्मेवार सुरक्षा अधिकारीलाई कारबाही गर्नुपर्ने, अरविन्द साहको तीन दिन अगाडिदेखिको कल डिटेल झिकाएर मुख्य व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याई कारबाही गर्नुपर्ने लगायत माग राखेका थिए ।

उनीहरुले घटनामा संलग्न भएका (नाम छुटेका व्यक्ति)हरूलाई पुनः अभियुक्त बनाएर कारबाही अगाडी बढाउनुपर्ने माग समेत राखेका थिए । 

छलफल सुरु भएको २ घण्टापछि वार्ता स्थलमा आइपुगेका जेनजी अगुवा सुदन गुरुङ र पुरुषोत्तम यादवले एमाले नेताहरूले योजनाबद्ध रूपमा जेनजीहरुमाथि हातपात गरेको बताए ।

‘सुरुमा जेनजीमाथि हातपात गर्नेहरूलाई सार्वजनिक गर्नुपर्‍यो, हाम्रो सुरक्षा व्यवस्थामा लापरबाही गर्नेलाई कारबाही गनुपर्‍यो ’ जेनजी अगुवा गुरुङले भने  ‘योजनाबद्ध रूपमा हातपात भएको छ, यो सङ्गठित अपराधमा को–को दोषी छन्, दङ्गा फैलाउन र चुनाव भाँड्न को लागेको छ कारबाही गर्नुपर्‍यो’ 

छलफलमा जेनजीहरुले घटनामा संलग्न वडाध्यक्ष, नगरप्रमुख, सांसद जो कोही भए पनि कारबाहीको दायरामा ल्याएर कडा भन्दा कडा कारबाही हुनुपर्ने माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सन्तोष तमाङले जेनजीहरुको दिएको उजुरीका आधारमा दोषीहरूको खोजी भइरहेको बताएका छन् । 

‘हाम्रो काम कारबाहीप्रति जेनजी युवाहरूले शङ्का नगर्नुहोला, यहाँहरूको जाहेरीका आधारमा संलग्न सबै व्यक्तिमाथि अनुसन्धान भइरहेको छ’ प्रहरी उपरीक्षक तामाङले भने ‘कानुनले कसुर गर्नेलाई थुन्ने मात्र होइन पीडितलाई क्षतिपूर्तिको व्यवस्था छ, त्यसैअनुसार पीडितले क्षतिपूर्ति र कानुनी उपचार पाउनुहुन्छ, हामी न्यायको पक्षमा छाैँ’ ।

बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जेनजीहरुको मागमा स्थानीय प्रशासन गम्भीर भएकोले जतिसक्दो छिटो सम्बोधन गर्ने बताएका छन् । 

बाराको सिमरामा नेकपा (एमाले)का कार्यकर्ता र जेनजी प्रदर्शनकारीको बिचमा बुधवार झडप भएको थियो । झडप भएसँगै स्थानीय प्रशासनले कफ्र्यु लगाएको थियो । प्रदर्शन नियन्त्रणमा लिन बिहीबार प्रहरीले गोली चलाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप