बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पोखरा–बागलुङ सडकका खाल्डाखुल्डी मर्मत गरिँदै

आइतबार, ०७ मङ्सिर २०८२, २० : ५०
आइतबार, ०७ मङ्सिर २०८२

सारांश

  • पोखरा-बागलुङ सडकमा खाल्डाखुल्डी पुर्न मर्मत कार्य सुरु गरियो।
  • सडक डिभिजन कार्यालयले फेदीदेखि मालढुङ्गासम्म दुई खण्डमा काम थालेको छ।
  • बजेट अपुग हुने देखिए पनि समयमै काम सक्ने योजना छ।

पाेखरा । ठाउँपिच्छे परेका खाल्डाखुल्डीले यात्रामा जोखिम बढेपछि मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडकको मर्मतसम्भार सुरु गरिएकाे छ । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारीचालकले सास्ती खेप्दै आएका थिए ।

सडक डिभिजन कार्यालय, पोखराले कास्कीको फेदीदेखि नयाँपुल र नयाँपुलदेखि पर्वतको मालढुङ्गासम्म गरी दुई खण्डमा मर्मतसम्भारको काम सुरु गरेको हो ।

अहिले फेदीतर्फबाट खाल्डाखुल्डी पुर्ने र भत्केको सडक कालोपत्र गर्ने काम भइरहेको कार्यालयका सब–इन्जिनियर लोकेश पौडेलले जानकारी दिए ।

गत बर्खायाममा धेरै ठाउँमा सडक भत्केको र खाल्डाखुल्डी परेका कारण यातायात सञ्चालनमा कठिनाइ हुँदै आएकामा अब छिट्टै उक्त समस्या हट्ने उनले बताए । शिवालय निर्माण सेवामार्फत सडक मर्मतसम्भारको काम अगाडि बढाइएको सबइन्जिनियर पौडेलले जानकारी दिए ।

बर्खायाम सकिएलगत्तै सडक मर्मत गर्ने योजना रहे पनि बीचमा ठूला चाडबाड परेका कारण काम केही ढिलो सुरु भएको कार्यालयले जनायो । सडक धेरै ठाउँमा बिगे्रकाले ममर्तसम्भारमा छुट्टिएको बजेटक अपुग हुने देखिएको सब–इन्जिनियर पौडेलले जानकारी दिए । बजेटले भ्याएसम्मको काम समयमा नै हुने उनले बताए ।

कास्की र पर्वत खण्डको सडकमा खाल्डाखुल्डीको समस्या बढी रहेको जनाइयो । ठाउँठाउँमा सडक बिग्रँदा सहज र निर्बाध रुपले सवारीसाधन चलाउन सक्ने अवस्था अहिले छैन ।

सडक कतै भासिएको छ भने कहीँ ठूल्ठूला खाल्डा परेका छन् । सवारीसाधनको बढी चाप हुने मुख्य सडक नै बिग्रँदा दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ । पश्चिमतर्फ पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुम पूर्वलगायतका जिल्लाबाट उक्त सडक हुँदै दैनिक सयौँ गाडी पोखरा आउजाउ गर्ने गर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप