बीएनआई पावर समिट : ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेपमा जोड
सारांश
- भारतमा सम्पन्न साउथ एसिया (बीआईएन) पावर समिटमा ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक रहेको विज्ञहरूको भनाइ थियो।
- नेपालले सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ, जसका लागि ४६.५ अर्ब डलर लगानी आवश्यक छ।
- नेपालबाट भारतमा १ हजार मेगावाटभन्दा बढी र बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात भइरहेको छ, तर निजी क्षेत्रले पनि व्यापारको अनुमति पर्खिरहेको छ।
काठमाडौँ । भारतमा सम्पन्न साउथ एसिया (बीआईएन) पावर समिट, २०२५ मा ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक रहेको विज्ञहरूले बताएका छन् ।
भारतीय उद्योग परिसंघ (सीआईआई) ले नयाँ दिल्लीमा आयोजना गरेको समिटमा भुटान, भारत र नेपाल (बीआईएन) को ऊर्जा क्षेत्रमा लामो समयदेखि सक्रिय ऊर्जा उद्यमीहरू र सरकारी अधिकारीहरूको सहभागिता रहेको थियो ।
नेपालको निजी क्षेत्रको प्रतिनिधित्व गर्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीको नेतृत्वमा ५ सदस्यीय टोलीले सम्मेलनमा भाग लिएको थियो । सरकारी अधिकारीहरूका तर्फबाट भने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवं विद्युत् विकास विभागका उपमहानिर्देशक नुतन कुमार शर्मा नेतृत्वको टोली सहभागी भएको थियो ।
सहसचिव शर्माले भारतीय उद्योग परिसंघ र परराष्ट्र मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको सम्मेलनको उद्घाटन सत्रमा आफ्नो धारणा राख्दै दक्षिण एसियाको विद्युत् माग धान्न आवश्यक स्वच्छ ऊर्जा उत्पादनका लागि नेपाल सक्षम रहने बताएका थिए ।
‘ऊर्जा क्षेत्रमा लगानी तीव्र पार्ने: हस्तक्षेप आवश्यक’ विषयक सत्रमा धारणा राख्दै इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले ऊर्जा क्षेत्रमा तीव्र लगानी बढाउन बिआईएन देशहरूमा नीतिगत हस्तक्षेप आवश्यक रहेको बताए ।
नेपाल सरकारले सन २०३५ भित्र २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन पुर्याउने लक्ष्य लिएर अघि बढेको स्मरण गराउँदै वरिष्ठ उपाध्यक्ष डाँगीले त्यसका लागि ४६.५ अर्ब डलर लगानी आवश्यक रहेकोले बिटुबी लगानी लिएर नेपाल आउनको लागि आग्रह गरेका थिए ।
उनले विद्युत् उत्पादन, वितरण, खुला पहुँच र पूर्वाधार निर्माणमा ठुलो लगानी आवश्यक रहेकोले बिआईएन राष्ट्रहरूले दीर्घकालीन र छोटो अवधिमा अन्तरदेशिय विद्युत् व्यापारलाई सहयोग पुर्याउने क्षेत्रहरूमा लगानी बढाउने सम्भावित रणनीतिहरूमा जोड दिनुपर्ने बताए ।
डाँगीले भारत र बङ्गलादेशमा स्वच्छ ऊर्जाको ठुलो माग रहेको र नेपालमा जल ऊर्जा उत्पादनको अपार सम्भावना रहेकोले बिआईएन देशहरूको आपसी सहकार्यबाट भारत र बङ्गलादेशको स्वच्छ ऊर्जाको माग पूरा गर्न नेपाली ऊर्जा उत्पादकहरू सक्षम रहेको बताए ।
उनले नेपालमा अहिले ४ हजार मेगावाट विद्युत् उत्पादन क्षमता पुगिसकेको, ५ हजार ५०० मेगावाट क्षमताका आयोजनाहरू निजी क्षेत्रको अगुवाइमा निर्माणाधीन रहेको र अर्को ३ हजार मेगावाट क्षमताका आयोजनाहरू वित्तीय व्यवस्थापन गरेर निर्माणमा जाने अन्तिम तयारीमा रहेको पनि बताए । त्यसबाहेक निजी क्षेत्रले अर्को २० हजार मेगावाट क्षमताका जलविद्युत आयोजनाकोहरुको अध्ययन गरिरहेको पनि डाँगीले बताए ।
छलफलमा सहभागी भएका नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक सुभाश कुमार मिश्रले बिआईएन विद्युत् व्यापारमा केही चुनौतीहरू भएपनि योजना र विशिष्ट रणनीति बनाएर अघि बढेमा विद्युत् व्यापारलाई तीव्रता दिन सकिने बताएका थिए ।
खुला पहुँच र विद्युत् व्यापारलाई प्रवर्द्धन गर्न उत्पादन, वितरण र प्रसारणमा उचित योजना हुनुपर्ने, यसको लागि संरचनात्मक, व्यावसायिक र नियामक पक्षहरूले नीतिगत हस्तक्षेपहरू गरेर वृहद विद्युत् व्यापार परिदृश्यको लागि तयार हुनुपर्ने गर्गको धारणा थियो ।
‘शक्ति आदानप्रदानलाई प्रवर्द्धन गर्न रूपरेखा सिर्जना गर्दै: चुनौती र अवसरहरू’ सत्रमा बोल्दै इप्पानका उपाध्यक्ष उत्तम भ्लोन लामाले पहिले विद्युत् व्यापार दीर्घकालीन आधारमा हुने गरेको भएपनि अहिले भारतले ल्याएको नयाँ क्रस बोर्डर विद्युत् व्यापार निर्देशिका अनुसार डे अहेड मार्केटमा दैनिक रुपमा पनि अन्तरदेशिय विद्युत् व्यापार सम्भव भएको बताए ।
नेपालबाट अहिले भारतमा १ हजार मेगावाटभन्दा बढी र बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात भइरहेको छ । बङ्गलादेशमा निर्यात भइरहेको विद्युतको महसुल स्थिर रहेको र भारतीय बजारमा स्थिर र डेअहेड दुवै तरिकाले विद्युत् आयात/निर्यात भइरहेको पनि लामाले बताए ।
उनले यस क्षेत्रमा अहिले नेपालको सरकारी तवरबाट मात्रै विद्युत् व्यापार भइरहेको र निजी क्षेत्रले विद्युत् व्यापारका लागि सम्पूर्ण तयारी पुरा गरेर अनुमति पर्खिरहेको धारणा राखेका थिए ।
अझै पनि, क्रस बोर्डर विद्युत् एक्सचेन्जमा व्यापार प्रारम्भिक चरणमा रहेकोले यस क्षेत्रमा विद्युत् एक्सचेन्जहरूको प्रवेश बढाउन उचित रणनीति बनाउनु आवश्यक रहेको लामाको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण