फोहरले जनकपुरधाम दुर्गन्धित, सरसफाइ गर्ने निकाय बेखबर
सारांश
- विवाह पञ्चमी समापनपछि जनकपुरधाममा फोहोरको समस्या बढेको छ, जसले गर्दा सहर दुर्गन्धित बनेको छ।
- सरोकारवाला निकायको बेवास्ताका कारण जनकपुरधाम उपमहानगरपालिका र बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् निष्क्रिय देखिएका छन्।
- स्थानीय व्यवसायीहरू फोहोरको बीचमा व्यवसाय गर्न बाध्य छन् भने मेयर र परिषद् अध्यक्षको कार्यशैलीप्रति स्थानीयले असन्तुष्टि जनाएका छन्।
जनकपुरधाम । श्रीराम–जानकी विवाह महामहोत्सव (विवाह पञ्चमी) सम्पन्न भएसँगै जनकपुरधामको सुन्दरता पनि सकिएको छ । विवाह पञ्चमीका क्रममा आएका भक्तजनले विसर्जन गरेका फोहरका कारण जनकपुरधाम अहिले दुर्गन्धित भएको छ ।
विवाह पञ्चमी महोत्सवका लागि सजाइएको जनकपुर महोत्सव सकिएसँगै फोहरले दुर्गन्धित हुन थालेको हो । बुधबार रामकलेवा (बिदाइ) कार्यक्रमसँगै महोत्सव औपचारिक रूपमा समाप्त भयो, तर जताततै फालिएका फोहर उठाउनतिर सरोकारवाला निकायको ध्यान पुगेको छैन ।

जनकपुरधाम उपमहानगरपालिका र बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् दुवै पक्ष सरसफाइका लागि निष्क्रियजस्तै देखिँदा सहर दुर्गन्धमय बनेको छ । रंगभूमि मैदान (बाह्रबिघा), जानकी मन्दिर परिसर, राममन्दिर प्राङ्गण, जनकचोक, रामानन्द चोक, रामचोक, सीताचोक, पुलचोक, रेल्वे स्टेशन, विद्यापति चोकलगायतका क्षेत्र फोहरले भरिएका छन् ।
विशेषगरी भोजन प्रयोजनका लागि प्रयोग गरिएका पात, डिस्पोजेबल सामग्री र छरिएका अन्नका अवशेष यत्रतत्र थुप्रिएको अवस्था छ । रेल्वेस्टेशनस्थित रेल्वेको लिकमा समेत फोहरको थुप्रो छ भने राममन्दिर कम्पाउण्ड छेउको नालासमेत फोहरकै कारण जाम भएको अवस्था छ ।

राम मन्दिरको कम्पाउण्ड क्षेत्रमा सिन्दुर, टीका, लड्डु र फूलमाला बिक्री गर्दै आएका व्यवसायीहरू दुर्गन्धका बिचमै व्यवसाय गर्न बाध्य भएका छन् । शृङ्गार सामग्री व्यवसायी सुमित्रा देवीका अनुसार, विवाह महोत्सवका तीन दिनसम्म भक्तजनहरूको ठुलो भिड जम्मा भएको र रातभर बस्ने व्यवस्था गरिएकाले फोहर थुप्रिएको हो ।
उनले भनिन्, ‘मैदानमा परेको फोहर त सहन सकिन्छ, तर छेउको नालामा थुप्रिएको फोहर सडेर आएको दुर्गन्धले बस्नै नसकिने अवस्था छ । व्यवसाय चलाउनै पर्ने भएकाले बाध्य भएर बसेकी छु ।’

सोही स्थानमा फूलमाला बेच्दै आएका व्यवसायी बेचन मालीले पनि फोहर उठाउन कसैले ध्यान नदिएको गुनासो गरे । उनका अनुसार, अघिल्ला वर्षमा महोत्सव सकिनासाथ सरसफाइ सुरु हुने गर्थ्यो, तर यस वर्ष अहिलेसम्म कसैले चासो नदिँदा चारैतिर फोहरले भरिएको छ ।
मालीले भने, ‘नाक थुनेर व्यवसाय गर्नुपरेको छ । कसलाई भनौँ ? सबै अर्काकै जिम्मा भन्दै पन्छिन्छन् ।’

वरिष्ठ पत्रकार श्यामसुन्दर शशीले जनकपुरधाम उपमहानगरपालिका र बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् दुवै निकाय निष्क्रिय भएकै कारण यस्तो अवस्था सिर्जना भएको बताए । उनका अनुसार, उपमहानगरपालिकाका मेयर मनोज कुमार साहको स्पष्ट कार्य–दृष्टिकोण (भिजन) नहुँदा काम ठप्पजस्तै छ ।

शशीले भने, ‘मेयर साह ठुला कुरामात्र गर्छन्, तर व्यवहारमा केही देखिँदैन ।’
उनले बृहत्तर परिषद् अध्यक्ष शितल साहबारे पनि टिप्पणी गर्दै भने, ‘उहाँ आफ्नै कर्मचारीसँग बारम्बार विवादमा रहने भएकाले सरसफाइतर्फ ध्यान दिन भ्याइरहनुभएको छैन ।’
जनकपुरधाम उपमहानगरपालिकाका प्रवक्ता परमेश झाले विवाह महोत्सवपछि सहरभर थुप्रिएको फोहर उठाउन उपमहानगर संवेदनशील रहेको दाबी गरे । उनले सरसफाइबारे छलफल अघि बढाइसकिएको उल्लेख गर्दै व्यवस्थित रूपमा फोहर हटाउने लक्ष्य रहेको बताए ।
_iBtAJvnVQK.jpg)
प्रवक्ता झाले भने, ‘हामीले क्रमिक रूपमा सरसफाइ गर्दै आएका छौँ । पूर्ण रूपमा सफा गर्न दुई–तीन दिन लाग्न सक्छ ।’
त्यसैगरी बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शितल साहले पनि महोत्सवपछि फोहर थुप्रिएको स्वीकार गरे । उनका अनुसार रंगभूमि मैदानमा श्रद्धालुहरूका लागि बनाइएका अस्थायी शौचालयको फोहर व्यवस्थापनमा टोली खटिएको छ । साहले भने, ‘भोलिदेखि बृहत्तर सरसफाइ अभियान सुरु गर्छौं । जनकपुरधामलाई सुन्दर, भव्य र पर्यटकीय सहर बनाउन हामी कहिल्यै पछि हट्दैनौँ । छिटै हाम्रो मातहतका स्थल सफा बनाउँछौँ ।’

राममन्दिर व्यवस्थापनमा खटिएका महावीर युवा कमिटीका महासचिव भरत साहले सप्ताहव्यापी महोत्सवको तयारीले क्लबका पदाधिकारीहरू अत्यधिक थाकेको बताए । उनका अनुसार बिहीबार राम मन्दिरबाट जानकी मन्दिरमा पाहुर (भार) पठाउने परम्परागत कार्यक्रम भएकाले सदस्यहरू त्यही तयारीमा व्यस्त छन् ।
साहले भने, ‘हामी मेयरसँग निरन्तर सम्पर्क गर्न खोजिरहेका छौँ, तर उहाँको फोन स्विच अफ छ । भोलिसम्म पनि उपमहानगरपालिकाले तदारुकता नदेखाए हामी नै महावीर युवा कमिटीको नेतृत्वमा महासरसफाइ अभियान सुरु गर्नेछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण