समाजवाद पुँजीवादको राजधानीमा बिक्यो : राम कार्की
जनार्दन, हामी लड्दै थियौँ । किनभने यही नेपालका एकजना नेपाली, दार्शनिक सिद्धार्थ गौतमले के भनेका रहेछन् भने परिवर्तन बाहेक सबै कुरा अस्थायी छ । सबै कुरा परिवर्तनशील छ । नेपालमा विद्यमान पार्टीहरूमा नेता बाहेक अरु कुरा परिवर्तनशील छ । नेता चाहिँ नफेरिने । अब त्यो लडाइँमा नेता त बेस्सरी चिढिए । तर खासै फरक परेन । त्यसपछि के गर्ने ?
फेरि नयाँ युवाहरू सडकमा आइरहेको बेला पर्यो । घरै गएर बस्ने कि भन्दा त्यही बेलामा नेसनल सोसलिस्ट काउन्सिल अफ नागालिमका नेता ती मुइवा जो ९३ वर्षका भए । उनी पहिलो पटक ५० वर्ष पछाडि आफू जन्मेको गाउँमा पुगे र उनले भारत सरकारलाई चुनौती दिए । यदि नागाहरूको नागा नेसनको सम्मान हुँदैन भने हामी फेरि हतियार उठाउँछौँ, फेरि लड्छौँ । ९३ वर्षको मान्छेले युवाहरुतिर फर्केर के भने भने जेनेरेसन आउँछ, जान्छ । तर नेसन रहिरहन्छ ।
हामीले जुन लडाइँ लड्यौँ, त्यसको दायित्व अब तिमीहरूले लिनुपर्छ । त्यसैले म खास गरेर यी जति पनि जेनजी भनेका छन्, यी सबै हाम्रै केटाकेटी हुन् । स्पोइल्ड नहुनुहोस् ।
तपाईंहरूको आन्दोलनलाई एकदमै घृणा गर्ने मान्छेले पनि अहिले बाहिर के भन्छ भने जेनजीले उठाएको माग सही हो भन्छन् । त्यसैले तपाईंहरूलाई मेरो एउटा सुझाव सल्लाह छ– तपाईं विचारले, ज्ञानले सशस्त्र बन्नुपर्यो । तपाईं निहत्था लडाइँ लड्न सक्नुहुन्न । तपाईंसँग विचारको हतियार चाहिन्छ । अहिले विचार बिनाको राजनीति भन्ने पनि एउटा विचार हो । तर त्यो कुविचार हो ।
विचार दुई खालका हुन्छन् । एउटा कुविचार र अर्को सद्विचार । हामीले सद्विचार निर्माण गर्न खोजेका हौँ । अब युवाहरूको अगाडि हामी भन्छौँ, हामीले हाम्रो नेतृत्वलाई फेर्न पनि सकेनौँ, प्रतिस्थापन पनि गर्न सकेनौँ । उनीहरूको शैली, सोच, काम गर्ने तरिका फेर्न पनि सकेनौँ । उनीहरूलाई फालेर राम्रा मान्छेहरूलाई, गुनिला मान्छेहरूलाई त्यहाँ नेतृत्वमा लैजान पनि सकेनौँ । यसको निम्ति हामी आत्मालोचना गर्छौँ । हामी तपाईंहरूको अगाडि उभिएका छौँ ।
सकिएन त के गर्ने ? लडेकै हो । हामी सामन्तवादसँग अलिअलि लडेका थियौँ । हामी त्यो काममा लागेका छौँ अहिले । तर पुँजीवादले हाम्रो सिंगो आन्दोलनलाई प्रदूषित गरिदियो । पुँजीवाद जब्बर रहेछ । त्यसैले यो पुँजीवादसँग लड्न हामीले युवाहरुलाई अगाडि ल्याएका छौँ । र, हामी त्यहाँ नजिक बसेर हेर्छौँ । हाम्रो अब एक्जिक्युटिभ काम हुँदैन ।
हामी केही एक्जिक्युट गर्न चाहँदैनौँ । नत्र भने हामी बाहिर निस्केर फलाना समूह भनेर एउटा बनाइहाल्थ्यौँ नि । जनार्दन समूह, राम कार्की समूह केही भनेर हामी त्यो बनाउनेतिर लागेनौँ । हामी यो अभियानमा लाग्यौँ । यो चुनाव होस् या नहोस् । हाम्रो यो प्रगतिशील अभियान चलिरहन्छ । अहिले चुनावको निम्ति त्यो प्रगतिशीलको पछाडि लोकतान्त्रिक पार्टी भनेर ल्याइदिएका छौँ ।
तर हामी, तपाईंले सबैलाई थाहा हुनुपर्यो, वास्तविक समाजवाद भनेको प्रजातन्त्रकै विस्तार हो । प्रजातन्त्रकै त्यो इन्टेन्सिफाइ भएपछि समाजवाद बन्छ । र, तपाईंहरु पनि दुई–चार वर्ष पछाडि नयाँ जेनेरेसनमा पुग्नुहुन्छ । म खासगरी युवाहरूलाई के भन्छु भने तपाईंको अरु परिचय छ नि जुन सामाजिक परिचय, आर्थिक परिचय, पीडितको परिचय बाहेकका परिचय, त मुख्य रुपमा सबभन्दा निर्णायक परिचय भनेको आर्थिक परिचय हो ।
त्यही उमेरका युवाहरू कोही दरबारमार्गको गतिलो कफी हाउसमा जान्छन्, कोही बागबजारको सानो चना र चिउरा पाउने पसलमा बस्छन् । त्यहाँ छुट्टिहाल्छ । त्यसै हुनाले हाम्रो राजनीति जेसुकै भन्नुस्, धेरैले हामीलाई सम्झाउँछन्, अब समाजवाद नभनौँ, मार्क्सको नाम नलेऊ, यो नगर, ऊ नगर । तर संसारमा उत्पीडितहरूलाई बाँडिदिने काम मार्क्सवादले गरेको छ । त्यसलाई बाँडिदिएको छ । तपाईंहरुलाई एउटा चुनौती छ । हामी पनि सहयोग गर्छौँ । हामी तमासे बस्दैनौँ । जबसम्म यो दिमाग रहन्छ, ९३ वर्षको मुइवा त लड्छु भन्छन् भने हामी पनि लड्छौँ । तर नयाँ रोलमा लड्छौँ, नयाँ भूमिकामा लड्छौँ । अब पार्टीको प्रमुख बनेर होइन ।
तपाईंहरूले अहिलेको जो पुँजीवादले थुपारेका कुराहरू छन्, त्यसलाई प्रतिस्थापन गर्ने लडाइँ तपाईंहरूले एकदमै बुद्धिमतापूर्वक अगाडि बढाउनुपर्छ । किनभने तपाईंहरुले सिक्नु पनि पर्यो कौशल । समाजवाद त बीसौँ शताब्दीको, उन्नाइसौँ शताब्दीको भन्छन् । तर ज्ञानको जो धारा छ, त्यो ज्ञानको धारा हाम्रो साझा धरोहर हो । चाहे त्यो सातौँ शताब्दीको ज्ञान होस्, चाहे दसौँ शताब्दीको ज्ञान होस् । त्यो हाम्रो साझा धरोहर हो । जसले भन्छ ज्ञानबाट टाढा बस भन्छ नि, त्यो गलत कुरा हो ।
समाजवाद पुँजीवादको राजधानीमा बिक्यो । संसारको पुँजीवादको राजधानी भनेको न्युयोर्कमा एउटा भर्खरै युवाले, हाम्रो यो सन्तोषको उमेरको युवाले समाजवाद बेचिदियो । जनताले किने ह्वारह्वार । नेपालमा पनि तपाईं समाजवाद कसलाई खुवाउनुहुन्छ ? त्यो खुराक कसलाई दिनुहुन्छ ?
एउटा सम्भ्रान्त मान्छे, अर्बौँपति, एउटा भ्रष्ट नेतालाई समाजवाद रुच्दैन, पच्दैन । हाम्रै नेताहरूलाई पच्दैन । तर जसलाई मुक्ति चाहिएको छ, जसको पेट भोकै छ, भोकको विरुद्ध लड्ने हतियार त्यही हो । र, हामी यो व्यवस्थालाई प्रतिस्थापन गर्न चाहन्छौँ । अहिले एकदम ढुक्क हुनुहोस् । यो प्रगतिशील लोकतान्त्रिक पार्टीको सबभन्दा ठुलो लक्ष्य भनेको अहिलेको शिक्षा व्यवस्था, अहिलेको यातायात व्यवस्था, अहिलेको कृषि, अहिलेको उद्योग, यी सबै नीतिहरूलाई हामी प्रतिस्थापन गर्न चाहन्छौँ ।
हिजो बन्दुक लिएर गर्न खोज्यौँ । बन्दुकले गर्ने काम गर्यो । ग्राम्सीको भाषामा अब कोएर्सिभ होइन, पर्सुएसनद्वारा ज्ञानको सर्वोच्चता, पोलिटिकल सुप्रिमेसी, राजनीतिक सर्वोच्चता अहिलेको समाज व्यवस्थालाई प्रतिस्थापन गर्न चाहन्छौँ । जबसम्म समतामूलक समाज बन्दैन, तबसम्म त्यो दायित्व हरेक पिँढीले बोकेर हिँड्नुपर्छ । अहिले तपाईंहरु हुनुहुन्छ । अहिले हाम्रो एकजना एकदमै प्रभावशाली बोल्ने भाइले के भन्यो भने हामी स्वतन्त्र भएर तपाईंहरूको निगरानी गर्छौँ भन्यो । ठीक छ, स्वतन्त्र भएर गर्नुस्, तर यहाँ आएर पनि गर्न सक्नुहुन्छ ।
हामीभित्रै बसेर पनि हामीलाई औंला ठड्याउन सक्नुहुन्छ । किनभने हामी औंला ठड्याउँदै आएका मान्छेहरू हौँ । हामीले पनि ठड्याएका थियौँ आफूभन्दा ठुला नेताहरूलाई । तपाईंहरुले पनि हामीलाई ठड्याउनुस् । तर वैचारिक मर्यादा सहित, वैचारिक हतियार सहित । किनभने तपाईंहरू यस्तो सजिलो अवस्थामा हुनुहुन्छ । हामीले एउटा किताब चाहिँ दुई वर्ष लगाएर खोज्नुपर्थ्यो । हिन्दीबाट अनुवाद भएर आएको, अंग्रेजीमा एक्सेस नै थिएन । तर अहिले यस्तो साधन स्रोत तपाईंहरूसँग छ कि संसारको कुनै पनि किताब तपाईं १५ मिनेटमा डाउनलोड गर्न सक्नुहुन्छ । पढ्न सक्नुहुन्छ ।
ज्ञानबाट आफूलाई सशस्त्र तुल्याउनुस् । विचारद्वारा सशस्त्र तुल्याउनुस् र यो काम नलाग्ने पुँजीलाई, यो म्याद गुज्रिएको नेतृत्वलाई प्रतिस्थापन गर्नुस् ।
हामी त स्वयम् पछि हटेका छौँ । हामी भोलेन्टियरली हटेका छौँ । तपाईंहरु यहाँ बसेर पनि, यहाँ बाहिर रहेर पनि यो अभियानलाई, यो प्रगतिशील अभियानलाई सघाउन, मद्दत गर्न मार्क्सवाद भनेकै आफैंप्रति आलोचक हुनु हो । आफूप्रति जो आलोचक बन्दैन, त्यो मार्क्सिस्ट होइन । हाम्रा नेताहरू आलोचना गर्न उभियो भने पनि आफ्नो प्रशंसा गर्न थाल्छन् । उनीहरूलाई सबभन्दा मनपर्ने आलोचना के हो भने तपाईं आफ्नो स्वास्थ्यको ख्यालै गर्नुहुन्न, दौड्यादौडै गर्नुहुन्छ भन्दिएपछि त्यो चाहिँ मेरो अलिकति छ भन्छन् ।
त्यसैले हामीसँग थुप्रै त्यस्ता कुप्रथाहरू पनि बाँकी छन् । त्यसलाई प्रतिस्थापन गर्न तपाईं हामी सबै उमेरका मान्छेहरु, भूमिकाहरू अलगअलग गरौँ । हामी पाकाहरूको अनुभव पनि उपयोग गरौँ । तपाईंहरूको जोश, जाँगर, अध्ययन, सीपलाई पनि प्रयोग गरेर एउटा राम्रो, सुन्दर नेपाल संसारको अगाडि प्रस्तुत गरौँ ।
(प्रगतिशील लोकतान्त्रिक पार्टी एकतासभामा कार्कीले राखेको धारणाको सार)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण