बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

तोडफोड भएका सीसी टिभी क्यामरा मर्मत सम्भार गरेर पुनः सञ्चालनमा ल्याइने

शुक्रबार, १२ मङ्सिर २०८२, १२ : ५३
शुक्रबार, १२ मङ्सिर २०८२

सारांश

  • विराटनगरमा जेनजी आन्दोलनमा क्षति भएका सिसिटिभी क्यामेरा मर्मत गरिने भएको छ।
  • मर्मतका लागि युएनभी र विभिन्न संघसंस्थाले रकम उपलब्ध गराउने भएका छन्।
  • जिल्ला प्रहरी कार्यालय मोरङ र प्लाजा सेल्स प्रालिबीच सम्झौता भएको छ।

विराटनगर । जेनजी आन्दोलनका क्रममा तोडफोड भएका विराटनगरको रानीदेखि बुढी गंगासम्मको कोशी राजमार्ग र विराटनगर क्षेत्रमा रहेको सीसीटिभी क्यामराहरू मर्मत सम्भार गरेर पुनः सञ्चालनमा ल्याइने भएको छ । 

सीसीटिभी मर्मत सम्भारका लागि करिब साढे २४ लाख रुपैयाँको लागत खर्च लाग्नेमा युएनभीले साढे १४ लाख रुपैयाँ र मोरङ उद्योग व्यापार संघ, उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ कोशी र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले बाकी १० लाख रुपैयाँ उपलब्ध गराउने भएका छन् ।

व्यावसायिक सामाजिक उत्तरदायित्व अर्थात सीएसआर अन्तर्गत मर्मत सम्भार हुन लागेको सो कार्यक्रमका लागि जिल्ला प्रहरी कार्यालय मोरङका र युनिभ्यु ब्रान्डको आयातकर्ता प्लाजा सेल्स प्रालिबिच सम्झौता भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कवित कटुवालले सार्वजनिक क्षेत्रको निगरानी प्रणालीका लागि सीसीटिभी क्यामेरा अपरिहार्य रहेको र सुरक्षा व्यवस्था मजबुत बनाउन सहयोग पुग्ने धारणा व्यक्त गरे ।

जेनजी आन्दोलनका क्रममा धेरै सीसीटिभी क्यामेरा तोडफोड गरिएको थियो भने केही थान चोरी भएको थियो । विराटनगरको रानीदेखि बुढीगंगा गाउँपालिका र विराटनगर क्षेत्रमा १५६ वटा सीसीटिभी क्यामेरा रहेकोमा जेनजी आन्दोलनका क्रममा १ सय २२ वटा क्षतिग्रस्त तुल्याइएको थियो भने हाल ३४ वटा मात्रै सञ्चालनमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप