बब मार्ली बाँचिरहेका भए गाजा युद्धबारे के सोच्थे होला ?
सारांश
- बब मार्लीको जीवनमा आधारित चलचित्र 'बब मार्ली: वन लभ' प्रदर्शनमा आएको छ, जसमा उनको जीवनका विभिन्न पक्ष समेटिएका छन्।
- चलचित्रले मार्लीको स्वास्थ्य, क्यान्सर र उनको संगीतको महत्वलाई उजागर गरेको छ, र उनको जीवनका विभिन्न घटनाहरूलाई प्रस्तुत गरेको छ।
- मार्लीका गीतहरू र राष्टाफरियाली विचारबारे चर्चा गरिएको छ, र उनको संगीतले शान्ति र मुक्तिका लागि पुर्याएको योगदानको विश्लेषण गरिएको छ।
सन २०२४मा बब मार्लीको जीवनकथामा आधारित चलचित्र 'बब मार्लीः वन लभ' प्रदर्शनमा आयो । सन १९४५ मा जन्मिएर ३६ वर्षको अल्पायुमै १९८१ मा निधन भएका मार्ली आजपर्यन्त एउटा गीतकारको रूपमा मात्रै नभएर रेग्गी गायनका पर्यायवाची जस्तै मानिन्छन् । चलचित्रमा मार्लीको भूमिकामा बेलायती अभिनेता किङ्स्ले बेन-अडिर छन् । उनले आफ्नो भूमिका असाध्यै राम्रोसँग निभाएका छन् ।
चलचित्रले मलाई मार्लीको निधन असामयिक मात्रै नभएर कति दर्दनाक थियो भन्ने सम्झायो । बाँचिरहेका भए उनी यही फेब्रुअरीमा बल्ल ८० वर्ष पुगेका हुन्थे ।
उनी आजीवन फुटबलका प्रेमी रहे । सन १९७७ मा फुटबल खेल्ने क्रममै उनको दाहिने खुट्टाको बुढी औँलामा चोट लाग्यो । अन्ततः त्यही घाउ लागेको नङभित्र छालाको दुर्लभ क्यान्सर देखा पर्यो । मैले यो सन्दर्भ यस अघि नसुनेको रहेछु । थाहा हुनासाथ त्यसबारे खोज्न थालेँ ।
खोज्दै जाँदा म 'द गार्जियन'मा छापिएको निल सिंहको लेखमा पुगेँ। बेलायतको ब्रेटोन तथा ससेक्स मेडिकल स्कुलमा प्राथमिक स्वास्थ्य हेरचाह तथा जनस्वास्थ्यका अध्यापक समेत रहेका उनले 'डिकोलोनाइजिङ डर्माटोलोजीः व्ह्याई ब्ल्याक एन्ड ब्राउन स्कीन निड बेटर ट्रिटमेन्ट' शीर्षकमा लेख लेखेका रहेछन् ।
लेखमा सिंहले मार्लीको कथा उल्लेख गरेका छन् । मार्लीको जीवनको सन्दर्भमार्फत उनले काला जातिका बिरामीहरूले स्वास्थ्य सेवा पाउन कसरी अतिरिक्त सङ्घर्ष गर्नुपर्ने अवस्था छ भन्ने बताउँदै विद्यमान स्वास्थ्य सेवा प्रणाली नै अन्य रङ्गिन समुदायका मानिसहरूलाई छोडेर गोराहरूलाई प्राथमिकता दिने प्रणालीको रूपमा रहेको बारे उल्लेख गरेका छन् ।
उनी लेख्छन्-"मार्लीले सबैभन्दा पहिले आफ्ना साथीहरूलाई सन १९७७को बर्खामा आफूलाई अलि असहज भएको सुनाएका थिए । पेरिसमा फुटबल खेल्ने क्रममा उनको बुढी औँलामा चोट लागेको थियो । चोट लागेको औलाको नङमा उनले असाध्यै पीडा अनुभव गर्न थाले । उनले त्यस अघि पनि बेला बेला त्यसैगरी दुख्ने गरेको स्विकारे । पहिले पनि यदाकदा नङभित्र केही बिझेको जस्तो अनुभव उनलाई भइनैरहेको थियो । 'बायोप्सी' गर्नु अघि उनले दुई जना डाक्टरलाई देखाइसकेका थिए । बायोप्सीबाट उनलाई 'एक्रल लेन्टिजिनस मेलानोमा' भनिने डरलाग्दो छालाको क्यान्सर भएको पक्का भयो "
मार्लीमा देखिएको मेलानोमा कालो छाला भएका मानिसमा सामान्य जस्तै हो । तर धेरै डाक्टरले त्यसलाई थाहा पाएका थिएनन् । सन १९७७मा पहिलो पटक मार्लीमा त्यसको लक्षण देखिँदा सर्वाधिक चर्चित मेडिकल पुस्तक 'द मर्क म्यानुअल अफ डायग्नोसिस एन्ड थेरापी' १३औं संस्करण प्रकाशित भइसकेको थियो । यसमा गोरो छालामा सामान्य मानिने मेलानोमाका तीन प्रकारहरू उल्लेख भएका छन् तर 'एक्रल लेन्टिजिनस मेलानोमा'को भने उल्लेखै गरिएको छैन।
जहाँसम्म मेरो सम्झनामा भए अनुसार सन १९८०को दशकसम्म स्नातक तह पूर्वका पाठ्यक्रममा छाला जन्य रोगबारेका पुस्तकमा यसको उल्लेख भएकै थिएन । सिंहको लेख अनुसार त सन २०२० सम्म पनि यसको उल्लेख नभएको पाइयो ।
मार्लीको जीवनबारे बनेको यो चलचित्रमाथि समालोचकहरूको त्यति राम्रो धारणा देखिएको छैन । धेरैले यस्तो भव्य विषयलाई चलचित्रले न्याय गर्न नसकेको भनेका छन् । मेरा लागी भने यो चलचित्रले मार्लीको जीवनमा पुनः नवीन दृष्टिमार्फत नियाल्ने तथा विभिन्न कार्यक्रममा बज्ने उनका गीतहरूको सन्दर्भ पर्गेल्ने राम्रो अवसर दियो ।
उदाहरणका लागी सन १९७४ मा निकालिएको एल्बम नाट्टी ड्रेड्मा रहेको गीत 'नो वुमन, नो क्राई' लाई लिन सकिन्छ । यसको गीतले विराम चिन्हको प्रयोगले अर्थमा कति असर पार्छ भन्ने देखाउँछ । यो गीतले महिलाका कारण पुरुषले झेल्नुपर्ने दुःखको कुरा गरेको होइन भन्ने मलाई भर्खर थाहा भयो । यसले नितान्त फरक विषय उठाएको रहेछ । पहिला दुई वटा शब्दमा अल्पविराम राख्ने हो भने त्यसमा महिलाहरूलाई सान्त्वना दिने सन्देश बन्छ । 'नो, वुमन, नो क्राई' अर्थात 'हुन्न, महिलाहरू, तिमिहरू रुनुहुन्न', 'सानी मायालु, कृपया आफ्ना आशु नबगाऊ', 'सबैकुरा ठिक हुनेछ' इत्यादि ।
यो गीत उनकी श्रीमती रिताको नाममा लेखिएको जस्तो देखिन्छ । रिताले आफ्नो आत्मकथाको शीर्षक नै यही राखेकी छन् । गीतमा उनीहरूले सँगै जमैकामा बिताएका युवावयका पलहरूको प्रस्ट सन्दर्भ पनि पाउन सकिन्छ ।
बब मार्लीका धेरैजसो गीतले व्यापक अर्थमा प्रेम र शान्तिको कुरा गर्छन् । राष्टाफारियाली विचारवारे उनको अगाध आस्थाबाट गीतहरू गहिरो रूपमा प्रभावित देखिन्छन् । उनीबारे माथि उल्लेख भएको चलचित्रको अन्त्यमा अप्रिल २२ सन १९७८ मा 'वन लभ पिस' नाममा भएको साङ्गीतिक कार्यक्रमको दृश्य छ । त्यसबखत जमैकामा गृहयुद्ध चलिरहेको थियो । उक्त 'कन्सर्ट'मा मार्लीका साथै 'द वेलर्स' पनि सहभागी थिए । कार्यक्रमको बिचमा मार्लीले जमैकाको राजनीतिमा आपसमा मारामार गरिरहेका प्रमुख प्रतिद्वन्द्वी माइकल मान्ले र एड्वार्ड सीएगालाई हात मिलाउन लगाए । त्यो क्षण अविस्मरणीय बन्न पुग्यो ।
शान्ति पाउन त्यति सजिलो त पक्कै थिएन । तथापि शान्तिका लागी मार्लेको संगीतले कति सम्म सहयोग गर्न सक्छ भन्ने चाहिँ पक्कै देखाएको थियो ।
मार्लीका धेरै गीतहरू वास्तवमै केही गर्नका लागी आह्वानले भरिएका छन् । सन १९७३ मा आएको 'गेट अप स्ट्यान्ड अप' उनले हाइटीको भ्रमण गर्दा गरिबी र अन्याय आफ्नै आँखाले देखेपछि लेखिएको थियो। यो गीत उनले जीवनकालमा गरेका कार्यक्रममा प्रस्तुत गरेको अन्तिम गीत पनि बन्न पुग्यो । उनले अन्तिम पटक सेप्टेम्बर २३, सन १९८० मा पेन्सिल्भानियामा भएको कार्यक्रममा गाएका थिए ।
मार्लीले सन १९७६ मा निकालेको गीत 'वार' भने उनको शान्ति अभियन्ताको रूपमा रहेको छविको विपरीत देखिन्छ । खासमा यसका धेरै जसो शब्दहरू सन १९६३ मा संयुक्त राष्ट्र संघको महासभामा इथियोपियाली सम्राट हेले सेलासी प्रथमले दिएको भाषणबाट जस्ताको तस्तै लिईएका हुन । मार्लीले ती सम्राटलाई ईश्वरको अवतारको रूपमा सम्मान गरे । उनलाई मार्लीका धेरै गीतहरूमा 'रष्टाफारी', 'जाह' तथा 'यहूदाको शेर' आदि भनेर उल्लेख गरिएको छ ।
ती गीतहरु आज पनि त्यतिबेला जत्तिकै सान्दर्भिक छन्। मार्लीको गीतमा पुरै प्रयोग नगरिएका भएता पनि सेलासीको भाषणको बाँकी भागका शब्दहरू आज पनि हामीलाई उसैगरी प्रेरित गरिरहेका छन् । मान्छेको नयाँ जातिको सदस्य बन्नका लागी,पूर्वाग्रहको साँघुरो घेरा पार गर्नका लागी, राष्ट्रहरूप्रति नभएर समस्त मानव समुदाय भित्रका हाम्रा वैश्विक मित्रहरू प्रतिको आस्थालाई आभार प्रकट गर्न आग्रह गरिरहेका छन् ।
मार्लीले मान्ने गरेको 'राष्टाफारीयावाद' वा 'राष्टाफारी'मा बाइबलका शब्दहरू प्रचलित मान्यता भन्दा फरक अर्थ दिन्छन् । त्यहाँ अफ्रिका केन्द्रित वा अफ्रिकाली डायस्पोरामा जोड दिइएको छ। मार्लीको राष्टाफारी र अफ्रिकावाद आपसमा अभिन्न रूपमा मिसिएका छन् ।
त्यसकारण उनले बेबिलोन उल्लेख गर्दा त्यसले गोरा उपनिवेशवादले अफ्रिकी डायस्पोरा माथि पुँजीवाद र भौतिकवादको सहायतामा गरेको व्यवस्थित दुर्व्यवहार बुझाउँछ । 'जायन' शब्दले बिम्बात्मक रूपमा एकता, शान्ति र स्वतन्त्रताको प्रतिज्ञा गरिएको भूमि जनाउँछ । कहिलेकाहीँ यसले 'पवित्र भूमि' भन्ने पनि बुझाउँछ । तर त्यस्तो 'पवित्र भूमि'को अर्थ इजरायल भने होइन । बरु सेलासेको इथियोपिया चाहिँ हो । साथै 'एक्जोडस'ले पनि त्यही 'जायन'मा फर्किएको लावालस्करको अर्थ दिन्छ । यी सबैको सार स्वतन्त्रता तथा दमनबाट मुक्ति हो ।
त्यसैले उनले सन १९७२ मा निकालेको गीत 'आइरन लायन जायन' एक प्रकारले भन्नुपर्दा मार्लीले विश्वास गर्ने राष्टाफारीयाली भगवान तथा स्वतन्त्रताको प्रार्थना मन्त्र हो ।
अहिले इन्टरनेट जगतमा एउटा चर्चा छ ।चर्चा अनुमानमा आधारित छ । बेलैमा राम्रो उपचार पाएका भए निको हुन सक्ने खालको क्यान्सरका कारण बब मार्ली बितेका थिए । तर यदि उनी जीवितै हुन्थे भने, उनी इजरायल र प्यालेष्टाइन मध्ये कसको पक्षमा उभिन्थे होला ?
बब मार्लीको छोरा जिग्गी मार्लीले इजरायली-यहुदी मुलकी महिलासँग बिहे गरेका छन् । जिग्गीले आफ्ना बाबुका गीतहरूमा उल्लेख भएका 'बाइबल पुरानो करार'का सन्दर्भहरूको अपव्याख्या गरेको जस्तो देखिएको छ । उनले त्यस्तो व्याख्यालाई इजरायलको नश्लीय राज्यको समर्थनमा बब मार्ली रहेको हुनसक्ने देखाउन खोज्दैछन् । यसरी समग्रमा मार्लीको विरासत नै कब्जा गर्न मिल्छ त भन्ने प्रश्न खडा भएको छ ।
बब मार्लीका गीत तथा तिनीहरूको तत्कालीन परिप्रेक्ष्यबारे अध्ययन गर्ने जोसुकैले पनि उनी संसारभरका उत्पीडितहरूको पक्षमा उभिएको सजिलै बुझ्न सक्छ । उदाहरणका लागी हामी 'वार' शीर्षकको गीतका शब्दहरू हेर्न सक्छौँ । गीतमा यस्तो संसारको चर्चा छ जहाँ 'कुनै एक जातिलाई ठुलो र अर्को जातिलाई सानो ठान्ने दर्शनलाई खारेज तथा परित्याग गरिएको छ' । 'त्यहाँ कोही पनि पहिलो दर्जा र दोस्रो दर्जाको नागरिक भन्ने हुँदैन', 'सबैको आधारभूत मानव अधिकारको प्रत्याभूति हुन्छ', 'अन्तर्राष्ट्रिय नैतिकताको नियम हुन्छ' तथा 'सत्य र झुटलाई जितेरै छोड्ने आत्मविश्वासका साथ हामी हाम्रो जित हुन्छ भन्ने हामीलाई थाहा छ' भनिएको छ ।
हतारमा मार्लीलाई इजरायलको पक्षमा उभ्याउने गल्ती गर्नु हुँदैन । उनी त शान्ति, मुक्ति र स्वतन्त्रताको पक्षका मान्छे थिए । उनका गीतहरुनै हाम्रा अगाडि प्रमाणको रूपमा छन् ।
त्यसैले म दृढ र विश्वस्त छु बब मार्लीले भने जस्तै 'हरेक कुराहरू ठिक हुँदै जानेछन्' । त्यसका लागी हामीलाई बब मार्लीको 'सकरात्मक तरङ्ग'लेनै सघाउन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण