बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

गुप्तचर विभागका पूर्वप्रमुख थापासँग जाँचबुझ आयोगले लियो बयान

बिहीबार, ११ मङ्सिर २०८२, २० : ४८
बिहीबार, ११ मङ्सिर २०८२

सारांश

  • उच्चस्तरीय जाँचबुझ आयोगले राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापासँग बयान लिएको छ।
  • जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित आयोगले किशोरहरूको ज्यान जाने गरी गोली चलाउने विषयमा छानबिन गर्नेछ।
  • आयोगले यसअघि पूर्व मुख्यसचिव एकनारायण अर्यालसँग सोधपुछ गरेको थियो र तीन महिनाभित्र प्रतिवेदन पेस गर्नेछ।

काठमाडौँ । जेजनी प्रदर्शनबारे छानबिन गरिरहेको उच्चस्तरीय जाँचबुझ आयोगले राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख (मुख्य अनुसन्धान निर्देशक) हुतराज थापासँग बयान लिएको छ । थापासँगको बयान बुधबार साँझ पुरा भएको जाँचबुझ आयोगका एक जना पदाधिकारीले रातोपाटीलाई बताए ।

मुख्य अनुसन्धान निर्देशकको ३ वर्षे पदावधि पुरा गरेर थापा भदौ २८ मा सेवा निवृत्त भएका थिए । जेनजी प्रदर्शन हुँदा उनी गुप्तचर प्रमुख थिए । गौरीबहादुर कार्की नेतृत्वको आयोगले प्रदर्शनको पहिलो दिन किशोरहरूको ज्यान जाने गरी गोली चलाउने काम कानुन सम्मत भए नभएको र २४ गतेको विध्वंसबारे जाँचबुझ गर्ने कार्यादेश पाएको छ । ९ बाट काम सुरु गरेको आयोगले तीन महिनाभित्र प्रतिवेदन पेस गर्नुपर्नेछ ।

आयोगले यसअघि पूर्व मुख्यसचिव एकनारायण अर्यालसँग सोधपुछ गरेको थियो । मङ्सिर ४ मा आयोगले अर्यालसँग सोधपुछ गरेको हो । गौरीबहादुर कार्की नेतृत्वको आयोगले प्रदर्शनको पहिलो दिन किशोरहरूको ज्यान जाने गरी गोली चलाउने काम कानुन सम्मत भए नभएको र २४ गतेको विध्वंसबारे जाँचबुझ गर्नेछ ।

असोज ९ बाट काम सुरु गरेको आयोगले तीन महिनाभित्र प्रतिवेदन पेस गर्नुपर्ने छ । आयोगले राष्ट्रिय अनुसन्धान विभागको उपत्यका हेर्ने डीआईजी कृष्ण खनाल, उपत्यका प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख ओम राना, सशस्त्र प्रहरीका डीआईजी सुरेश श्रेष्ठ र नेपाल प्रहरीका एसपीद्ववय अपिल बोहरा र कुलदिप चन्दसँग बयान लिएको छ ।

सशस्त्रका डीआईजी श्रेष्ठ उपत्यका हेर्ने नम्बर नम्बर–९ पशुपतिनाथ बाहिनीका प्रमुख हुन् । उपत्यका प्रहरी कार्यालयबाट सरुवा भएर सुदूरपश्चिम प्रदेशमा गएका डीआईजी ओम रानाको बयान पनि बुधवार साँझ पुरा भएको आयोगका एक जना सदस्यले जानकारी दिए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप