बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
एमालेको ११ औँ महाधिवेशन

प्रतिनिधि छनोटमै देखियो ओली–पोखरेलबिच द्वन्द्वको गन्ध !

शनिबार, १३ मङ्सिर २०८२, २० : ०९
शनिबार, १३ मङ्सिर २०८२

सारांश

  • एमालेको ११औं महाधिवेशनका लागि देशभर प्रतिनिधि छनोट सम्पन्न भएको छ, जसमा कतिपय स्थानमा विवाद भएको छ।
  • प्रतिनिधि छनोटका क्रममा केही स्थानमा झडप, तोडफोड र बहिस्कारका घटना समेत भएका छन्।
  • महाधिवेशन मंसिर २७-२९ गते भक्तपुरमा हुनेछ, जसमा नयाँ नेतृत्व चयन हुनेछ, केपी ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने सम्भावना छ।

काठमाडौँ । मंसिर अन्तिम साता हुने एमालेको ११ औँ महाधिवेशनका लागि शनिबार देशैभर प्रतिनिधि छनोट भएका छन् । प्रतिनिधि छनोट गरेसँगै एमालेका साढे ६ लाख बढी नेता कार्यकर्तालाई औपचारिक रूपमा महाधिवेशन लागेको छ ।

कतिपय जिल्ला तथा क्षेत्रमा प्रतिनिधि छनोट सर्वसम्मत भएपनि भएपनि कतिपयमा निर्वाचन भएको छ । निर्वाचनका क्रममा केही स्थानमा हात हालाहाल, केहीमा तोडफोड र कतै बहिस्कार समेत भएका समाचार प्राप्त भएका छन् ।

तर, अपवादबाहेक सबै क्षेत्रमा शान्तिपूर्ण रूपमा प्रतिनिधि छनोटको प्रक्रिया सम्पन्न भएको एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । गौतमका अनुसार सहमति र प्रतिस्पर्धा दुवै विधिबाट प्रतिनिधिहरू चयन भएका छन् ।

‘अत्यन्तै उत्साहका साथ देशभर प्रतिनिधि छनोटको काम भएको छ । त्यस क्रममा सहमति र प्रतिस्पर्धा दुवै विधिको प्रयोग भएको छ’, गौतमले रातोपाटीसँग भने, ‘कहाँकहाँ  निर्वाचन र कहाँ सहमतिको माध्यमबाट प्रतिनिधि छानिए भन्नेबारे सूचना आउने क्रम जारी नै छ ।’

एमालेको ११ औँ महाधिवेशन मंसिर २७,२८ र २९ गते सम्पन्न हुँदैछ । भक्तपुरको सल्लाघारीमा उद्घाटन सत्र र भृकुटीमण्डमा बन्द सत्रको कार्यक्रम राखेको एमालेले महाधिवेशनमार्फत आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा हालका अध्यक्ष केपी शर्मा ओली तेस्रो कार्यकाल र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पहिलो कार्यकालका लागि प्रतिस्पर्धा गर्दै छन् । अध्यक्षमा दुई नेताको प्रतिस्पर्धा हुने निश्चित भएसँगै प्रतिनिधि छनोटमा समेत ओली–पोखरेल द्वन्द्वको गन्ध देखिएको छ ।

मोरङ, धनकुटा, ओखलढुङ्गा लगायतका जिल्लामा प्रतिनिधि छनोटका क्रममा ओली पक्ष र पोखरेलपक्षबिच विवाद भएको पाइएको छ । ११ औँ महाधिवेशनमा पोखरेललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समूहको साथ रहने छ ।

विराटनगरमा हात हालाहाल 

मोरङ क्षेत्र नम्बर ६ को प्रतिनिधि चयनमा विवाद हुँदा एमाले कार्यकर्ताबिच हात हालाहालकै अवस्था आएको छ । मोरङमा संस्थापन पक्ष र इतर समूहको बीचमा समूहगत प्रतिस्पर्धाका क्रममा विवाद हुँदै हात हालाहालको स्थिति आएको हो । 

सर्वसम्मत प्रतिनिधि छनोट हुन नसकेपछि निर्वाचनमा डबल मत हालेको भन्दै विवाद सुरु भएको थियो । विवादपछि केहिबेर मतदान स्थगित नै गर्नुपरेको थियो । पाञ्चालीस्थित पार्टी कार्यालयमा निर्वाचनका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता ईश्वर पोखरेल पक्षबिच झडप र हात हालाहालको स्थिति आएको एमाले कार्यकर्ताले बताएका छन् ।

उक्त मतदान केन्द्र एमाले नेता परशुराम बस्नेतले मतदान स्थलमा एकै व्यक्तिले पटक–पटक अशक्त र अपाङ्गता भएका व्यक्तिहरूको नाममा वारिस बनेर भोट हाल्न खोजेको भन्दै इतर पक्षले प्रतिवाद गरेका थिए । त्यसपछि हात हालाहालको स्थिति आएको भिडियो नै सार्वजनिक भएको छ । बस्नेत अध्यक्ष केपी ओली निकट मानिन्छन् । तर मोरङमा पूर्व राष्ट्रपति विद्या भण्डारीको वर्चस्व रहेको छ ।

धनकुटामा तोडफोड र बहिस्कार

कोशी प्रदेशको धनकुटामा पनि एमालेका प्रतिनिधि छनोट शान्तिपूर्ण हुन सकेन । प्रतिनिधि चयनमा एकलौटी गरिएको भन्दै धनकुटामा असन्तुष्ट समूहले निर्वाचन बहिस्कार गरेको छ ।बहिस्कार गर्नु अघि निर्वाचन बुथमा असन्तुष्ट समूहले तोडफोड समेत गरेका थिए । धनकुटामा राजेन्द्र राई र इन्द्रमणी पराजुली गरी एमालेमा २ समूह रहेको छ । राई ओली र पराजुली विद्या पक्षधर मानिन्छन् । पराजुली समूहले मतदातालाई थाहा नै नदिई एकलौटी हिसाबले निर्वाचन गराएको आरोप आरोप लगाएको छ ।

१५ गतेभित्र प्रतिनिधि केन्द्रमा पठाइसक्नुपर्ने

एमाले केन्द्रीय कार्यालयका अनुसार मंसिर ११ गते सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि निर्वाचनका लागि उम्मेदवारी मनोनयन भएको थियो । 

पार्टी केन्द्रले प्रतिनिधि छनोट गर्दा पहिलो प्राथमिकतामा सर्वसम्मतिको विधि अपनाउन भनेको थियो । सहमति नजुटे लोकतान्त्रिक प्रक्रियाअनुसार मतदान गरेर प्रतिनिधि छनोट गर्न भनेको थियो । सोही अनुसार सहमति नभएका क्षेत्रहरूमा शनिबार निर्वाचन भएको हो ।

एमालेले प्रतिनिधि छनोटका लागि मतदानको समय अधिकांश क्षेत्रमा दिउँसो २ बजेसम्म समय तोकेको थियो । विभिन्न जिल्लाहरूले आफ्नो अनुकूलता अनुसार मतदानको समय तय गरेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमको भनाइ छ ।

गौतमका अनुसार सङ्घीय निर्वाचन क्षेत्रबाट खुला,महिला,दलित तथा युवाहरू सहित करिब २ हजार प्रतिनिधि छनोट भएका छन् । यस्तै प्रवास,जनसङ्गठन र विभागहरूबाट करिब १ सय प्रतिनिधि छनौट भएका छन् ।

मनोनीतसहित एमालेको ११ औँ महाधिवेशनमा करिब २२ सय प्रतिनिधि सहभागी हुनेछन् ।

एमालेको कात्तिक १५ गते बसेको केन्द्रीय सचिवालय बैठकले गरेको निर्णय अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई आधार मानी प्रति १२०० सदस्य खुला दुई र महिला एक निर्वाचित गर्न निर्देशन दिएको थियो । यसरी प्रतिनिधि छान्दा एक जना ४० वर्ष भन्दा कम उमेरका युवा  अनिवार्य हुनुपर्ने एमालेको निर्देशन दिएको थियो ।

केन्द्रीय कमिटीबाट ३५४ जना स्वतः प्रतिनिधि हुने व्यवस्था गरेको एमालेले अनुशासन आयोगबाट २९, लेखा आयोगबाट ३०, निर्वाचन आयोगबाट २५, सल्लाहकार परिषद् बाट २५ जना प्रतिनिधि रहने व्यवस्था गरेको छ ।

एमालेको कुल सङ्गठित सदस्य सङ्ख्या ६ लाख ६७ हजार ६३० सदस्य मध्ये प्रदेशबाट ४५, प्रतिनिधि सभाको निर्वाचन क्षेत्रबाट करिब ९७०, विशेष जिल्लाबाट ४७, दलितबाट ८१, ट्रेड युनियनबाट ४९, यस्तै  प्रवास, केन्द्रीय विभाग,कार्यालय, र जनसङ्गठनसहित गरी अनुमानित १९ सय भन्दा बढी प्रतिनिधि छानिएका छन् ।

जिल्ला तथा क्षेत्रमा छनोट भएका प्रतिनिधिको नाम मंसिर १५ गते भित्र केन्द्रमा पठाउन निर्देशन दिएको एमाले सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप