शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
निर्वाचनकाे तयारी

फागुन २१ को तयारीमा सरकार–आयोग, एमाले पनि ‘पोजेटिभ’ मुडमा

निर्वाचनको ६० प्रतिशत तयारी पूरा
शुक्रबार, ०५ मङ्सिर २०८२, २१ : २०
शुक्रबार, ०५ मङ्सिर २०८२

सारांश

  • आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी ६० प्रतिशत पूरा भएको निर्वाचन आयोगले जनाएको छ।
  • निर्वाचनलाई शान्तिपूर्ण बनाउन सरकार, राजनीतिक दल र सरोकारवाला निकायसँग संवाद भइरहेको छ, र नयाँ दल दर्ता प्रक्रिया जारी छ।
  • नेकपा एमाले निर्वाचनमा भाग लिन सकारात्मक देखिएको छ, तर शान्ति सुरक्षाको प्रत्याभूति र संसद् पुनर्स्थापनाको विषयमा चिन्ता व्यक्त गरेको छ।

काठमाडौँ । आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदै छ । निर्वाचनमा सहभागिताका लागि मतदाताहरूले नामावली दर्ता गराइसकेका छन् भने दलहरु दल दर्ता गरिरहेका छन् । 

यसैबिच निर्वाचनको तयारी ६० प्रतिशत पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले भने,‘निर्वाचनको तयारी हालसम्म ६० प्रतिशत सकिएको छ । अब हामी कार्यान्वयनको प्रक्रियामा जाँदै छौँ । त्यो काम भनेको मतपत्र छपाई, मतदान, मत गणना र घोषणासम्म हुन्छ’ ।

भण्डारीले निर्वाचनलाई भयरहित, शान्तिपूर्ण बनाउनका लागि सुरक्षा निकायका प्रमुख, सरकार तथा सम्बन्धित मन्त्रालय सबैसँग संवादमै रहेको बताए ।

सरकारले पनि शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिने प्रतिबद्धता जनाइसकेकाले ढुक्क भएर निर्वाचनको तयारीमा जुट्न राजनीतिक दल, मतदाता तथा सरोकार निकाय सबैलाई भण्डारीले आग्रह गरे।

उनले भने, ‘सरकारले नै हामी शान्ति सुरक्षाको प्रत्याभूति दिन्छौँ । ढुक्क भएर निर्वाचन प्रक्रियामा अगाडि बढ्नोस् भनिराखेको अवस्थामा शङ्का गर्न हुँदैन । शान्तिपूर्ण निर्वाचन हुन्छ । स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुन्छ । ढुक्क हुनुहाेस् ।’

नयाँ दल दर्ता, २८ दल प्रक्रियामा

आयोगले प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य निर्वाचन प्रक्रियालाई सँगसँगै अगाडि बढाएको छ । प्रमाणपत्र प्रयोजनका लागि आयोगले कात्तिक ३० गतेसम्म तोकेको थियो । निर्वाचन प्रयोजनका लागि मंसिर १ देखि १० गतेसम्म समयसीमा तोकेको छ ।

शुक्रबार ५ बजेसम्म आयोगमा प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नेको सूची ४० वटा रहेको छ । 

राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता सूची ८ वटा रहेको छ । नयाँ १० वटा दलले दल दर्ता प्रमाणपत्र पाइसकेका छन् । 

नेपाल जनमुक्ति पार्टीबाट छुट्टिएर बनेको राष्ट्रिय जनमुक्ति पार्टी र आयोगमा पहिल्यै सूचीकृत भएका पाँच दल गाभिएर बनेको नेपाली कम्युनिस्ट पार्टी समेत गरी १२ दलले प्रमाणपत्र पाएका छन् । आयोगको सूचीमा सूचीकृत हुने दलको सङ्ख्या १२६ पुगेको छ । आयाेगका अनुसार २८ वटा दल दर्ता प्रक्रियामै छन् ।  

निर्वाचनको वातावरण बनाउन सरकार र आयोग सक्रिय

निर्वाचनको वातावरण बनाउनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले दुई पटक सरकार, जेनजी र राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरिसकेका छन् ।

प्रधानमन्त्री कार्कीले तीन पटक दलका प्रतिनिधिसँग छलफल गरिसकेकी छिन् । जेनजीको विभिन्न समूहसँग पनि उनले बारम्बार छलफल गरेकी छिन् ।

बिहीबार मात्रै प्रधानमन्त्री कार्कीले १२९ वटा दलहरूसँग छलफल गरेकी छिन् । निर्वाचन डर, त्रास, भयरहित स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण बनाउन सरकार प्रतिबद्ध रहेको बताएकी थिइन् । कुनै शङ्का नगरी निर्वाचनमा भाग लिन दलहरूलाई आग्रह गरेकी थिइन् ।

आयोगले पनि निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरण बनाउन प्रभावकारी ढङ्गले भूमिका खेलेको कार्यवाहक आयुक्त भण्डारीले जिकिर गरे ।

उनले भने, ‘हामीसँग कसैले पनि निर्वाचनमा भाग लिन्न भन्नुभएको छैन । प्रधानमन्त्रीसँग १२९ दलका प्रतिनिधिले निर्वाचनमा भाग लिन्छु भनेर सहमतिमा मन्जुरनामा गर्नुभएको छ । हामीले पनि पटक पटक आयोगमा बोलाएर राजनीतिक दलहरूसँग छलफल गरेका छौँ । दलका प्रतिनिधिहरू आउँदा भाग लिन्छौँ भन्नुभएको छ । यही १० गतेसम्म निर्वाचनमा भाग लिन दर्ता समय तोकिएको छ । उहाँहरूले दर्ता गरिरहनुभएको छ । त्यसैले दलहरू आउँदैनन् कि भनेर शङ्का गर्ने हो भने त्यसले लङ्का खान्छ । शङ्का गर्ने ठाउँ नै छैन ।’

भण्डारीले दल दर्ता गर्ने समय बाँकी नै भएकाले किन आएन भनेर शङ्का गर्नु उचित नहुने बताए । साथै उनले निर्वाचनको सन्दर्भमा पुराना शक्ति र नयाँ शक्तिबिच केही कुरा नमिलेर वा समन्वय नपुगेर झिनामसिना मतभेद हुनु स्वाभाविक भएको स्पष्ट पारे ।

तर त्यसलाई संवादबाट समस्या हल गर्न सकिने र कुनै घटना विशेषलाई लिएर  विश्लेषण गर्न आवश्यक नभएको स्पष्ट पारे ।  

चुनावमा जान एमाले ‘पाेजेटिभ’ 

जेनजी विद्राेहका कारण सत्ता गुमाएको नेकपा एमाले पनि निर्वाचनमा भाग लिन सकारात्मक देखिएको छ । कार्की सरकारलाई पूर्वप्रधानमन्त्री तथा अध्यक्ष ओलीले हा हुबाट बनेको असंवैधानिक सरकार भनिएपनि भित्री रूपमा पार्टीको पक्षमा जनमतको अवस्था बुझ्ने गरी देशव्यापी कार्यक्रम गरिरहेको छ ।

जेनजी युवालाई निर्मम दमन गरेको आरोप लागेका ओलीलाई काठमाडौँ उपत्यका बाहिर जान रोक लगाए पनि केन्द्रदेखि वडा तहसम्मका नेता तथा कार्यकर्तालाई परिचालन गरेको छ ।

६ हजार ७४३ वडा, ७५३ पालिका, ७७ जिल्ला र सातै प्रदेशमा जनपरिचालनको काम गरिरहेको एमालेले शनिबार राजधानीमा शक्ति प्रदर्शन गर्दै छ ।

शुक्रबार काठमाडौँमा राष्ट्रिय स्वयंसेवक दस्ता घोषणा गरेको छ । साथै मंसिरको अन्तिम हप्ता हुने ११ औँ महाधिवेशनको तयारीमा जुटेको एमालेले संसद् पुनर्स्थापना र निर्वाचनको तयारीलाई सँगै लैजाने नीति अगाडि सारेको छ ।

यद्यपि निर्वाचनमा शान्ति सुरक्षाको प्रत्याभूति सरकारले दिनेमा शङ्का व्यक्त गरेको छ । मंसिर ३ गते बारामा भएको कार्यक्रममा जान महासचिव शंकर पोखरेल, नेताहरू भानुभक्त ढकाल, महेश बस्नेत लगायतलाई रोक्ने उद्देश्यले सिमरा विमानस्थलमा भएको झडपको घटनाले एमाले सशङ्कित भएको देखिन्छ ।

आयोगमा एमालेले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि मात्र दल दर्ता गरिएकाले निर्वाचनको माहोल बिथोलिन सक्नेतर्फ सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । तर आफूहरू निर्वाचनको विरोधी नभएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समय १० गतेसम्म बाँकी छ । एमाले स्पष्ट छ । जनताकै बिचमा छ । कांग्रेस आन्तरिक झमेलामा फसिरहेको छ । नेपाली कम्युनिस्ट पार्टी दल बोल्दैमा ठिक छ । हामी निरन्तर जनतामै छौँ’, उनले भने, ‘तर सरकारले संविधान प्रदत्त अधिकार प्रयोग गर्न रोक लगाइराखेको छ । सरकार निर्वाचन गर्न चाहन्छ र सबै दल तयार छन् भने निर्वाचनको वातावरण बनाउने काम सरकारको हो । त्यसमा एमाले तयारै छ । अहिले शान्ति सुरक्षा अत्यन्त कमजोर छ । निर्वाचनको वातावरण हुन्छ कि हुँदैन भन्ने सिमराको घटनाले देखाउँछ ।’

राष्ट्रिय सङ्कट समाधानका लागि संसद् पुनर्स्थापना भएमा सहज हुने एमालेको निष्कर्ष रहेको उनले सुनाए । गौतमले अहिलेसम्म अदालतको नजिर हेर्दा पुनर्स्थापना नहुने कुनै कारण नभएको जिकिर गरे ।

‘एमालेले राष्ट्रिय सङ्कट समाधानका लागि स्पष्ट रोडम्याप सार्वजनिक गरिसकेको छ । अहिलेको सरकार गठन र संसद् विघटनको संवैधानिक परीक्षण हुनुपर्छ । त्यो एमालेले चाहेर वा नचाहेर पनि हुन्छ । संसद् पुनर्स्थापना भएको खण्डमा सबै पक्षको सहभागितामा राष्ट्रिय सहमतिको सरकार बनाउन सकिन्छ । जेनजीका मागहरू पुरा गर्न संविधान संशोधन गर्न सहज हुन्छ । त्यसैलाई बल पुगोस् भनेर नै यी कुरा उठाएका हौँ’, उनले भने ।

एमालेले सत्ता सहकार्य गरेको दल भएकाले नेपाली कांग्रेसको निर्णय गम्भीरतापूर्वक हेरिराखेको छ । निर्वाचन अगाडि महाधिवेशन गर्ने कि पछि गर्ने विवादमा अल्झिँदा केन्द्रीय कार्यसमिति बैठक ३७ दिनदेखि कांग्रेस अनिर्णीत भएको छ ।

राष्ट्रपति, प्रधानमन्त्री, आयोगका पदाधिकारीले बोलाएको सर्वदलीय बैठकमा सहभागी हुँदै आएको कांग्रेस निर्वाचनको विपक्षमा उभिएको छैन । कांग्रेस मात्र होइन निर्वाचनको पक्षमा आयोगमा सूचीकृत भएका सबै दल सकारात्मक देखिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप