शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आन्तरिक पर्यटकको रोजाइमा रानीघाट

मङ्गलबार, ०९ मङ्सिर २०८२, ०० : १२
मङ्गलबार, ०९ मङ्सिर २०८२

सारांश

  • रानीघाट आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ, जहाँ पर्यटकको आगमन बढ्दो छ।
  • रानीघाटमा नुहाउने, हात्ती सफारीको व्यवस्था र स्थानीय परिकारले पर्यटकलाई आकर्षित गरेको छ।
  • होमस्टे र आसपासका क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ, जसले स्थानीय अर्थतन्त्रलाई टेवा पुर्‍याएको छ।

बाँके । जिल्लाको कोहलपुर नगरपालिका–१३ खड्कवारस्थित रानीघाट आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित रानीघाटमा आन्तरिक पर्यटकको आगमन बढ्दै गएको हो ।

नेपालगञ्ज–२१ पुरैनीबाट घुम्न पुगेकी अंशु शाहीले रानीघाट नदीमा नुहाउने व्यवस्थाका साथै नजिकैको हात्तीसारले गर्दा यो क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको बताइन् ।

पाँच हेक्टर क्षेत्रफलमा फैलिएको रानीघाटमा बाँके जिल्लाका साथै बर्दिया, दाङ र सुर्खेतबाटसमेत पर्यटक वनभोजका लागि आउने गरेका रानीघाट पार्क व्यवस्थापन समितिका अध्यक्ष दिनेशकुमार वलीले बताए ।

उनका अनुसार यो क्षेत्रमा पछिल्लो समय हरेक दिन सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक आइरहेका छन् । रानीघाटमा आउने पर्यटकका लागि खानेपानी धारा, शौचालय, विद्युत्, फोटो जोन, पिङ, सवारी पार्किङस्थल र मचानको व्यवस्था गरिएको उनले जानकारी दिए ।

नजिकै रहेको रानीघाट नदीमा नुहाउने व्यवस्थाका साथै हात्तीसारबाट निकुञ्जसँगको समन्वयमा हात्तीसफारीसमेत गर्न पाइने भएकाले रानीघाटमा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढेको वलीले बताए । 

रानीघाट घुम्न आउने आन्तरिक पर्यटकका कारण नजिकैको खड्कवार होमस्टेमा चहलपहल बढेको छ । वनभोज र घुम्न आउने पर्यटक होमस्टेको परिकार चाख्न आउने गरेको खड्कवार होमस्टेका अध्यक्ष लालबहादुर रानाले जानकारी दिए । 

उनका अनुसार बाँके निकुञ्जको गाभर र ढकेरी क्षेत्रपछि अहिले  कोहलपुर–१३ को रानीघाट आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । घुम्न आएका आन्तरिक पर्यटकलाई स्थानीय अर्ग्यानिक परिकारले स्वागत गर्ने गरिएको छ । 

बाँके निकुञ्जकै मध्यवर्ती क्षेत्रमा पर्ने गाभर भ्याली क्षेत्रमा पनि वनभोज खान र घुम्न जाने आन्तरिक पर्यटकको चहलपहल बढेको छ । वनभोज र घुमघामको यामले बाँके निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेका सामुदायिक होमस्टेमा चहलपहल बढेको गाभरभ्याली होमस्टेका अध्यक्ष कृष्ण चौधरीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप