म मानिसको मन भिजाउन होइन, व्यवस्था हल्लाउन गजल लेख्छु : सुमन स्मारिका
सारांश
- सुमन स्मारिकाले 'साहेब' गजल सङ्ग्रह मार्फत पाठकमाझ आफ्नो रचना प्रस्तुत गरेकी छिन्।
- लेखिकालाई समाजमा व्याप्त अन्याय, असमानता र विसंगतिले लेख्न प्रेरित गर्छ, र उनले यसलाई विद्रोहको रूपमा लिन्छिन्।
- उनको गजल लेखन जीवनको भाषा, अस्त्र र प्रतिरोधको अभिव्यक्ति हो, र 'साहेब' मा प्रेम, विद्रोह र प्रश्नहरू समावेश छन्।
समकालीन नेपाली गजल पुस्ताकी सशक्त नारी हस्ताक्षर हुन्, सुमन स्मारिका । यसअघि ‘कैफियत’ र ‘महफिल’ संयुक्त गजल सङ्ग्रह प्रकाशित गरेकी उनी हालैै ‘साहेब’ गजल सङग्रहमार्फत पाठकमाझ आएकी छिन् । उनै स्मारिकासँग रातोपाटीकी रमा सुवेदीले ‘नौ प्रश्न’ शृङ्खलाका लागि गरेको कुराकानी ।
१. लेख्नका लागि तपाईंलाई कुन कुराले बढी प्रेरित गर्छ ?
समाजमा अन्याय, असमानता, विभेद र विसङ्गतिको कुनै कमी छ र ? लेख्नका लागि विषय खोज्दै हिँड्नु पर्ने । मलाई त्यसैले प्रेरणा दिन्छ । जब यो समाजले असमानतालाई सामान्य भन्छ, मलाई त्यो हजम हुँदैन । अनि म कलम तिखार्छु । जब मेरो कुरा गर्ने अधिकार खोसिन्छ, म लेखेर गर्जिन्छु । मलाई प्रेम भन्दा बढी पीडाले प्रेरणा दिन्छ । पीडाबाट माथि उठ्ने शक्ति आफ्नै आत्मबलले दिन्छ ।
खासमा भन्ने हो भने मलाई लेख्नका लागि प्रेरित गर्ने मेरो आफ्नै जीवन हो । कहिले एक बुँद आँसुले कविता जन्माउँछ । कहिले एउटै प्रश्नले गजल । जीवनमा जे कुरा अपुरो र अदृश्य छ, त्यही कुराले लेख्न मजबुर बनाउँछ । म सजावटका लागि लेख्दिनँ । सामाजिक घाउहरू समाजलाई नै देखाउनका लागि लेख्छु, ताकि यो मुलुकले हाम्रा घाउ पनि चिनिदेओस् र सम्बोधन गरिदेओस् ।
२. गजल/कविता लेखनको कुनै खास उद्देश्य छन् कि ? यसका चुनौतीहरू के–के रहेछन् ?
मेरा उद्देश्यहरू ठूला छैनन् । तिखा छन् । म मौनतामा आवाज भर्न लेख्छु । लेखनको खास चुनौती भनेकै यो समाज हो । खास्सा दिल खोलेर भन्ने हो भने स्त्री लेखकका लागि चुनौतीहरूको सगरमाथै चढ्नु पर्छ । स्त्रीलाई अझै पनि शारीरिक वा भावनात्मक रूपमा ‘कमजोर’ प्राणी ठानिन्छ ।
यसका साथै समाजले गजललाई ‘प्रेम’ को अभिव्यक्ति मात्रै ठान्छ, त्यो पनि चुनौती हो नि । जबकि गजल र कविताले विद्रोह जन्माउँछ, दर्शन बोल्छ र इतिहास लेख्छ । दुनियाँ जति नै आधुनिक र शिक्षित भए पनि हामी त्यस्तो देशमा बस्छौँ, जहाँ आज पनि स्त्री कविले प्रश्न सोध्दा ‘यसले अति बोली’, ‘यसको मुख च्यात’, ‘कलम भाँच’ भन्नेहरूको अति क्रूर र घृणित भिड छ ।
स्त्रीको कलमलाई समाजले सीमित दृष्टिले हेर्छ । भावना व्यक्त गर्दा ‘भावुक’ र प्रतिवाद गर्दा ‘छाडा’ भन्छ । यहाँ साँचो कुरा लेख्नेहरूलाई डर देखाइन्छ । स्त्रीले कलम चलाउँदा चरित्र हत्या गरिन्छ तर म डराउँदिन । किनभने साहित्यको काम नै सत्य बोल्नु हो– चाहे त्यो कसैको समाज वा मालिकलाई मन परोस् या नपरोस् ।
३. तपाईंको जीवनमा गजलको महत्त्व केवल साहित्यिक विधाका रूपमा छ वा यो जीवन जिउने कला हो ?
गजल मेरा लागि सजावट होइन । साहित्यको केवल एक विधा मात्रै पनि होइन । यो त एउटा अस्त्र हो । यो मेरो स्वर हो, जसले भुईँको आवाजलाई माथि ल्याउँछ । गजल मेरो जीवनको भाषा हो, जसमा म माघको जाडो पनि लेख्छु र असारको झरी पनि । र, त गजल मेरो शरणस्थल हो । धर्म हो । प्रेम हो ।
गजलले मलाई सजिलो बनाएको छैन, बरु कठोर र बलियो बनाएको छ । यो म आफैँ बाँच्ने कला पनि हो । किनकि हरेक अक्षरमा म सास फेर्छु र प्रतिरोध गर्छु । म गजललाई प्रेम गर्छु, तर मेरो यो प्रेम पनि लडाइँ जस्तो छ । यो समाज, व्यवस्था, कुसंस्कार, कानुन, नीति–नियम आदिसँग ।
४. गजल लेख्न कुनै विशेष मनोविज्ञान, समय वा परिवेश चाहिन्छ कि चाहिँदैन ?
मलाई लेख्नका लागि आवेग चाहिन्छ, समय होइन । कहिले भिडमा पनि अक्षर जन्मिदिन्छ । कहिले रातको मौनतामा पनि शब्द भेटिँदैन । तर जब कहीँ अन्याय देख्छु, तत्क्षण मेरा मस्तिष्कका तन्तुहरूले काम गर्न थाल्छन् । शब्दहरू आफै उनिएर गजल बन्न थाल्छन् । म त्यसलाई टिपोट मात्र गर्छु । त्यसैले मेरा लागि परिवेश भन्दा पीडा पर्याप्त हुन्छ । गजल क्यालेन्डर हेरेर जन्मिँदैन– समाजको असमानता विरुद्ध उभिएपछि जन्मिन्छ । मलाई लेख्न घाम वा शान्ति चाहिँदैन, म आँधीमै पनि लेख्न सक्छु ।
५. आफ्नै वरपर जब फर्किएर हेर्नु हुन्छ, गजल साहित्यको अवस्था कस्तो पाउनु हुन्छ त ?
नेपालमा गजलको अवस्था मिश्रित छ । एकातिर नयाँ स्वर, अनुहारहरू आइरहेका छन्, त्यो पनि साहस र सच्चाइका साथ । र, अर्काेतर्फ, केहीले गजललाई केवल शब्दको खेल बनाइदिएका छन् । मलाई के लाग्छ भने गजल अब सुन्दर वाक्यहरूको खेल मात्रै होइन, चेतनाको आन्दोलन बन्नुपर्छ । जब गजलले सत्ता, जात, धर्म र लिङ्गका वास्तविक प्रश्नहरू ओकल्न थाल्छ– अनि गजलले आम मानिसका ओठमा बाँच्न थाल्छ ।
६. यस्तो विद्रोही आवाज ओकल्ने गजलकारले पछिल्लो समय कुन पुस्तक पढ्नु भयो ?
पछिल्लो पटक मैले कमला भसिनको ‘विकज आई एम अ गर्ल’ पढेकी हुँ । त्यो किताब पढ्दा लाग्छ, हाम्रो समाज अझै लाजले होइन, डरले ढाकिएको छ । नारीको आवाज कुनै भावुक कथा होइन, क्रान्ति हो भनेर मलाई त्यो कृतिले थप बुझाई दियो ।
७. आफूलाई झकझकाएको कुनै एउटा साहित्यिक कृति सम्झिनुपर्याे भने... ?
मलाई सधैँ झकझकाउने एउटै कृति छ– भीमदत्त पन्तको जीवन कथा । किनभने यो केवल इतिहास होइन, हाम्रो वर्तमान पनि हो । अहिले पनि आवाज उठाउनेहरूलाई धोका दिइन्छ, झुटो आरोप लगाइन्छ र देशले आफ्ना सन्तानहरू गुमाइरहेको छ । भीमदत्त जस्ता पात्रहरूले मलाई लेखन भनेको तान्त्रिक ध्यान होइन, प्रतिरोधको अभ्यास हो भनेर झकझक्याइ रहन्छन् ।
८. मैले तपाईंलाई अहिलेसम्म लेखेर के पाउनु भयो र के गुमाउनु भयो भनेर सोधे भने के भन्नु हुन्छ ?
लेखेर मैले स्वत्व पाएँ । के गुमाएँ भनेर भन्नु त्यति उपयुक्त ठान्दिन । तथापि मैले लेखेरै आफ्नाहरू गुमाएँ । परिवार गुमाएँ । केही साथीहरू हराएँ, केही अवसरका ढोकाहरू बन्द भएको पाएँ । तर सबै भन्दा ठुलो मैले आफैलाई पाएँ । त्यसैले अब म शब्द होइन आगो लेख्न चाहन्छु । त्यो आगोले कसैको घर जलाओस् वा कसैलाई बाटो देखाओस्, तर कम्तीमा केही त गरोस् ।
९. भर्खरै प्रकाशित तपाईंको गजलसंग्रह ‘साहेब’बारे हाम्रा पाठकहरूलाई केही बताइदिनुस् न ।
‘साहेब’ मेरो घाउको डायरी हो । यसमा प्रेम छ, तर त्यो नुनिलो प्रेम हो– किनभने त्यसमा मेरो रगत मिसिएको । त्यसमा सत्ता, पितृसत्ता र वर्गीय घमन्ड विरुद्धको ठाडो प्रतिवाद छ । मेरो गजलसंग्रह कसैको मन भिजाउन होइन, व्यवस्था हल्लाउने चेष्टासाथ लेखिएको हो । ‘साहेब’ पढ्नेले सजिलो उत्तर पाउँदैन, बरु यसमा उनीहरूले आफ्ना पनि प्रश्न देख्छन् । किनकि मैले यहाँ समेटिएका गजलमा फूल मात्र होइन, बारुद पनि राखेकी छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण