लुम्बिनीमा एमाले प्रतिनिधि छनौट : सर्वसम्मत भनिएका जिल्लामा फेरि विवाद
सारांश
- एमाले लुम्बिनी प्रदेशमा महाधिवेशन प्रतिनिधि छनौटका लागि ७ जिल्लामा निर्वाचन भयो।
- कतिपय जिल्लामा विधि विपरीत एकलौटी रूपमा प्रतिनिधि चयन गरिएको भन्दै उजुरी परेको छ।
- रोल्पामा युवा र दलित प्रतिनिधि सर्वसम्मत चयन भए पनि खुला र महिलामा निर्वाचन हुँदैछ।
बुटवल । महाधिवेशन प्रतिनिधि छनौटका लागि एमाले लुम्बिनी प्रदेशमा सर्वसम्मतिको प्रयास गरिए पनि ७ वटा जिल्लामा निर्वाचन भएको छ । त्यस्तै, सर्वसम्मत चुनाव सम्पन्न भएको भनिएका दुई जिल्लामा फेरि विवाद बाहिर आएको छ ।
विधि र प्रक्रिया विपरीत गएर एकलौटी ढङ्गले प्रतिनिधि चयन गरिएको भन्दै लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्णप्रसाद भुसालले पार्टीको केन्द्रीय संगठन विभागमा उजुरी दर्ता गराएका छन्।
उनले केन्द्रीय संगठन विभागको सर्कुलर विपरीत मतदाता नामावली तथा निर्वाचन कार्यतालिका नै प्रकाशित नगरी साढे १० हजार प्रतिनिधिको हक अधिकार कुण्ठित गरी मनोमानी ढङ्गले प्रतिनिधि छानिएको बताए । दाङ जिल्ला सचिव सूर्यबहादुर डाँगीले भने पहिले आकांक्षीहरूसँग छलफल र परामर्श गरी सूची टुङ्ग्याइएको दाबी गरे ।
यस्तै, बाँके क्षेत्र नम्बर २ र ३ मा पनि होटलको कोठामा बसेर निर्वाचन प्रक्रिया नै नगरी प्रतिनिधि चयन गरिएको भन्दै कार्यकर्ताहरूले विरोध गरेका छन्। सामाजिक सञ्जालमा आक्रोस पोख्नेदेखि उजुरी दर्तासम्मका क्रियाकलाप बाँकेमा देखिएका छन्।
प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले दुवै जिल्लाको विवाद उस्तै प्रकृतिको रहेको भन्दै केन्द्रीय संगठन विभागले छिट्टै उचित निकास निकाल्ने बताए।
अध्यक्ष कँडेलले पूर्वी रुकुम, प्युठान, बर्दिया, कपिलवस्तु र गुल्मीमा भने सर्वसम्मत रूपमा प्रतिनिधि चयन भएको रातोपाटीलाई जानकारी दिए । अन्य जिल्लाहरू रुपन्देही, पाल्पा, अर्घाखाँची र नवलपरासीमा निर्वाचन सम्पन्न भइसकेको अध्यक्ष कँडेलले बताए । आज रोल्पा जिल्लामा मतदान जारी रहेको पनि उनले जानकारी दिए।
एमालेको केन्द्रीय संगठन विभागले जारी गरेको सर्कुलर अनुसार लुम्बिनी प्रदेशका लागि खुलाबाट ८०, महिलाबाट ५३, युवाबाट २६, दलितबाट १९, मजदुरबाट ७ र प्रदेश कमिटीबाट ५ जना गरी कुल १९० प्रतिनिधि चयन गर्नुपर्नेछ। अहिले विभिन्न जिल्लाबाट प्रतिनिधि चयनको काम प्रदेशमा आइरहेको र त्यसलाई प्रदेश कमिटीले संकलन गरी संगठन विभागमा पठाइने कँडेलले बताए।
उनले भने, 'हामीले यहाँबाट नामावली सार्वजनिक गर्दैनौँ। संगठन विभागमा पठाएपछि विभागले नै सार्वजनिक गर्छ।'
रोल्पा जिल्लामा युवा र दलित प्रतिनिधि सर्वसम्मत चयन भए पनि खुला र महिला प्रतिनिधिमा सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रिया शुरु गरिएको हो । रोल्पाबाट खुला २, महिला २, युवा १ र दलित १ गरी ६ जना प्रतिनिधि चयन हुनेछन्।
दुई खुला प्रतिनिधिका लागि ३ जना र दुई महिला प्रतिनिधिका लागि ४ जनाको उम्मेदवारी परेपछि मतदानमा जाने निर्णय गरिएको हो।
यस्तै, रुपन्देहीबाट ३४, बर्दियाबाट १५, नवलपरासी पश्चिमबाट ११, पूर्वी रुकुमबाट ५, गुल्मीबाट २०, अर्घाखाँचीबाट १३, कपिलवस्तुबाट १५ र प्युठानबाट ८ जना राष्ट्रिय प्रतिनिधि चयन भएका छन्। लुम्बिनी प्रदेशमा मात्र एमालेका ८२ हजार १३५ संगठित सदस्य रहेका छन्।
एमालेको केन्द्रीय कमिटीमा लुम्बिनी प्रदेशबाट विष्णु पौडेल, शंकर पोखरेल, गोकर्ण विष्ट र प्रदीप ज्ञवालीजस्ता ठूला नेता रहेका छन्।
केन्द्रमा ओली र ईश्वर पोखरेलबीच अध्यक्षमा निर्वाचन हुने सम्भावना बढेपछि प्रदेशस्तरमा पनि प्रतिनिधि छनोट प्रक्रियामा कार्यकर्ताहरू विभाजित हुँदै आएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण