संघीय सरकारको लापरबाही : चार अर्ब ६२ करोडका दर्जनौँ पुल अलपत्र
सारांश
- कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा निर्माणाधीन पुलहरूको काम सुस्त गतिमा भइरहेको छ, जसमध्ये अधिकांशको प्रगति निराशाजनक छ।
- पुल निर्माणको जिम्मा लिएका निर्माण व्यवसायीहरूको ढिलासुस्ती र कोभिड-१९ लगायतका कारणले गर्दा पुल निर्माणमा समस्या देखिएको छ।
- कतिपय पुलहरूको निर्माण प्रगति शून्य प्रतिशतसम्म रहेको छ भने केही पुलको काम अन्तिम चरणमा पुगेको छ।
विराटनगर । कोशी प्रदेशका पहाडी तथा तराईका जिल्लाहरू जोड्ने महत्त्वपूर्ण सडक सञ्जालअन्तर्गत निर्माणाधीन पुलहरूको काम अत्यन्तै सुस्त गतिमा भइरहेको पाइएको छ ।
संघीय सरकारको सडक विभागअन्तर्गत पुल सेक्टर (धरान) ले हेर्नेगरी ४ अर्ब ६२ करोड ५३ लाख बढी रकममा छुट्टाछुट्टै सम्झौता भएका दुई दर्जन पुलमध्ये अधिकांशको प्रगति निराशाजनक छ ।
ती पुलहरूमा हालसम्म एक अर्ब ५८ करोड ९९ लाख ३० हजार रुपैयाँ भुक्तानी भइसकेको छ । यो कुल सम्झौताको करिब ३४.३७ प्रतिशत हो, त्यसमध्ये रणनीतिक पुलको रुपमा रहेका ९ वटा पुलको प्रगति झनै निराशाजनक छ ।
हालसम्म उक्त पुलहरूको ७६ करोड ९८ लाखमा ठेक्का सम्झौता भए पनि वित्तीय प्रगति भने १५ करोड २७ लाख मात्रै छ । त्यसको तुलनामा १३ वटा रहेका स्थानीय पुलका लागि कुल ३ अर्ब ८५ करोड ५५ लाख २० हजारमा ठेक्का लागेको छ भने हालसम्म एक अर्ब ४३ करोड ७१ लाख रुपैयाँ भुक्तानी भएको छ ।
उता, कार्यालयको तथ्यांकअनुसार निर्माणाधीन २२ वटा पुलमध्ये केवल ३ वटाको प्रगति सन्तोषजनक छ भने बाँकी आयोजनाहरू वर्षौँदेखि निर्माणाधीन अवस्थामा अल्झिएका छन् ।
पुल सेक्टर धरानका सूचना अधिकारी नवीन कुमार साहले उपलब्ध गराएको विवरण अनुसार कोशी प्रदेशका विभिन्न जिल्लामा निर्माणाधीन पुलहरूमध्ये आधाभन्दा बढीको भौतिक प्रगति ५० प्रतिशत कट्न सकेको छैन ।
विशेषगरी एलआरएन र एसआरएन अन्तर्गतका पुलहरूको अवस्था दयनीय छ । इलामको देउमाई खोलामा निर्माणाधीन पुलको भौतिक प्रगति जम्मा ९ प्रतिशत मात्र छ । आर्थिक वर्ष २०७७/७८ मा सम्झौता भएको उक्त पुलको ठेक्का नागार्जुन/प्रधान जेभी काठमाडौँले लिएको थियो ।
_MIHcerNbq0.jpg)
त्यस्तै, उदयपुर र खोटाङ जोड्ने बन्सिलाघाट पुलको अवस्था पनि उस्तै छ । आर्थिक वर्ष २०७६/७७ मा ठेक्का लागेको यो पुलको भौतिक प्रगति हालसम्म ९ प्रतिशत र वित्तीय प्रगति ११ प्रतिशत मात्र देखिएको छ । कालिका/बेदान्सी जेभीले जिम्मा लिएको यो आयोजना अलपत्र अवस्थामा छ ।
कोशी प्रदेशको गौरवको आयोजना मानिने तमोर कोरिडोर अन्तर्गतका पुलहरूको निर्माण गति पनि सुस्त छ । धनकुटा र पाँचथर खण्डमा पर्ने नावा खोला, हेवा खोला, लोरिपा खोला र लाखुवा खोलाका पुलहरूको प्याकेजमा ठेक्का लागेको भए पनि औसत प्रगति निकै कम छ ।
शर्मा/सगुन जेभीले जिम्मा लिएको यी पुलहरूको प्याकेजमा समग्र वित्तीय प्रगति १५.१७ प्रतिशत मात्र हुनुले निर्माण व्यवसायीको लापरवाही प्रस्ट पार्छ । लाखुवा खोला पुलको भौतिक प्रगति १८ प्रतिशत र रघुवा खोला पुलको प्रगति २० प्रतिशतमा सीमित छ ।
यस्तै मुलघाट–खोटाङ–ओखलढुंगा (तलुवा) जोड्ने ओखलढुंगाको दुधकोशी पुलको निर्माण प्रगति शून्य छ वित्तीय प्रगति भने २ प्रतिशत छ । उक्त पुलको ठेक्का सम्झौता आर्थिक वर्ष २०७६–७७ मा कालिका/प्यासिफिक काठमाडौंसँग भएको थियो ।
आयोजनाको सुस्त गतिबारे प्रतिक्रिया दिँदै पुल सेक्टर धरानका सूचना अधिकारी साह भन्छन्, ‘हामीले हेरिरहेको आयोजनाहरूमा केही पुलको काम अन्तिम चरणमा पुगेको छ भने केहीमा समस्या देखिएको सत्य हो । भौगोलिक कठिनाइ, कोभिडकालको असर र निर्माण व्यवसायीहरूको ढिलासुस्तीका कारण प्रगति सोचेअनुरुप हुन सकेको छैन ।’
साहका अनुसार संखुवासभा र भोजपुर जोड्ने अरुण नदीको पुल (कात्तिके घाट) को काम भने उदाहरणीय छ । हिराचन/रुविना/विएलटी जेभीले बनाएको यो पुलको भौतिक प्रगति ९९ प्रतिशत पुगेको छ ।
त्यस्तै, इलामको रिखुवा खोला पुल (९० प्रतिशत) र मोरङको तुर्के खोला पुल (८५ प्रतिशत) को काम पनि सन्तोषजनक छ । ‘राम्रो काम गर्नेलाई भुक्तानीमा समस्या छैन, तर काम ओगटेर बस्ने र विभिन्न बहाना बनाउने निर्माण व्यवसायीहरूलाई हामीले ताकेता गरिरहेका छौँ,’ साहले भने ।
उदयपुर र खोटाङ जोड्ने सुनकोशी (फोक्सिन्टार) पुलको एउटा खण्ड र ओखलढुंगा जोड्ने अर्को खण्डको प्रगति विवरण शून्य देखिनुले यी आयोजनाहरू रुग्ण बनेको प्रस्ट पार्छ ।
संघीय राजधानी र प्रदेशका मुख्य सहर जोड्ने यी पुलहरू समयमै नबन्दा स्थानीय बासिन्दाले सास्ती खेप्नुपरेको छ भने आयोजनाको लागत समेत बढ्दै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै लक्ष्मीप्रसाद
-
रूस र युक्रेनबिच तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण