आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

कम्युनिस्ट पार्टी अब अगाडि बढ्न सक्दैन : बाबुराम भट्टराई

आइतबार, ०७ मङ्सिर २०८२, १६ : ३७
आइतबार, ०७ मङ्सिर २०८२

सारांश

  • पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले कम्युनिस्ट पार्टी अब अगाडि बढ्न नसक्ने बताए।
  • उनले कम्युनिस्ट पार्टीमा चोरी र ठगी प्रवृत्ति हाबी भएको आरोप लगाए, समाजवादको भ्रम फैलाएको बताए।
  • भट्टराईले नयाँ र वैकल्पिक शक्तिहरूलाई हातेमालो गर्न आग्रह गर्दै प्रगतिशील लोकतान्त्रिक पार्टीको आवश्यकता औंल्याए।

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले कम्युनिस्ट पार्टी अब अगाडि बढ्न नसक्ने बताएका छन् । आइतबार राष्ट्रियसभा गृहमा प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा सभा कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले कम्युनिस्ट पार्टी अगाडि बढ्न नसकेकाले नै आफूले नयाँ वैकल्पिक अभियान सुरु गरेको जिकिर गरे ।

‘हामीले माओवादी छोडेर गएको होइन । माओवादीको कार्यभार पुरा गरेको हो । २००७ सालदेखि २०७२ साल सम्मको कार्यभार पुरा भएको हो । अब पार्टी र दल मात्र होइन राजनीतिकै पुनर्संरचना गर्नुपर्नेछ ।  यो पार्टीको योजना जेनजी पुस्ताको चेतनासँग सहकार्य गर्दै युवाले नेतृत्व गर्नुपर्छ । युवाले पनि काम गर्न सकेन भने पुरानै पार्टीतर्फ ढल्किने खतरा हुन्छ । दुई चार सिट जित्नका लागि हामीले नयाँ दोकान थाप्न खोजेका होइनौँ’, उनले भने ।

भट्टराईले कम्युनिस्ट पार्टीमा चोरी खाने ठग प्रवृत्ति हाबी भएको आरोप लगाए । एकातिर कम्युनिस्टले समाजवादको भ्रम छरेर ठग्ने काम गरेको उनले बताए ।

उनले भने– ‘कम्युनिस्ट प्रवृत्ति अब चल्दैन । कम्युनिस्ट भन्ने कमाउनिस्ट साथीहरूले चोरी गरेर समाजवादी भनेर व्याख्या गर्न थाले । अर्को पुँजीवादी धारको नेतृत्व जसले उदारवादी धार भनेको छ ।  त्यसको नेतृत्व कांग्रेस र अहिले मध्यपन्थी धारले गरेका छन् । यी दुवैको विकल्प हामीले प्रगतिशील लोकतान्त्रिक पार्टीलाई अगाडि बढाएका हौँ । प्रगतिशील भनेको गुदी कुरा हो ।’

कार्यक्रममा भट्टराईले देश अहिले सहज अवस्थामा नभएकाले नयाँ र वैकल्पिक शक्तिहरू एक ठाउँमा आएर हातेमालो गर्न आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप